'चिकित्सा शिक्षा भित्रका अस्वभाविक घटनाले दिल दुखेको छ'
अभिभावक ज्यू तथा विद्यार्थी भाइबहिनीहरूमा नमस्कार
यहाँहरू शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुहोला,
रहनुहोस् भन्ने कामना गर्दछु।
तपाईहरूसँग सम्बन्धित हालसालै सकिएको चिकित्सा शिक्षा स्नातक तहको परीक्षाका प्रमुख दुई घटनाले मेरो मन मष्तिस्कलाई असजिलो बनायो। मेरो मनका तरङ्गहरू छाल बनेर छचल्किरहेका छन् । मानवीय संवेदना हरेक मानिसमा स्वभाविक हुँदो रहेछ। मानवमा करुणा नचाहेर पनि उत्पन्न हुने रहेछ। तिनै दुई परिघटनाको बारेमा तपाईहरूलाई लेखेको छु।
पहिलो घटना, गतसाल चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाबाट उत्कृष्ट ठहरिएर छात्रावृत्ति प्राप्त गरी डाक्टर पढिरहेका विद्यार्थीले यो वर्षको परीक्षामा अर्को विद्यार्थीको नाममा परीक्षा दिन गएछन्। त्यस घटनाले उनीहरूले जिन्दगीमा कहिले पनि चिकित्सा शिक्षा पढ्न नपाउने गरी सजाय ब्यहोर्नु पर्नेभयो।
सायद उनीहरू कलेजबाट निकालिन्छन्। लाखौंको छात्रवृत्ति प्राप्त गरी सुनौलो भविष्यको सपना देखेर पढ्न लागेका विद्यार्थीको एकै गल्तीले जिन्दगी सकियो। अझ जेल जानुपर्ने लगायतका सजाय छँदैछन्। सिसाको घर झुरम्म फुटेझैं एकै झट्कामा जिन्दगी सखाप भयो।
समाजका खराब पात्रले लोभ देखाएर उनीहरूलाई उपयोग गरे। विधि, प्रक्रिया र कानुनले खराब काम लगाउने भन्दा ती विद्यार्थी झन खराब हुन् हुन् भन्ने पमाणित गर्छ।
दोस्रो घटना, उल्लेख्य संख्यामा विद्यार्थीले प्रवेश परीक्षा दिँदा आफ्नो रोल नम्बर नै लेखेनछन्। केहीले गलत लेखेछन्। उनीहरुले परीक्षाको नियमअनुसार प्राविधिक प्रक्रिया नै पुर्याएनछन्। उनीहरूको उत्तरपुस्तिका कम्प्युटरले पढेन अर्थात अस्वीकार गर्यो। विधि, प्रक्रिया र कानुनका आधारमा त्यो क्षम्य हुन सकेन्।
सामान्य त्रुटिका कारण उनीहरूले परीक्षामा के कस्तो गरेका थिए, आफूलाई परीक्षण गर्नै पाएनन्। चुरो कुरो के हो भने यस प्रकारका परीक्षाका सामान्य विधि र प्रक्रिया पनि परीक्षाका अभिन्न अंग हुन्।
त्यो पनि एउटा परीक्षा नै हो भन्ने कुरा विद्यार्थीले भुलेछन्। परीक्षा दिने मानिस पुस्तक रटान गरेर उत्तर लेख्न सक्ने मात्र भएर नहुने रहेछ। परीक्षा दिएर पास हुनका लागि निर्धारित विधि र प्रक्रियामा पनि कुरा हेक्का राख्नु पर्ने थियो। त्यो भएन।
प्रवेश परीक्षा सञ्चालन भएको साताभर सञ्चार माध्याममा नक्कली परीक्षार्थी पक्राउ परेको खराबले प्राथमिकता पाइरह्यो। एमबीबीएसमा नाम निकाल्न लाखौँ दिएर खेताला लगाएको कुराको भइरह्यो।प्रहरीले पक्राउ गरेका परीक्षा दिने र दिन लगाउने विद्यार्थीहरुको तस्बिर सार्वजनिक भयो।
यस्ता समाचार र सार्वजनिक भएका तस्बिरले ती विद्यार्थीका अभिभावकलाई कति पीडा दियो होला ? विद्यार्थी स्वयंले के सोचे होलान् ? जसबाट बर्बाद भएको करियर सुधार्न र सामाजिक प्रतिष्ठामा लागेको कालो धब्बा मेटाउन निकै मुस्किल छ।यसले पनि मेरो मन मस्तिष्कलाई बेचैन बनाएको छ।
चिकित्सा शिक्षा धेरै संवेदनशील विषय हो। व्यक्तिको जीवन-मरणसँग जोडिएको विषय हो। यो विश्वभर बिक्ने र सम्मानित पेशा पनि हो। त्यस्तो पेशामा लाग्ने व्यक्तिले पढ्न मात्र जानेर पुग्दैन। संवेदनशील र जिम्मेवार हुन पनि सिक्नुपर्छ। जान्नुपर्छ। चिकित्सा शिक्षा आयोगबाट जारी गरेको सूचना र जानकारीलाई समयमै ख्याल गरेको भए यस्तो नियती ब्यहोर्नु पर्ने थिएन।
यसो हुनुमा विद्यार्थी मात्र दोषी नहुन पनि सक्छ। केही अभिभावकले जवरजस्त छोरा-छोरीलाई डाक्टरी पढाउन खोजेका दृष्टान्त पनि धेरै पाइन्छ।
'मेरो त खासै इच्छा थिएन तर, ड्याडी, ममी जोडबलले पढन खोजेको।उहाँहरुको मन पनि राखिदिनु पर्यो नी' मेरो कार्यकक्षमा आएका केही विद्यार्थीले यस्तो सुनाएका थिए। यो कुरा पनि डाक्टरको पेशागत संवेदनशीलतासँग जोडिन पुग्छ।
केही विद्यार्थीहरूले भने जसरी डाक्टरी नै पढ्ने भनेर ढिपी गर्दै अभिभावकलाई दवाव दिने गरेको पनि पाइयो। बाबु आमाका लागि सबैभन्दा प्यारो व्यक्ति भनेको आफ्ना छोराछोरी हुन्। उनीहरूको खुसीका लागि जस्तोसुकै संघर्ष गर्न, त्याग गर्न उनीहरट्ठ तयार हुन्छन् नै। छोराछोरीको इच्छा र ढिपीले गर्दा उनीहरू हैसियत भन्दा बढी ऋण गरेर होस् वा जायजेथा बेचेर होस् छोराछोरीलाई डाक्टरी पढाउन कसिन्छन्।
यस्ता प्रवृत्तिले माथि उल्लेखित दुवै घटना घटाउन अप्रत्यक्षरुपमा प्रोत्साहित गरिरहेको छ।
जहाँसम्म नक्कली परीक्षार्थीको प्रश्न छ। अहलेको अवस्थामा नेपालको चिकित्सा शिक्षामा नक्कली भएर पूर्णरुपमा काम सम्पन्न गर्ने भन्ने विषय असम्भव नै हो।
यसलाई सरल रुपमा यसरी बुझौं चिकित्सा शिक्षा आयोगमा परीक्षार्थीको नागरिकता (ल्याप्चे सहितको) र हस्त दस्तखत (औंठा छाप)को हार्ड र सफ्ट कपी हुन्छ। जब विद्यार्थी प्रवेश परीक्षामा योग्य छनोट ठहर भए छनोट हुन्छ।त्यसपछि भर्नाको बेला त्यसको सत्यापन (Verification) गर्न सकिन्छ। त्यो काम उसले ५ वर्षसम्म पढ्दा जहिले सुकै पनि हुनसक्छ।
जब उसले सो तहको परीक्षा उतीर्ण गर्छ। अनि नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित काउन्सिलको परीक्षा दिन्छ। त्यसमा पनि तिनै प्रक्रिया अबलम्वन गरिन्छ।
एक छिनलाई मानौं ती सबै ठाउँमा झुक्याँउदै जागिरमा प्रवेश गर्न पुग्छ, त्यतिबेला आफ्नो प्रतिस्पर्धीले कतैबाट सुइँको पाएर उजुरी गरेमा सबै दस्तावेजहरूको परीक्षण गरी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। उसका सबै व्यक्तिगत विवरण राज्यसँग सुरक्षित हुन्छ। उसको सबै कर्मको सत्य खुलिहाल्छ।
कतिपय यस्ता दृष्टान्तहरू छन्- व्यक्तिले वर्षौँ जागिर खाइसकेको हुन्छ। त्यतिबेला नक्कली प्रमाण पत्रले जागिर खाएको भनी उजुरी पर्छ। अदालतले सबै कागजात झिकाएर प्रमाण हेर्छ। अदालतबाट दोषी ठहर भएर जागिर चट हुन्छ।
यस्ता दृष्टान्त हाम्रासामु हुँदाहुँदै जीवनको जुनसुकै क्षणमा जोखिम आइलाग्न सक्ने बाटो किन रोजिरहेका छन् विद्यार्थीहरू ? मेरो अन्तर मनमा यो प्रश्न उठिरहेको छ।
जीवनको जुनसुकै बेला पनि संकट आइलाग्छ, भन्ने कुरा मनन गर्नुपर्यो। आफ्नो भविष्य प्रतिष्ठा त माटोमै मिलिहाल्छ। साथै परिवार, आफन्त, शुभ-चिन्तक मात्र नभएर म जस्तो कुनै साइनो नजोडिएको मान्छेलाई समेत तनाब दिन हर्कत विद्यार्थीले किन गरिरहेका छन् ? यो प्रश्नले मलाई निकै पिरोलिरहेको छ।
केही चिकित्सकहरू सन्तानलाई चिकित्सक नै बनाउन अश्वभाविक रुपमा लागि परेका देख्दा उदेक लाग्छ। केही उच्च तहका जिम्मेवार प्रध्यापक, डाक्टरले अस्वभाविक झन्झट व्यहोरेर जवरजस्त छोराछोरीलाई चिकित्सक नै पढाउने, भनेकै ठाउँमा पढाउने, भनेकै विषय पढाउने जस्ता प्रयास गरिरहेको पाइन्छ।
यो ज्यादै झुर काम हो। हामीले बुझ्नपर्ने कुरा के हो भने पढ्ने र सिक्ने कुरा नित्तान्त व्यक्तिगत हो। भनिन्छ-पढाउनु हुँदैन। सिकाउन हुँदैन। त्यसो गरेमा सिकारु (विद्यार्थी) को प्रकृति विरुद्ब हुन्छ। सिकारुलाई मानवको रुपमा हेर्दा मानव अधिकारविरुद्ब हुन्छ। अभिभावक, शिक्षक र शिक्षण संस्थाहरूले पढ्नका लागि वातावरण बनाउने हो। सिक्न सहजीकरण गर्ने हो। प्रोत्साहन गर्ने हो। जवरजस्त सिकाउने र यो र यही विषय पढ भनेर बल गर्नु असल कर्म कदापी हुनै सक्दैन।
यस प्रसंगमा एक जना उच्च पदस्त अग्रजको भनाइ याद आउछ-म पहिला डाक्टरी पढ्छु भनेर साइन्स पढेँ। पढ्न नपाएमा इन्जिनियर पढ्छु भनेर गणित विषयको पनि जाँच दिएँ। पछि डाक्टर र इन्जिनियर दुवैमा नाम निकाल्न सकिन। त्यसरी नाम निकालेको भए म सधैँ कारिन्दा नै हुने थिएँ। त्यसरी नाम ननिस्कनु मेरा लागि फलदायी भयो मैले धेरै चिकित्सक हरूलाई खटनपटन गर्ने अवसर पाएँ।धेरै इन्जिनिएरहरूको हाकिम हुने अवसर मिल्यो।
यस्ता उदाहरणबाट विद्यार्थी, अभिभावकले सिक्नुपर्ने कुरा के हो भने सम्भावनाका द्वारहरू जताततै हुन्छन्।जबरजस्ती पढ्ने र पढाउने गर्नै हुँदैन। जे पढे पनि हुन्छ। रुचीअनुसार पढ्नु पर्छ। आफ्नो क्षमताले भ्याउने र मन लगाएर पढ्न सकिने विषय पढ्नुपर्छ।
समाजमा हेरौँ त-के डाक्टर, इन्जिनियर बनेका बाहेक अन्य पेशाका मान्छेले प्रतिष्ठित र सुखी जीवन बाँचेका छैनन् र?
जसरी पनि डाक्टर वन्न पर्छ भन्ने भूतले धेरै जना दलदलमा फस्दै गएको अनुभव पाइन्छ।
विश्वका चर्चित मानिसहरूले सन्तानमाथि आफ्नो इच्छा कहिले लादेनन्। अव्राम्ह लिंकनले आफ्ना छोराका शिक्षकलाई लेखेको पत्रमा पढाउने भन्दा सिक्ने उत्प्रेरणा जगाइदिनु होला भन्ने आदर पूर्वक अनुरोध गरेका थिए। असल व्यक्ति बनाउन आग्रह गरेका थिए। उनले धेरै नम्बर ल्याएर डाक्टर बनाउने र धनी छोरोको बाबु बन्ने रहर मनमा पालेनन्।
गौतम वुद्धले शुद्ध विचार, शुद्ध दृष्टिकोण, शुद्ध सञ्चार, ध्यान केन्द्रीकरण, शुद्ध व्यवहारका विषयमा वुद्धत्व प्राप्त गरेको विषयलाई संसारभर यत्रतत्र पुर्याए,पुर्याइँदै छ।
अहिले चिकित्सा शिक्षा पढ्ने केही विद्यार्थीहरूको व्यहोरा देख्दा उदेक लाग्छ। उनीहरू चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, विश्वविद्यालय र परिषद्का पदाधिकारीलाई तथानाम गाली गरेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका हुन्छन्। विद्यार्थीको काम पढ्ने हो। आफ्नो विषय वस्तुमा सिक्ने हो। खुरुखुरु त्यही काम गर्ने हो। त्यसैमा दक्षता हाँसिल गर्ने हो।
त्यही विषयका वारेमा सम्वन्धित निकायलाई सुझाव दिने हो। विद्यार्थीको हक, हितमा विद्यार्थी संगठनहरूले आवाज उठाउनु अस्वभाविक हुँदैन। तर आफूले आदर गर्नुपर्ने दिग्गज, दशकौँको अनुभव संगालेका अग्रजलाई तल्लो स्तरमा उत्रेर गाली गर्दा त्यो कुनै समयमा उसकै लागि प्रत्युत्पादक हुन सक्छ।
अहिले अरुलाई ततानाम गाली गर्ने मान्छे कुनैबेला जिम्मेवार निकायमा जिम्मेवार पदमा पुग्न सक्छ। त्यो बेला उसका आचरणबारे खोजी हुँदा, चर्चा हुँदा अहिले भनेका कुराहरू खोतलिएर त्यो समस्या बन्न सक्छन्। समय बितेपछि पछुताउनको विकल्प हुँदैन्। पद्बति सक्षम हुँदै जाँदा उदण्ड र उच्छृङ्खलहरू कमजोर हुँदै जाने र पछि पछुताउनु पर्ने हुनसक्छ। संसार नै मै हुँ भन्ने मान्छेहरू नराम्रोसँग फन्दामा परेर पछुताउन परेका दृष्टान्तहरू प्रशस्त पाइन्छ।
यो मेरो मानवीय मूल्य जोडिनपुगेको लेख हो। अरुको दु:ख प्रति अलिकता सहानुभूति हुन्छ कि भनी गरिएको मौलिक प्रयास हो। यसमा लेखिएका विषयवस्तु मेरा व्यक्तिगत ज्ञान र अनुभवका हरफ हुन्। पदीय जिम्मेवारी, दायित्व र हैसियत रहदैन।
अन्त्यमा तीन शब्दावली उल्लेख गरेर बिट मार्छु एक: इच्छा र क्षमता नभएको विषयमा पढ्ने, पढाउने नगरौं। दुई, परीक्षाको संवेदनशीलताको बोध राम्रोसँग गरौं। तीन, छाडा र उदण्ड भएर आफैँ र आफ्ना अभिभावकलाई पछुताउनु पर्ने अवस्था सिर्जना नगरौँ।
धन्यवाद !
(लेखक चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव हुनुहुन्छ)
डा. भोजराज शर्मा काफ्ले
तपाईँको अभिमत