पारासिटामोलको सेवनले हृदयघात हुने जोखिम
नियमित पारासिटामोल सेवन गर्दा हृदयघात तथा पक्षघात (स्ट्रोक) को जोखिम बढ्ने एक अध्ययनले देखाएको छ । एडिनबर्ग विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनमा यस्तो देखिएको हो ।
बजारमा यो पारासिटामोल वा कुनै अन्य औषधीसँग मिसाइएर विभिन्न नाममा आउने गर्छ । सर्वसाधारणले यसको प्रयोग सामान्य ज्वरो वा दुखाई हुँदा गर्ने गर्छन् ।
यस अध्ययनमा प्राप्त निष्कर्षका आधारमा चिकित्सकहरूलाई पनि यसको सिफारिस गर्दा सचेत हुन आग्रह गरिएको छ ।
अध्ययनमा ११० जनालाई समावेश गरिएको थियो । उनीहरू सबैमा अति उच्च रक्तचाप थियो । अध्ययनमा सहभागीहरूलाई पारासिटामोल नियमित रूपमा खान दिइएको थियो । विभिन्न समूहमा बाँडेर २४ घण्टाभित्र ४ पटकसम्म प्रयोग गर्न दिइएको थियो ।
सर्कुलेसन जर्नलमा प्रकाशित सो शोधअनुसार अनुसन्धाकर्ताहरूले नियमित पारासिटामोल खुवाइएका सहभागीमा रक्तचाप बढेको पाइयाे । यसले करिब २० प्रतिशत हृदयघात वा पक्षघात हुने सम्भावना वृद्धि गराएको उनीहरूले बताएका छन् ।
अनुसन्धानकर्ता प्रा. जेम्स डियरले अध्ययनबाट पारासिटामोलले हृदयघातको जोखिम बढाउने स्पष्ट भएको बताउनुभयो । ‘विश्वमा सबैभन्दा धेरै प्रयोग हुने औषधी पारासिटामोलले हृदयघात तथा पक्षघातको जोखिम बढाउने यो अध्ययनले स्पष्ट देखाएको छ ।’ उहाँले बिरामी र चिकित्सक दुवैले यसको फाइदा र पछिको असरलाई पनि हेर्नुपर्ने उल्लेख गर्नुभयो । विशेषगरी मुटुरोगीहरूले यसमा ख्याल गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत