ओलम्पिकमा स्वर्ण पदक जितेको खुसीयाली मनाउँदा प्रशिक्षकलाई हृदयघात
फ्रान्सको पेरिसमा १६ दिनसम्म चलेको ओलम्पिकका सबै खेलहरु हिजो सकिएका छन् । विश्व खेलकुदको महाकुम्भ मानिएको ओलम्पिकमा खेलको जित हारका चर्चा त चलेकै छन् । यसका अलवा एक प्रशिक्षकलाई हृदयघात भएको विषयले पनि निकै चर्चा पाएको छ ।
आफ्ना खेलाडीले स्वर्ण पदक जितेको खुसीयाली मनाउँदा उज्बेकिस्तानका प्रशिक्षकको झण्डै ज्यान गएन ।
दी सनमा प्रकाशित खबरअनुसार घटना ८ अगष्टको हो । बक्सिङमा पुरुष ५१ केजी तौल समूहतर्फ उज्बेकिस्तानका स्टार हसनबोइ दुम्माटोभले स्वर्ण पदक जिते । उनले पदक जित्नेवित्तिकै खेलाडीसँगै प्रशिक्षक तुल्किन किलिचेभ खुसीयाली मनाउन थाले ।
खुसीयाली मनाउने क्रममा कलिचेभ बेहोस भएर ढले । त्यसपछि सहयोगका लागि गुहार मागियो । बेलायती टोलीका फिजियोथेरापिस्ट रोब्बी लिलिस र उनका सहकर्मी डाक्टर हर्ज सिंह आए । किलिचेभलाई हृदयघात भएको उनीहरुले थाहा पाइहाले । त्यसपछि उनलाई सिपिआर दिने, डिफिब्रिलेटरको प्रयोग गर्ने गरियो । केही समयको प्रयासपछि ४१ वर्षीय किलिचेभ होसमा आए ।
त्यसपछि उनलाई अस्पताल भर्ना गरियो । अहिले उनको अवस्था सामान्य भएको बताइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत