डा.बस्नेतको प्रश्न-डाक्टर हजार किसिमको विशेषज्ञ हुने, नर्सको चाहिँ एउटै ?
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उपकुलपति डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सकको जस्तै नर्सिङको पनि विशेषज्ञ पढाइ हुनुपर्ने बताउनुभयो ।
सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल(गोनान)को तेस्रो स्थापना दिवसका अवसर आयोजित कार्यक्रममा बोल्दै डा.बस्नेतले यस्तो कुरा उठाउनुभएको हो ।
गुणस्तरीय सेवाका लागि नर्सिङको विशिष्टिकृत पढाइ अत्यावश्यक भएको डा.बस्नेतको भनाइ छ ।
‘डाक्टर चाहिँ हजार किसिमको विशेषज्ञ भइसक्यो, नर्सको चाहिँ एउटै ? बस्नेतले प्रश्न गर्नुभयो, ‘अस्पताल चाहिँ मुटुको छुट्टै, फोक्सोको छुट्टै, प्रसूतिको छुट्टै, टाउकाको छुट्टै, खुट्टाको छुट्टै बन्ने नर्स चाहिँ एउटै ? एउटै पढेको नर्सले कसरी सेवा दिन सक्छ ?’
स्नातक तहमा वा स्नातकोत्तर तह कुनैबाट नर्सिङमा पनि विशेषज्ञ सेवा दिनुपर्ने आवश्यकता बस्नेतले औँल्याउनुभयो ।
विशेषज्ञताअनुसार पढाइ हुँदा सेवा गुणस्तरीय हुनुका साथै नर्सको करियर पनि राम्रो हुने उहाँको भनाइ छ । कुन विशेषज्ञता हो त्यही अनुसार सेवामा जान सजिलो हुने भएकाले अहिले जस्तौ नर्स सबैतिर दौडिनु नपर्ने बस्नेतले बताउनुभयो ।
नर्सिङमा जनरल मात्रै पढेर गुणस्तरीय सेवा हुन नसक्ने निष्कर्ष डा.बस्नेतको छ । आफ्नो क्षेत्रमा भएका कमीकमजोरी सञ्चाउनका लागि निरन्तर लागिरहने बस्नेतले गोनानलाई सुझाव दिनुभयो । वीर अस्पतालमै पनि दुई खाले नर्स रहेको उहाँको जानकारी दिनुभयो ।
एउटा थरीका नर्सको २–२ वर्षमै स्तरवृद्धि हुने र अर्काथरीको चाहिँ १० औँ वर्ष सेवा गर्दा पनि बढुवा हुँदैन । यो विभेद हटाउन आफूले पटक–पटक कुरा उठाएको उहाँको दावी छ ।
नीति निर्माणको तहमा सहभागी हुने र सरकारी सेवामा कार्यरत नर्सहरुको वृद्धि विकासका लागि ससंघको आवश्यकता रहेको नर्सिङ अधिकृत प्रा.गोमादेवी निरौलाले बताउनुभयो ।
लामो समय सरकारी नर्सिङ सेवामा रहका अवकास पाउनुभएकी सानु तुलाधरले आफूले सेवा सुरु गर्दाको अवस्थाबारे अनुभव सुनाउनुभयो । समस्या मात्रै छ भनेर नबस्न र आफना लागि आवश्यक कार्यक्रममा योजना बनाएर अघि बढ्न तुलाधरको सुझाव छ ।
गोनानकी अध्यक्ष कल्पना श्रेष्ठले बढुवामा दुर्गमको नियम राख्दा संघका काम गर्ने नर्स मर्कामा परेको बताउनुभयो । श्रेष्ठका अनुसार संघ अन्तर्गत दुर्गमको अस्पताल भनेको डडेलधुरामा मात्रै छ । सबै त्यहाँ जाने अवस्था हुँदैन । बढुवा हुन दुर्गममा काम गरेकै हुनुपर्ने प्रावधान हटाउनु पर्ने उहाँको माग छ । यस विरुद्ध अदातलमा मुद्दा समेत रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै गोननकी सचिव मित्रा देवकोटाले सकारी अस्पतालमा बिरामीको अनुपातमा नर्स एकदमै कम रहेको गुनासो गर्नुभयो । एक नर्सले ३० देखि ४० ४२ जनासम्म बिरामी हेर्नुपरेकाले अत्यावश्यक बाहेक बिरामीको थप हेरचाह गर्न सक्ने अवस्था नरहेको उहाँले सुनाउनुभयो ।
तपाईँको अभिमत