बिहान उठ्नेवित्तिकै दाँत माझ्नु आवश्यक छैन
दाँतमा कीरा लाग्ने भन्ने प्रचलन रहेपनि साच्चिकै कीरा भने नहुने दन्तरोग विशेषज्ञ डा. सञ्जयकुमार तिवारीले बताउनुभयो।
हेल्थपाटीसँगको कुराकानीका क्रममा डा.तिवारीले दाँतमा जम्मा हुने फोहोरका कारण दाँत खाल्डो पर्नुलाई कीरा लागेको भनिने गरेको जानकारी दिनुभयो।
कीरा लाग्यो भन्दै कतिपय व्यक्तिले तन्त्रमन्त्र गरेर दाँतको कीरा निकालेको भनेर देखाउने समेत गरेको कुरा झुटो रहेको उहाँले स्पष्ट पार्नुभयो ।
'मुखमा हुने कीटाणुहरुले फोहारलाई गलाउँछ । त्यो फोहोर गलाउने क्रममा एसिड उत्पन्न हुन्छ । त्यो एसिडले दाँतलाई पनि गलाउँछ । एसिडकै कारण दाँतमा खाल्डो पर्छ । यसैलाई हामी कीरा लागेको भन्छौँ' तिवारीले भन्नुभयो।
दाँत सफा गर्ने भनेको केहो ? भन्ने प्रश्नमा डाक्टर तिवारी यसो भन्नुहुन्छ
दाँत सफा गर्दा ब्रस नुपुग्ने ठाउँमा फोहोर जमेर बसेको हुन्छ । चट्टान जस्तो भएर फोहोर बसेको हुन्छ । त्यो फोहोरलाई निकाल्नका लागि मेसिनबाट दाँत सफा गर्नु आवश्यक हुन्छ।
सफा गर्ने मेसिनको टिपमा भाइब्रेसन हुन्छ । भाइब्रेसनले दाँतको भागबाट फोहोरलाई छुट्याएर निकाल्छ ।
नेपालमा प्रायगरी दिनको एकपटक बिहान उठ्नेवित्तिकै दाँत माझ्ने प्रचलन छ । यसो गर्दा दाँतका समस्या धेरै हुने डा.तिवारी बताउनुहुन्छ।
बिहान खाना खाइपछि र बेलुका सुत्ने बेलामा दाँत सफा गर्नुपर्ने उहाँको भनाइ छ ।
सुत्नेबेला किन दाँत सफा गर्ने ?
डा.तिवारी भन्नुहुन्छ-खाना खाएपछि हाम्रो मुखमा अड्किएको खानेकुरालाई र्यालले बगाउन सहयोग गर्छ । राति सुतेपछि मुखमा र्याल नआउने भएकाले खानेकुरा त्यही बस्छ । मुखमा भएको किटाणुले उक्त खानालाई प्रयोग गर्छ । त्यसबाट एसिड उत्पादन हुन्छ र दाँतमा कीरा लाग्छ । गिजाको समस्या आउँछ । यो नहोस् भन्नका लागि हामीले सुत्न जानु अगाडि ब्रस गर्नुपर्छ ।
बिहान उठ्नेवित्तिकै दाँत माज्न आवश्यक नरहेको उहाँले सुनाउनुभयो । ‘बिहान उठ्ने वित्तिकै ब्रस गर्न जरुरी छैन । कुल्ला गरेर खाजा, खाना खाइसकेपछि अनि ब्रस गर्नुपर्छ’ डा.तिवारी भन्नुहुन्छ ।
दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको शव पहिचान गर्न नसकेको अवस्थामा दाँतबाट पत्ता लगाउने गरिएको पनि उहाँले सुनाउनुभयो ।त्यो व्यक्तिले जीवित हुँदा डेन्टल उपचार गरेको रेकर्डका आधारमा दाँतको परीक्षण गरेर शव पहिचान गर्न सकिने डा.तिवारीको भनाइ छ।
उहाँका अनुसार विशेषगरी विमान दुर्घटनाका केसमा र मृत्यु भएर शव सडिसकेको अवस्थामा यसरी पत्ता लगाइन्छ।
नेपालमा चाहीँ दाँतको रेकर्ड राख्ने सिस्टम नभएको र विदेशमा यो अभ्यासमा रहेको उहाँले जानकारी दिनुभयो ।
दाँत सम्बन्धि स्वास्थ्य समस्याका विषयमा दन्तरोग विशेषज्ञ डा. सञ्जयकुमार तिवारीसँग हेल्थपाटीका लागि जगन्नाथ ढकालले गर्नुभएको कुराकानी ।
भिडियो :
हेल्थपाटी
तपाईँको अभिमत