चिकित्सा शिक्षा आयोगको नयाँ निर्देशकको नाम सिफारिस गर्न समिति गठन
आगामी मंसिर ४ गते देखि रिक्त हुँदै गरेको चिकित्सा शिक्षा आयोगको चार जना नयाँ निर्देशकको नाम सिफारिस गर्न समिति गठन भएको छ ।
आयोगको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको हो । उक्त समितिमा प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहनुभएको छ ।
आयोगमा चार वटा निर्देशनालय अन्तर्गत मापदण्ड तथा प्रत्यायन निर्देशनालयमा निर्देशकको रुपमा प्रा.डा. दिलिप शर्मा ,योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयमा प्रा.डा. रमेशप्रसाद आचार्य ,परीक्षा निर्देशनालयको निर्देशक प्रा.डा. संघरत्न बज्राचार्य र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशकमा प्रा.डा. आरती (खनाल) शाह निर्देशक हुनुन्छ ।
उहाँहरुको चार वर्षे अवधी मंसिर ४ गते सकिदैछ ।
आयोगको निर्देशक बन्नका लागि योग्यता के ?
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २९ मा निर्देशकको योग्यता, नियुक्ति प्रक्रिया लगायतका विषय उल्लेख छ ।
निर्देशक हुनका लागि नाम सिफारिस समितिले निर्देंशनालय वा बोर्डको कामसंग सम्वन्धित दक्षता र कम्तीमा १५ वर्ष अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ठ व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएका व्यक्तिहरु मध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तीका लागि सिफारिस गर्ने व्यवस्था छ ।
हेल्थपाटी
तपाईँको अभिमत