विदेश जाने नर्सको संख्या बढ्दो, नेपालमै अपूग हुनसक्ने
हेटौँडाका राजु शर्माको सपना, छोरी सरिता(नाम परिवर्तन)लाई नर्स बनाउनु थियो । सरिताको चाहना बाबुको सपना साकार पार्नु थियो । आफूलाई नर्स बनाउन बुबाले देख्नु भएको सपना, अनि त्यो सपना पूरा गर्न गर्नुभएको संघर्ष सरिताले राम्रोसँग देख्नुभएको थियो । उहाँको एक मात्र उद्देश्य नर्स बनेर बिरामीको सेवा गर्ने हो भन्ने थियो । तर नर्सिङ पढ्न नाम निकाल्नै गाह्रो ।
एसएलसीपछि नर्सिङ तयारी कक्षा सुरु गर्नुभयो । त्यतिबेला आफूसँगै पढेका साथीहरू कलेज जान सुरु गरिसकेका थिए । प्रवेश परीक्षाको तयारीमा रहनुभएकी सरितालाई भने नर्सिङमा नाम निस्कने होकी होइन भन्ने डर थियो तर छात्रवृत्तिमा नाम निस्कियो ।
बुबाले आफूलाई नर्स बनाउन देख्नुभएको सपनामा अघि बढ्ने बाटो खुल्यो । सरितालाई जिन्दगीको एउटा स्टेज पार भएजस्तो लाग्यो । नाम निस्किएको दिन सरिताले आफूलाई नर्सको रुपमा कल्पना गर्नथाल्नुभयो, उत्साह जाग्यो ।
छात्रवृत्तिमा नाम निकाले पनि सरितालाई नर्सिङ अध्ययन पूरा गर्न लगभग ५ लाख रुपैयाँ लाग्यो । सरिताको परिवारलाई यो रकम जोहो गर्न पनि कठिन थियो । छोरीलाई नर्स बनाउने सपना पूरा गर्न बुबा विदेश जानुभयो ।
३ वर्षमा पूरा हुने कोर्ष लकडाउनले गर्दा ४ वर्ष लाग्यो । नारायणी मेडिकल एण्ड टेक्नोलोजी कलेजबाट सरिताले २ वर्ष अगाडि अध्ययन पूरा गर्नुभयो ।
अध्ययन त पुरा भयो, अब सरितालाई आफ्नो योग्यताअनुसारको जागिर खानुथियो । जागिरको खोजीका लागि अर्काे यात्रा सुरु भयो । ४ वटा अस्पतालमा आवेदन दिनुभयो । किष्ट अस्पतालमा नाम निस्कियो । भर्खरै नर्सिङ पास गरेको उहाँलाई सुरुमै आइसीयूमा खटाइयो । १८ घण्टासम्म उभिएर काम गर्नुपर्ने तर तलब महिनाको १८ हजार । त्यति तलबले खान पनि नपुग्ने । कहिले सिनियर नर्सको गाली खानुपर्ने, कहिले बिरामीको सरिता दुखेसो गर्नुहुन्छ । तर २ वर्ष काम नगरी अस्पतालले अनुभव प्रमाणपत्र नै नबनाइदिने भएपछि उहाँले जसोतसो काम गर्नुभयो ।
'बिरामीको हेरचाहमा लाग्दा कतिपटक बाथरुमसम्म गइन,खाजा खाइन । रातको समयमा ड्युटी गरे थप ५० रुपैयाँ बोनस पाइन्थ्यो' सरिताले सुनाउनुभयो । तलबले आफ्नै खर्च नपुग्ने भएपछि सरिताले काम छोड्नुभयो । अनि विदेश जाने सोच बनाउनुभयो ।
अहिले उहाँ क्यानाडा जाने तयारीमा हुनुन्छ । ‘मलाई नर्स बनाउने सपना साकार पार्न बुबा विदेश जानुभयो, अब म बुबा-आमालाई खुसी राख्न विदेश जाने तयारीमा छु' सरिताले भक्कानिदै भन्नुभयाे, ‘योग्यताअनुसार नेपालमै अवसर भएको भए परिवारसँग छुट्टिएर विदेश जानु पर्दैन थियो, अर्काको देशमा नोकर भएर काम गर्न पर्दैन थियो ।' परिवारका ४ जना सदस्य ४ तिर बस्नु पर्ने अवस्था रहेको सरिता सुनाउनुहुन्छ।
अब सरिताको एउटा मात्रै सपना छ, विदेश जाने, कमाउने अनि नेपालमा एउटा सानो घर बनाएर बुबा आमा र दाइसँगै बस्ने । सरिताले खेपेको जस्तो समस्या अरु हजारौँ नर्सले भोगिरहेका छन् । उहाँ जस्तै हजारौँ नर्स विदेशमा अध्ययन गर्न र पढ्न जाने तयारीमा छन् ।
स्वदेशमा योग्यता दक्षता अनुसार तलब सुविधा छैन, चाहे अनुसार पढ्न पाइदैन । असुरक्षित वातावरणमा काम गर्नुपर्छ । नर्सलाई न सम्मान छ, न हौसला । आफूहरुप्रति नकारातत्मक टिकाटिप्पणी धेरै हुने गुनासाे नर्सहरूको छ।
यिनै कारण नेपाली नर्सहरु विदेशतर्फ आकर्षित भइरहेको यस क्षेत्रका व्यक्तिहरू बताउँछन् । कोभिडपछि विदेश जाने तयारीमा लाग्नेहरु अझ धेरै छन् ।
०००
दुबईको लहर
कोभिडपछि नर्सिङ जनशक्ति युएईको दुबईमा जाने लहर अप्रत्यासित रुपमा बढेको नर्सिङ काउन्सिलको तथ्यांकले देखाउँछ । नर्सको तेस्रो गन्तव्य स्थल बनेको छ दुबई । दुबई प्रवेश गर्न सजिलो अनि सेवा सुविधा आकर्षक भएकाले पछिल्ला वर्षहरुमा नर्सहरु त्यसतर्फ आकर्षित हुन थालेका हुन् ।
भाषा(आइएलटिएस) पढ्न नपर्ने, अन्य देशको तुलनामा खर्च कम र प्रवेशका लागि धेरै समय पर्खनु नपर्ने भएकाले पनि दुबईमा नेपाली नर्सको आकर्षण बढ्दै गएको हुनसक्ने अग्रज नर्सहरुकाे विश्लेषण छ ।
दुबईमा कार्यरत एक नेपाली नर्सका अनुसार त्यहाँ तुलनात्मक रुपमा महिला नर्स कम हुन्छन् । यसले पनि महिला नर्सलाई सम्मान, माया गर्ने गरिन्छ । त्यहाँ पुरुष नर्स बढी हुन्छन् । त्यहाँ काम गरेको अनुभवले अन्य देश जानसमेत सजिलो हुन्छ।
त्यहाँ आवास, यातायातको सुविधासहित मासिक २ लाखभन्दा बढी कमाइ हुने थाहा पाएपछि आफू त्यसतर्फ जाने तयारीमा रहनुभएकी अर्की नर्स सुनाउनुहुन्छ। यसअघि उहाँले बेलायत जाने तयारी गर्नुभएको थियो । भाषा परीक्षा आइएलटिएस दिएर बस्नुभएकी उहाँ बेलायतमा भन्दा दुबईमा राम्रो तलब पाउने थाहा पाएपछि त्यता जान लाग्नुभएको हो।
उहाँका अनुसार हप्तामा ४८ घण्टा ड्युटी गर्नुपर्ने नियम छ । यदि सो भन्दा बढी या बिदाको दिन ड्युटी गर्नपरे दुई देखि ३ गुणा बढी रकम पारीश्रमिक आउँछ । हाल विराटनगरको एक निजी अस्पतालमा कार्यरत ती नर्स पनि नेपालमा सेवा सुविधा नै नभएपछि बाध्य भएर विदेशिन लागेको बताउनुहुन्छ । उहाँका अनुसार त्यस अस्पतालले बिरामीको चाप भएको दिन बिदा नदिने अनि बिरामी नहुँदा बिदामा बस्न लगाएर हाजिर नभएको दिनको तलब दिँदैन ।
अन्य अस्पतालको पनि हविगत उस्तै रहेको देखेपछि विदेश नै जाने निर्णय गरेको उहाँ बताउनुहुन्छ। 'न जागिरको ग्यारेन्टी, न काम गर्दा सुरक्षा न अवसर । यस्ताे निराशाजनक वातावरणमा कसरी काम गर्नु ?' ती नर्स भन्नुहुन्छ ।
०००
विश्वभर स्वास्थ्य सेवाको जनशक्तिमध्ये सबैभन्दा ठूलो हिस्सा नर्सिङ जनशक्तिले ओगटेको छ । विदेशमा नर्सिङ पेशाप्रति सम्मान छ, तलब सुविधा पनि आकर्षक छ । नेपालमा नर्सिङ पेशाको महत्व नै छैन । इज्जत गरिँदैन, नकारात्मक दृष्टिकोण (रुखो बोल्ने, झर्कने गर्छन् भन्ने गरिन्छ) तर नर्सहरुले यस्तो व्यवहार किन देखाइरहेका छन् भन्ने हेक्का कसैले नराखेकाे र अत्याधिक चापमा काम गर्नुपर्दा तनाब हुने र त्यो तनावले उपचारमा समस्या भइरहेको गुनासो नर्सहरुको छ ।
थापाथलीस्थित प्रसूती अस्पतालको वार्डमा कार्यरत एक नर्सले गुनासो गर्नुभयो 'मैले यहाँ काम गर्न थालेको ५ वर्ष भयो, प्रत्येक दिन कामको अति भार र तनाव व्यहोर्नुुपर्छ, घरमा पनि हेर्नैपर्छ । हाम्रो व्यथा कसले बुझिदिने ?'
जेठ १९ गतेसम्म नेपाल नर्सिङ परिषदमा १ लाख १३ हजार ३७६ जना नर्स दर्ता छन् । जसमा विशेषज्ञ १ हजार ३५२, स्टाफ नर्स ७३ हजार ८८९, मिडवाइफ ५१, अनमी ३७ हजार २३६ र विदेशी नर्स ८४८ जना छन् ।
यी मध्ये २७ हजार ८९ जना नर्स र १२ हजार ८५५ जना अनमीले नवीकरण गरेका छन् । प्रत्येक ६/६ वर्षमा नवीकरण हुने भएकाले नवीकरणको क्रम चलिरहने परिषद्ले जनाएको छ ।
परिषद्मा विदेश जानका लागि भेरिफिकेसन लेटर बनाउन पुग्नेहरुकाे भीड दिनहुँ देख्न सकिन्छ । २०५९ सालदेखि २०८० असार १ गतेसम्मको तथ्यांकअनुसार ३३ हजार ७६५ जनाले विदेश जान भेरिफिकेसन लेटर बनाएका छन् ।
अमेरिका जान भेरिफिकेसन लेटर बनाउनेहरू धेरै छन् । त्यसपछि अष्ट्रेलिया, दुबई, बेलायत, डेनमार्क, क्यानडा, कतार, कुवेत, जर्मनी, माल्दिभ्स, न्यूजिल्याण्ड, आयरल्याण्ड, हङकङ र यूएन मिसनमा जानेहरु छन् ।
विदेशमा नर्सिङ अध्ययन वा काम गर्न जान परे परिषद्बाट भेरिफिकेसन लेटर बनाउनुपर्ने हुन्छ । भेरिफिकेसन लेटर बनाउने नर्समा लाइसेन्सिङ परीक्षा उतीर्ण गरेकै हुनपर्छ । तर मेनपावरमार्फत र व्यक्तिगत रुपमा पनि विदेश जाने प्रवृत्ति भएकाले परिषद्सँग यति नै नर्स विदेश गए भन्ने यकीन तथ्यांक छैन । साउदीमा पनि नर्स गइरहेका छन् तर साउदी गएकाको रेकर्ड परिषद्सँग छैन ।
धेरै पहिलादेखि नै अमेरिका, अष्ट्रेलियामा अध्ययन र कामका लागि नर्स जाने गर्दथे । त्यसले गर्दा पनि ति देशहरुमा जाने नर्सकाे संख्या तथ्यांकमा धेरै देखिएको काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालले जानकारी दिनुभयो । अध्ययन र काम दुवैको अवसर रहेकाले पश्चिमा देशहरुमा नर्सहरु आकर्षित भएको हुनसक्ने उहाँकाे बुझाइ छ ।
परिषदमा दर्ता भएका नर्समध्ये ४० प्रतिशत बेरोजगार, कामप्रति सन्तुष्ट हुन नसकेर पेशा परिवर्तन गरेकाहरुकाे हिस्सा रहेकाे अनुमान नेपाल नर्सिङ संघको रहेको छ।
संघकी अध्यक्ष मनकुमारी राई नेपालमा काम गर्ने वातावरण नपाउनु, सम्मान नहुनु, असुरक्षा हुनु र आकर्षक तलब–भत्ता नभएका कारण नर्स विदेश पलायन भइरहेको बताउनुहुन्छ । बाहिर गइसकेका नर्सहरुमध्ये अधिकांश नर्स उतै पलायन भएको ठम्याइ उहाँको छ ।
आफ्नै देशमा गुणस्तरीय नर्सिङ सेवा दिनेतर्फ सरकारले ध्यान दिनुपर्ने र यसका लागि सरकारले बिरामीको अनुपातमा आवश्यक पर्ने नर्स पूर्तिका लागि नयाँ दरबन्दी सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा उत्पादित नर्सलाई आकर्षक सेवा सुविधासहित स्वदेशमै टिकाउनेतिर राज्यले सोच्नैपर्ने सुझाव उहाँको छ ।
नेपालमा वर्षेनी ७ हजारको हाराहारीमा नर्सको उत्पादन हुने गरेको छ ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नत्ती मापदण्ड सम्बन्धी निर्देशिका र न्यूनतम सेवा मापदण्ड अनुसार नर्स— बिरामी अनुपात तोकिएको छ । उक्त मापदण्ड अनुसार जनरल कक्षमा ४ देखि ६ शैयामा एक जना नर्स, ईमरेजेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा २ शैया बराबर १ नर्स, पोष्ट अपरेटिभ कक्षमा २ शैयामा १ जना र प्रसुती कक्षको लेबर बेडमा एक महिलालाई २ एसवीए तालिम प्राप्त नर्स वा मिडवाइफको व्यवस्था गरिनुपर्छ ।
साथै विभिन्न बिदाहरुमा बस्दा कुल जनशक्तिको थप ३० प्रतिशत नर्सिङ जनशक्तिको आवश्यकता पर्दछ । तर सरकारी र निजी दुवै स्वास्थ्य संस्थाहरुमा तोकिएको नर्स बिरामी अनुपातमा नर्सिङ जनशक्ति परिचालन भएको छैन ।
सरकारी अस्पतालको जनरल कक्षमा खटिने नर्सको कुरा गर्ने हो भने उनीहरुले तोकिएको मापदण्ड भन्दा ७ गुणा यानीकी ४० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ । नियमअनुसार नर्स नराख्दा नर्सलाई कामको चाप अत्याधिक छ ।
बिरामी अनुपातमा नर्सको व्यवस्था नहुनुमा, नर्स अभाव भएर नभई उत्पादन भइरहेको जनशक्त्तिलाई राज्यले उचित सुविधाका साथ काममा लगाउन नसक्नु मुख्य कारण रहेको नर्सिङ संघकी अध्यक्ष राई बताउनुहुन्छ । हाल सरकारी सेवामा मिडवाइफ, अनमी, स्टाफ नर्सदेखि बरिष्ठ नर्सिङ प्रशासकसम्म गरि १८ हजार ६६२ दरबन्दी रहेको मन्त्रालयको तथ्यांकमा छ ।
०००
मन्त्रालयले सबै नागिरकका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोग सुनिश्चित गर्न आवश्यक पर्ने जनशक्तिको उत्पादन, विकास, वितरण र व्यवस्थापकीय प्रणालीलाई सृदृढ गर्न स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीतिक मार्गचित्र तयार गरेको छ । २०७७/७८ देखि २०८६/८७(२०२१ -२०३०) ले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक पर्ने स्वास्थ्य जनशक्तिको आवश्यकताको आँकलन गरिएकाे छ ।
मन्त्रालयले सन् २०३० सम्म नेपालमा ८१ हजार ३६० नर्सको आवश्यक पर्ने जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीतिक मार्गचित्रमा उल्लेख गरेको छ । मन्त्रालयका अनुसार साे जनशक्ति स्थानीय तहकाे सबै वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आकस्मिक उपचार तथा ल्याब सेवासहितकाे एकीकृत उपचार सेवा प्रवाह गर्न आवश्यक पर्ने जनशक्ति हाे ।
नर्सिङ जनशक्तिकाे अनुपात, प्रतिहजार जनसंख्या ४.४५ का आधारमा मन्त्रालयले ८१ हजार ३६० नर्सको आवश्यक पर्ने अनुमान गरेकाे हाे । कोभिडपछि सरकारी संस्थामा नसिर्ङ जनशक्तिको संख्या बढेको छ । सो समयमा देशभरका अस्पतालहरुमा करारमा राखिएको थियो ।
हाल सरकारी सेवामा स्थायी, अस्थायी करार गरि करीब १६ हजार नर्सिङ जनशक्ति आवद्ध रहेको अनुमान नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमुख हिरा निरौलाले जानकारी दिनुभयो ।
०००
२०३० सम्म नेपालमा ८१ हजार ३६० नर्सको आवश्यक पर्ने सरकारले आँकलन गरिरहँदा दिनदिनै नर्स बाहिरि रहेकाे सन्दर्भमा यो लक्ष्य प्राप्त गर्न सकिएला ?
हिरा कुमारी निरौला, प्रमुख नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा
अहिलेको अवस्थामा नर्सिङ अभावै हुने स्थिति छैन । तर अहिलेकै गतिमा नर्स विदेसिए अभाव हुने सम्भावना रहेको छ । अहिले उत्पादित नर्सलाई बिरामीकाे अनुपातमा काममा लगाउन सके हाल देखिएको बेरोजगारीको समस्या हल हुन्छ । स्वदेशमै टिकाइ राख्ने रणनीति सरकारले लिनपर्छ । अहिलेपनि स्तरवृद्धि, तालिम लगायतका अवसरहरु छन् तर यसलाई अझै बढाउदै लैजानपर्छ ।
शुक्ला खनाल, रजिष्ट्रार नेपाल नर्सिङ परिषद्
अहिलेकै अनुपातमा बाहिरिए नेपालमा नर्सको अभाव हुने देखिन्छ । अध्ययन गर्न विदेश जान्छु भन्नेलाई त रोक्ने कुरा आएन । तर काम नपाएर विदेश जान्छु भन्नेलाई यही उचित वातावरणको व्यवस्था मिलाएर रोक्न सकिन्छ । लाखौं रकम र वर्षाै समय खर्चेर उत्पादन भएका नर्सिङ जनशक्तिलाई स्वदेशमै उपयोग गर्नेतर्फ राज्यकाे ध्यान केन्द्रित हुनपर्छ ।
बिरामीको अनुपातमा नर्सिङ जनशक्तिको व्यवस्था गर्नसके बिरामीले गुणस्तरीय सेवा पाउने थिए । नर्सिङ जनशक्तिलाई यहाँनै रोक्न उनीहरुले चाहेअनुसारको पढाइ अनि योग्यता अनुसारको कामको व्यवस्था गरिनुपर्छ । यसका लागि संविधानमा नै हामीले उत्पादन गरेको ब्रेन(नर्स)लाई ड्रेन नहोस् भनेर उचित सुविधासहितको व्यवस्था गरिनुपर्दछ । तुलनात्मक रुपमा निजीमा भन्दा सरकारीमा सेवा सुविधा राम्रो छ । तर मापदण्ड अनुसार सरकारीमा पनि नर्सिङ जनशक्तिको व्यवस्था भएको छैन ।
सह प्राध्यापक, बिन्दा घिमिरे पूर्वरजिष्ट्रार नेपाल नर्सिङ परिषद्
नर्सिङ क्षेत्रको महत्व नेपालले बुझेको छैन । निजीको कुरा छोड्दिऊ सरकारी अस्पतालहरुमै बिरामी र नर्सको अनुपातमा चाहिने जत्ति नर्स राखिएको छैन । एक जना नर्सले वार्डमा ६ जना बिरामी हेर्नपर्ने मापदण्ड छ, तर एक नर्सले ५० जनासम्म बिरामी हेर्नपर्ने बाध्यता छ । यसाे भइरहँदा गुणस्तरीय स्वास्थ्य सेवा पाउनपर्ने नागरिककाे अधिकारमा धक्का पुगिरहेकाे छ ।
यदि सरकारी अस्पतामा बिरामीको अनुपातमा नर्स राखियाे भने अहिले भएको नर्स यही नै पुग्दैन । तर नर्सलाई काम दिएको अवस्था छैन ।काम नपाएपछि जहाँ आफुलाई रोजगारीको व्यवस्था हुन्छ, त्यहाँ उनीहरु जानेनै भए । विना लगानी क्रिम मेनपावर पाउने भएपछि विदेशीले जत्ति पनि नर्सिङ जनशक्ति लैजाने चाहना राख्नु स्वभाविक हो ।
सन् २०३० सम्ममा विश्वमा ९० लाख नर्सको आवश्यक पर्ने विश्व स्वास्थ्य संगठनले बताएको छ । विदेश जानुमा पुलिङ र पुसिङ फ्याक्टर हुन्छन् । पुलिङ फ्याक्टरमा विदेशमा नर्सलाई सम्मान छ, सुरक्षा छ, जागिरको ग्यारेन्टी छ, सुविधा राम्रो छ अनि अध्ययनको पनि अवसर छ । विदेशमा काम गर्दै पढ्न पाउँछन् । जसका कारण नर्सलाई विशेदतिर तानिरहेको छ ।
अर्काे रह्यो पुसिङ फ्याक्टर, नेपालमा नर्सप्रति सम्मान छैन, उनीहरुलाई सुरक्षा छैन, पैसा छैन । उनीहरुलाई अभावै अभाव छ । जसका कारण नर्सहरुलाई विदेशतर्फ धकेलिरहेको छ । नर्सिङ पढाउने आधाभन्दा बढी कलेजहरु भन्द भएकाले अहिले पहिलाको भन्दा उत्पादन पनि कम छ । एकातिर उत्पादन कम हुने अर्काेतिर विदेश जाने बढिरहने हो भने नेपालमा नर्स संकट देखा पर्छ ।
प्राध्यापक मनकुमारी राई, अध्यक्ष नेपाल नर्सिङ संघ
अध्ययन र काम गर्न नर्सहरु विदेश जानु उनीहरुको आफ्नो स्वतन्त्रताको विषय हो तर सरकार आफैंले अन्य देशसँग सम्झौता गरेर पठाउने सम्बन्धमा भने सोच्नपर्छ । ६० प्रतिशत जति नर्स अहिले स्वदेशमै आफ्नो पेशामा सक्रिय छन् । बाँकी ४० प्रतिशत हिस्सा बेरोजगार, पेशा छाडेका र विदेश गएकाहरुको छ । बिरामीको अनुपातमा नर्स छैनन् जसका कारण गुणस्तरीय नर्सिङ सेवामा प्रश्न उठिरहेको छ ।
निजी अस्पताल, नर्सिङ होममा कार्यरत धेरै दिदि-बहिनीहरु श्रम शोषणमा छन् । उनीहरु मासिक ८ हजारमा पनि काम गर्न बाध्य छन् । हाल सरकारी सेवामा अनमी (चौथो तह)बाट सेवा प्रवेश हुन्छ । अनमीको न्यूनतम तलव २८ हजार र स्टाफ नर्सको ३५ हजार तलव रहेको छ।
कम्तिमा सरकारी सेवामा दिएको न्यूनतम तलव निजी अस्पतालले दिनपर्छ भनेर हामीले भनिरहेका छौ । नर्सलाई स्वदेशमै बस्ने वातावरणको सृजना नभए यहाँ नर्सको अभाव हुने चिन्ता छ ।
नर्सहरु आन्दोलित
श्रमशोषण र असुरक्षित भएको भन्दै बेलाबखत नर्सहरु आन्दोलित पनि हुने गर्दछन् । तलका फोटाहरु केही समय अगाडिको हो । माइतीघर मण्डलामा भेला भएर नर्सहरु आफ्नो आत्म सम्मानको लागि आवाज उठाउँदाको फोटाे हो ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक कक्षमा बिरामीको कुरुवा र नर्सबीच भएको संवादको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएपछि नर्सप्रति नकारात्मक टिप्पणी भयो, अहिले पनि त्यसको असर कायमै छ ।
बिरामीको सेवा गरिरहेका नर्सहरु आत्म सम्मानमा ठेस पुगेको भन्दै दुखी छन् । यस्ता घटना बेलाबखत भइरहेको पाइन्छ । यस्तै घटनाका कारण उनीहरु प्रश्न गरिरहेका छन् हामीले नर्स भएर गर्व गरौं कि पश्चाताप ?:
तपाईँको अभिमत