‘चाडपर्वपछि कोरोनाको दोस्रो लहर आई महामारीले ठूलो रुप लिनसक्छ’
होम आइसोलेसनमा बस्दा ध्यानदिनपर्ने कुराहरु
काठमाडौं । नेपालमा पुसदेखि देखिएको कोरोना भाइरस रोगको संक्रमण कार्तिक ३ गतेसम्म आइपुग्दा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेकोे छ । ९४ हजार ५०१ जना निको भएका छन् ।
श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी महसुस भएमा, ओठ तथा अनुहार नीलो देखिएमा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ ।
हाल ४० हजार ७७८ सक्रिय संक्रमित अर्थात् आइसोलेसनमा छन् । जसमध्ये संस्थागतभन्दा धेरै आफ्नै घरमा आइसोलेसनमा बस्ने संक्रमित धेरै छन् । सक्रिय संक्रमितमध्ये २३ हजार १०१ जना काठमाडौं उपत्यकामा नै छन् ।
कोरोनाको लक्षण रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, पखाला लाग्नु मुख्य हुन् । यी समस्याहरु चिसोको समयमा बढी देखिन्छन् । चिकित्सकहरुका अनुसार विगतका वर्षहरुमा यही समयमा अस्पतालहरुमा रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वासका बिरामीहरु धेरै आउने गर्थे ।
काठमाडौंमा चिसो सुरु भएकाले अब यी समस्याहरु झनै बढ्न सक्ने प्रक्षेपण चिकित्सकहरुको छ । वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बम चिसो समयमा दम, ब्रोन्कोलाइटिसका समस्याहरु धेरै देखिने र अहिले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने बताउनुहुन्छ ।
डा.बम भन्नुहुन्छ, “दशैं, तिहार, छठको समयमा मानिसहरुको आवतजावत तथा एक अर्कामा सम्पर्क धेरै हुने भएकाले चाडपर्वपछि कोरोनाको दोस्रो लहर आई महामारीले ठूलो रुप लिनसक्छ ।”
चिसो समयमा दम लगायत श्वाश्प्रश्वासका बिरामी यस्तो बेला घरबाट बाहिर निस्किए झनै चाप्छ । डा.बमले थप्नुभयाे, संक्रमितहरु घरबाट बाहिर निस्कनै नै होइन, नियमित सेवन गरिरहेकाे औषधि लिइराख्ने, धेरै गाह्रो नभएसम्म अस्पताल नआउने गर्नुपर्छ ।
कोरोनाबाट जोगिन अनिवार्य सही तरिकाले मास्क लगाउनु, कम्तिमा २ मिटरको भौतिक दूरी कायम राख्नु, बेला–बेला साबुन पानीले हात धुनु, सेनेटाइज गर्नु र भीडभाडमा ननिस्कनु नै कोरोनाबाट जोगिने एक विकल्प हो ।
होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु :
१) हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा हुनुपर्दछ ।
२) उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यहरू मार्फत मगाउने ।
३) खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ जस्तैः पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरू खाने ।
४) प्रयोग गरिएका भाँडाहरू सुरक्षितरूपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने,
५) स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिकरूपमा प्रयोग गर्नु पर्ने अवस्था भएमा प्रत्येक प्रयोगपछि सरसफाइमा प्रयोग हुने डिस्इन्फिक्टले राम्रोसँग सफा गरेपश्चात् मात्रै अन्य सदस्यले प्रयोग गर्ने,
६) हात धुने बेसिनहरु संक्रमणको श्रोत हुनसक्ने पर्याप्त जानकारी गराई दाँत माइने ब्रस लगायतका समानहरू राख्न छुट्टै बेसिनको प्रयोग गर्ने,
७) धेरै प्रयोग हुने चीजहरू जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूलाइ डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने,
८) हात धुने साबुन र पानीको पर्याप्त व्यवस्था गर्नु पर्ने र सबै सदस्यहरूले समय समयमा सफा गर्ने,
९) भाँडाकुँडा, कपडा धुनका लागि पञ्जा लगाएर धुने वा मेसिनमा छुट्टै धुने र राम्रोसँग घाममा सुकाउने,
१०) निजको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र निजले अनिवार्य रूपमा मेडिकल मास्क प्रयोग गर्ने,
११) बढी जोखिममा रहने समूहहरू जस्तैः दीर्घरोगीहरू, ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरूलाई निजको सम्पर्कबाट टाढा राख्नु पर्नेछ,
१२) दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने ।
१३) हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एस.एम.एस.बाट जानकारी गराउने,
१४) निम्न अवस्थाहरू देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछ ः
श्वासप्रश्वासमा कठिनाइ भएमा,
छाती दुखे वा भारी महसुस भएमा,
ओठ तथा अनुहार नीलो देखिएमा,
होस हराएमा वा अन्य कुनै जटिल अवस्था देखिएमा ।
सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन फोन वा एस.एम.एस.बाट बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक परामर्श दिइ अभिलेख व्यवस्थित गर्ने ।
हेल्थपाटी
तपाईँको अभिमत