जिउँदै एक कोरोना संक्रमित बिरामीलाई शववाहनमा राखेपछि...
चीनको सांघाई प्रान्तस्थित एक अस्पतालका कर्मचारीले कोरोना संक्रमित वृद्ध बिरामीलाई जिउँदै शववाहनमा राखेको समाचार बाहिर आएको छ । जिउँदो व्यक्तिलाई शववाहनमा राख्ने अस्पतालका कर्मचारीलाई जागिरबाट निष्कासन गरिएको बीबीसीमा समाचार छ ।
आइतबार सार्वजनिक भएका अनलाइन भिडिओमा दुई व्यक्तिले शवसहितको ब्याग शववाहनमा राख्दै गरेको देखिन्छ। पछि ती कामदारले सो ब्यागलाई खोल्दै गरेको र एक जनाले बिरामी जीवितै भएको भनी बोलेको सो भिडिओमा सुनिन्छ।
चिनियाँ सामाजिक सञ्जालमा यो घटनाबारे नागरिकहरू आक्रोशित रूपमा प्रस्तुत भएका छन्।
सांघाईको पुटुओ क्षेत्रमा अधिकारीले सोमबार बेलुकी घटनाको पुष्टि गर्दै ती बिरामीलाई अस्पताल पुर्याइएको र उनी खतरामुक्त रहेको बताएका थिए।
अधिकारीहरूले एक चिकित्सक र पाँच कामदारहरूमाथि छानबिन भइरहेको बताएका थिए।
स्थानीय नागरिक मामिला कार्यालयका उपप्रमुख र उपचार केन्द्रका निर्देशकसहित चार जनालाई जागिरबाट निकाला गरिएको बताइएको छ।
एक चिकित्सकको अनुमति खारेज गरिएको छ।
बिरामीको परिचय भने अझै खुलेको छैन।
हेल्थपाटी
तपाईँको अभिमत