वीर अस्पतालमा डिजिटल प्रविधिबाट जटिल शल्यक्रिया, बालिकाको नमिलेको टाउको मिलाइयो

वीर अस्पतालमा डिजिटल प्रविधिको प्रयोग गरी एक बालिकाको असामान्य टाउकोको सफल शल्यक्रिया गरिएको छ। १५ दिनअघि पहिलोपटक यस किसिमको जटिल शल्यक्रिया डिजिटल प्रविधिमार्फत् गरिएको हो ।
परम्परागत शल्यक्रिया पहिलेदेखि नै अस्पतालमा भइरहेको भएपनि उक्त बालिकाको जस्तो जटिल शल्यक्रिया चाहिँ डिजिटल प्रविधिमार्फत् पहिलोपटक गरिएको अस्पतालका ओरल एन्ड क्रेनिया–मेग्जिलोफेसियल सर्जन डा. किशोर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालिकालाई अनुहार बांगिएको देखिएपछि विभिन्न अस्पताल हुँदै कान्ति बाल अस्पताल लगिएको थियो, जहाँबाट वीर अस्पताल रेफर गरिएको थियो। शल्यक्रियामा अनुहार र निधारको भागको खप्पर निकालेर पुनः मिलाइएको थियो ।
क्रेनियोसिनोस्टोसिस भनिने यो समस्या २५ सयमध्ये एक शिशुमा देखिन्छ, जसमा टाउको असमान विकास भई मस्तिष्कमा चाप बढ्ने खतरा हुन्छ। डा. भण्डारीका अनुसार बच्चाको टाउको समयसँगै असामान्य हुँदै जान सक्छ । यो एक किसिमको रोग हो । यस्तो हुँदा बच्चाको टाउको र मस्तिष्क विकासमा जटिलता हुन्छ ।
‘टाउकोभित्र विभिन्न किसिमका कुराहरूको विकास हुनुपर्छ । तर कहिलेकाहीँ समयअगावै वा ढिलो गरी जोडिने वा बढ्ने हुन्छ’, डा. भण्डारीले भन्नुभयो, ‘यसले गर्दा हड्डी बढ्न पाउँदैन । हड्डी नबढेपछि दिमाग बढ्न पाउँदैन । यसले बच्चाको समग्र विकास क्रममा असर गर्छ ।’
यसको समयमै शल्यक्रिया नभए गम्भीर समस्या आउन सक्ने चिकित्सकहरूले बताएका छन् ।
अस्पतालमा उपचार हुने कुरा थाहा नपाउँदा पनि कतिपय बच्चाहरू उपचारको पहुँच बाहिर रहेको डा. भण्डारीले बताउनुभयो । यसका लागि सचेतना तथा जानकारी गराउन जरुरी रहेको उहाँको भनाइ छ ।
तपाईँको अभिमत