'टायर हटाउ अभियान' नचलाएसम्म डेंगी नियन्त्रण हुँदैन (भिडियाे)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. अनुप बाँस्तोलाले लार्भा नष्ट गर्ने काम नभएसम्म डेंगी संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ ।
उहाँले डेंगी सक्रमण नियन्त्रणका लागि काम भइरहेको बताइएपनि प्रभावकारी हुन नसकेको बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्चले सोमबार राजधानीमा डेंगी महामारी र नियन्त्रण सम्बन्धि गरेको अन्तरक्रिया कार्यक्रममा बास्तोलाले लामखुट्टेको लार्भा नष्ट नभएसम्म संक्रमण नियन्त्रणमा नआउने बताउनुभयो ।
‘हामी डेंगी संक्रमण नियन्त्रणका काम गरिरहेको भनिरहेका छौं, तर घरवरपर बाटोमा जताततै नचाहिने टायरहरु देख्न सकिन्छ । त्यो टायरमा जमेको पानीमा लार्भा छ लार्भा रहुन्जेल कसरी संक्रमण नियन्त्रण हुन्छ ? टायर नहटेसम्म लार्भा नष्ट हुँदैन ।’
प्रत्येक वडामा टायर हटाउने अभियान चलाउनपर्ने उहाँको भनाइ छ । 'डेंगी नियन्त्रण गर्न नियमित रूपमा लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्छ, यसका लागि अनावश्यक टायर हटाउनपर्छ', उहाँले भन्नुभयो, 'डेंगीबाट आफ्नो सन्ततीलाई जोगाउन यो अभियान आवश्यक छ ।'
वर्षायामसँगै डेंगी संक्रमण बढिरहेको छ । यस वर्ष ७ हजार ७ सय ३३ जनालाई डेंगी संक्रमण पुष्टि भइसकेको छ । ७ जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी संक्रमण सुनसरीको धरानमा देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत