आज काठमाडौंमा ४३ हजार बढीले भेरोसेल लगाए, कान्ति र नरदेवी अस्पतालमा पनि खोप केन्द्र
काठमाडौं । काठमाडौं जिल्लामा चलिरहेको कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभियानमा आज ४३ हजार जनाबढीले खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले ४८ वटा खोप केन्द्रबाट ४३ हजार ४५८ जनाले भेरोसेलको पहिलो मात्रा लगाएको जानकारी दिनुभयो ।
उहाँले भोली नरदेवी आयुर्वेद अस्पताल र कान्ति बाल अस्पतालबाट पनि खोप लगाउने व्यवस्था मिलाइएको बताउनुभयो । भेरोसेल खोप कार्यत्रलम साउन २ गतेसम्म सञ्चालन हुनेछ । साउन ४ गतेदेखि जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यक्रम तय गरिएको छ । जोनसनको खोप पनि अहिलेकै खोपकेन्द्रहरुबाट लगाइने छ । जोनसनको खोप एक पटक लगाए पुग्छ ।
५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, विश्वविध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति तथा खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई भरोसेल खोप दिइने छ ।
जोनसनको खोप भने ५० वर्ष देखि ५४ वर्ष उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थिहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु, यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबैलाई दिइने छ ।
तपाईँको अभिमत