आजदेखि उपत्यकामा बिहान ९ बजेसम्म मात्र अत्यावश्यक सामग्री खरिद गर्न पाइने
काठमाडौं । आजदेखि काठमाडौ उपत्यकामा बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरिद गर्न पाइनेछ । कोरोना सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गरिएको छ ।
यसअघि खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरीद बिक्रीका लागि बिहान र बेलुका समय तोकेर खुला गरिएकामा अब थपिएका समयमा भने बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ।
नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रजिअले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।
सूचना विभागको पास नभएका पत्रकारको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएर मात्रै काममा खटिने व्यवस्था गरिएको छ ।
आदेशमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकूद सञ्चालन गर्न पाइने छैन ।
मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रमसमेत सञ्चालन गर्न नपाइने काठमाडौँ प्रशासनले जनाएको छ ।
सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन ।
सार्वजनिक एवं निजी सवारी साधन वैशाख २९ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ ।
अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको पोका, कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन, स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।
अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, बीमालगायत कार्यालयले एक चौथाइ कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ।
बैँक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंँक र जिल्ला प्रशासन कार्यालयलाई दिन भनिएको छ।
अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, राहदानी र प्रवेशाज्ञा हुनेलाई सीधै विमानस्थल जाने सवारी साधनका हकमा सहजीकरण गरिने छ ।
औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ।
विवाह व्रतबन्धका हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्नेगरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै आवतजावत गर्न पाइने छ ।
हेल्थपाटी
तपाईँको अभिमत