कुटाइ खाएको घटनामा पनि डाक्टर र अन्य स्वास्थ्यकर्मीबीच यत्रो विभेद ?
देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटनाहरु बाहिर आइरहेका छन्। कुनै घटनाले व्यापक चर्चा पाएका छन् कुनैले खासै पाएका छैनन्।
गत भदौ २७ गते हेटौँडाको सन्चो अस्तपालमा डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाले ठूलो रुप लियो । कुटपिटको सीसीटीभी भिडियो हेर्दा चिकित्सकमाथि धेरै व्यक्तिले सांघातिक हमला गरेको प्रष्ट देखियो।
यो घटनापछि देशभरका चिकित्सक स्वास्थ्यकर्मी आन्दोलित भए । घटना घटेको भोलिपल्टै कुटपिटमा संलग्न ४ जना पक्राउ परेका थिए । तर पनि विरोधका कार्यक्रम रोकिएन । नेपाल चिकित्सक संघको अगुवाइमा भदौ ३१ गते देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा नै बन्द भए। चिकित्सक संघले अनिश्चितकालका लागि भन्दै सेवा बन्द गराएको थियो।
चिकित्सक संघका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच वार्ता र सहमति भएपछि आन्दोलन फिर्ता भयो।
असोज २ गते राति कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्रप्रसाद गैरेमाथि कुटपिट भयो । यो घटनाको पनि सीसीटीभी भिडियो बाहिरियो । एक व्यक्तिले स्वास्थ्यकर्मीलाई चेतावनी दिँदै घाँटी अठ्याएर भित्तामा चेपेको देखिन्छ।
हेटौँडाको घटनाले निकै हंगामा मच्चाए पनि बेलौरीको घटनाको सामान्य चर्चा मात्रै भयो।
चर्चा नहुनेको कारण कुटाइ खाने व्यक्ति घगडान डाक्टर नभएर एक सामान्य स्वास्थ्यकर्मी थिए।
स्वास्थ्य क्षेत्रको नेतृत्व चिकित्सकहरुले नै गरेका छन् । चिकित्सक सबै स्वास्थ्यकर्मीको अभिभावकको रुपमा रहेको देखिन्छ । तर डाक्टरमाथि कुटपिट हुँदा अस्तपालको सेवा नै बन्द गर्ने नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा २ दिनसम्म मौन रह्यो।
डाक्टर कुटिँदा ठूलो विषय बनाएका स्वास्थ्य क्षेत्रका थुप्रै व्यक्ति तथा निकायले यो घटनामा खासै वास्ता गरेनन् ।
चिकित्सक संघले घोषणा गरेको आन्दोलनमा अन्य विधाका स्वास्थ्यकर्मीको पनि साथ सहयोग थियो । तर चिकित्सक संघले स्वास्थ्यकर्मी कुटिएको घटना आफ्नो सरोकारको विषय नरहेको ठानेजस्तो देखियो।
चिकित्सकले ठूलो उपेक्षा गरेको महसुस आज स्वास्थ्यकर्मीहरूलाई भएको छ। नत्र भने उस्तै प्रकारको घटनामा एउटामा हंगामा एउटामा किन मौन ?
स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण गर्ने रामु भनिने रामबहादुर खड्का नेपाली कांग्रेसका स्थानीय नेता रहेको खुलेको छ । कांग्रेसको स्थानीय नेतृत्वले खड्का निर्दाेष रहेको भन्दै विज्ञप्ति नै जारी गरेको छ।
चिकित्सक संघको नेतृत्वमा नेपाली कांग्रेसप्रति आस्था राख्ने डाक्टरहरू हुनुहुन्छ । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्ति नेपाली कांग्रेस भएकै कारण संघले खासै चासो नदेखाएको होकि भन्ने चर्चा स्वास्थ्यकर्मी वृत्तमा भइरहेको छ।
यो लेख प्रकाशन गर्नै लाग्दा त्यस घटनालाई सम्बोधन गरेर चिकित्सक संघले विज्ञप्ति निकालेको पाइयो । चौतर्फी दवावपछि मात्रै संघले झारा टारेको भन्न सकिन्छ यसलाई।
बिरामीको उपचारमा डाक्टरको आवश्यकता जति अरिहार्य छ, अन्य स्वास्थ्यर्कीको पनि आ–आफ्नै भूमिका छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ ले डाक्टर भनेर छुट्टै कुनै व्यवस्था गरेको छैन । सबैलाई समग्रमा स्वास्थ्यकर्मी भनिएको छ।चिकित्सक र अन्य स्वास्थ्यकर्मी कुटिँदा एउटै सजाय हुने व्यवस्था ऐनमा पनि छ । तर व्यवहारमा त्यो कत्ति पनि देखिँदैन।
हेटौँडामा त बिरामीको मृत्यु भएको विषय जोडिएको थियो कञ्चनपुरमा बिरामीसँग सरोकार नै नभएको व्यक्तिले अनाहकमा स्वास्थ्यकर्मीमाथि हातपात गरेको छ । यो त झन आपत्तिजनक घटना होइन र ?
डाक्टर र अन्य स्वास्थ्यकर्मीबीच अन्य थुप्रै सवालमा विभेद त छँदैछ । हुँदा हुँदा कुटाइखाएको घटनामा पनि यति धेरै विभेद ?
(लेखक देवकोटा डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसनका अध्यक्ष हुनुहुन्छ)
माइकल देवकोटा
तपाईँको अभिमत