काठमाडौं महानगरपालिकामा ज्येष्ठ नागरिक केन्द्रित सुविधायुक्त विशेष अस्पताल बनाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचारका लागि सुविधा सम्पन्न १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ ।
आर्थिक बर्ष २०७८, २०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो बताउनुभएको हो ।
नीति तथा कार्यक्रममा कोभिड १९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि सहयोग गरिने उल्लेख छ ।
कोरोनाबाट संक्रमित बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।
महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्यसेवाको प्रत्याभूत गरिने जनाइएको छ ।
महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने, यस्ता फार्मेसी सञ्चालकहरूलाई महानगरपालिकामा तिर्नु बुझाउनुपर्ने कर, शुल्क, दस्तुरमा सहुलियत प्रदान गर्ने, नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत महानगरवासीको स्वास्थ्य बिमा गर्ने, महानगरवासीहरुका लागि बिमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने पनि महानगपालिकाले नीति लिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत