गंगालालमा पहिलोपटक ‘डबल रुट ट्रान्सलोकेसन’को अति जटिल शल्यक्रिया सफल, डाक्टर भन्नुहुन्छ पहिले आँट आएको थिएन

गत आइतबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बालमुटुरोग शल्यक्रिया युनिटका प्रमुख डा. रवीन्द्रभक्त तिमलाको नेतृत्वमा एक बालकको अति जटिल मुटुको शल्यक्रिया गरियो । कास्की घर भएका सात वर्षीय बालकको ‘डबल रुट ट्रान्सलोकेसन’ भनिने मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
डा. तिमलाको नेतृत्वमा डा. मारिशा अर्याल र डा. गौरव ठकुरीले लगातार १३ घण्टासम्मको प्रयासमा शल्यक्रिया सफल भएको हो । त्यस्तै एनेस्थेसियामा सन्दिप भण्डारी र डा. आशिष अमात्य रहनुभएको थियो ।
बिहान ९ बजेदेखि बेलुकी १० बजेसम्म शल्यक्रिया गरिएको थियो । अहिले ती बालकको अवस्था सामान्य छ । एक सातापछि आइतबार (आज) उनलाई आईसीयूबाट वार्डमा सारिएको डा. तिमलाले जानकारी दिनुभयो ।
शल्यक्रियाबारे डा. तिमलासँग सन्तोष निरा राईले छोटो कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
के हो ‘डबल रुट ट्रान्सलोकेसन’ ?
मुटुबाट निस्कने प्रमुख दुई वटा रक्तनलीहरू हुन्छन् । तिनीहरू उल्टापट्टिबाट निस्केका हुन्छन् । तिनलाई जरैबाट उखेलेर निकालेर आ–आफ्नो ठाउँमा राख्ने अर्थात् जहाँबाट निस्कनुपर्ने हो त्यहीँ राखिने शल्यक्रिया ‘डबल रुट ट्रान्सलोकेसन’ शल्यक्रिया हो ।
यसभन्दा अगाडि नेपालमा कहीँ यस्तो शल्यक्रिया गरिएको छैन । यसअघि चाहिँ ‘आर्टरी स्वीच’ भन्ने शल्यक्रिया चाहिँ गरिएको थियो ।
यो शल्यक्रिया विधि चीनमा विकसित भएको हो । चीनको बेइजिङस्थित फुवाई अस्पतालमा लगभग १५ विकसित भएको थियो । यो अति जटिल शल्यक्रिया भएकाले विश्वमै अति कम चिकित्सकले यस्तो शल्यक्रिया गर्ने गरेका छन् ।
यस्तो शल्यक्रिया गर्ने चिकित्सक चीनमा केही छन् अनि अमेरिकामा केही चिकित्सक रहेका छन् । अन्य मुलुकमा औँलामा गन्न सकिने सङ्ख्यामा चिकित्सक होलान् ।
छुट्टै तालिम लिनुपर्छ ?
यो शल्यक्रियाका लागि अर्को विशेष तालिम लिइएको हुँदैन । यो कसैले पनि तालिम दिँदैनन् । एक मिनेट वा केही सेकेन्ड नै पनि तलमाथि भयो भने ज्यान जान पनि सक्छ । अभ्यास गर्दै जाँदा गरिएको शल्यक्रिया हो । सानो हुँदै अलि जटिल, अलि जटिल हुँदै यस किसिमको शल्यक्रिया गर्न सकिने अवस्था आएको हो । भर्खरै शल्यक्रिया गर्न थालिएकाले विशेष तालिमको व्यवस्था छैन ।
पहिले सीपको कमी थियो
ती बालकलाई केन्द्रमा जन्मिएको चार/पाँच महिनामै ल्याइएको थियो । त्यहीवेला मुटुको जटिल अवस्था पत्ता लागेको थियो । उनको शल्यक्रिया त्यतिवेला नै गर्दा हुन्थ्यो । तर हामीसँग अहिले जस्तो आत्मविश्वासका साथ सीप थिएन । उहाँहरू आउने–जाने क्रम जारी नै रह्यो । हामीलाई त्यतिखेर चाहिँ बिरामीको ज्यान तलमाथि होला कि भन्ने चिन्ता थियो ।
हाल आएर थप सीप विकास भएको र सक्छु भन्ने आँट आयो । त्यही भएर यो शल्यक्रिया गर्यौँ । हामीले पाँच घण्टा लामो समयसम्म बालकको मुटुलाई रोकेर राख्यौँ । यो सम्भवतः सबभन्दा लामो समयसम्म मुटुलाई रोकेर राखिएको घटना हो ।
बिरामीको लक्षण कस्तो हुन्छ ?
अक्सिजन भएको रगत शरीरमा जानुपर्नेमा फोक्सोमा गइदिन्छ । त्यो रगत चाहिँ शरीरमा जानुपर्ने र नभएको रगत फोक्सोमा जानुपर्नेमा उल्टो भइदिन्छ । त्यसले गर्दा शरीरमा अक्सिजन पुग्दैन । त्यसो भएपछि निलो हुने, स्याँ स्याँ हुने, दम फुल्ने, तौल नबढ्ने जस्ता समस्या देखिन्छन् ।
खर्च कति लाग्छ ?
सरकारी अस्पताल भएकाले शल्यक्रियामा त्यति धेरै खर्च लाग्दैन । यस केन्द्रमा डेढ लाख खर्च भयो होला । सामानका लागि अर्को डेढ लाख लाग्यो । आइसीयूमा प्रत्येक दिन १०–१५ हजार लाग्छ ।
यही शल्यक्रिया अमेरिकातिर गर्दा त २–३ लाख डलर पर्नसक्छ । त्यहाँ यो सबभन्दा महङ्गो शल्यक्रियामा पर्छ । त्यहाँ अन्य पक्षलाई समेत मध्यनजर गरेर शल्यक्रिया गरिन्छ ।
बच्चाको स्वास्थ्य भविष्यमा कस्तो होला ?
भल्भ बिग्रेको अवस्थामा अर्को राखे पनि पछि त्यसले समस्या ल्याउन सक्ने सम्भावना बढी हुन्छ । तर सौभाग्यवश बालकको भल्भले पनि अहिले राम्रोसँग काम गरेको छ । चीनमा चाहिँ गाईँको घाँटीको नसाको रगतको भल्भ निकालेर राखिदिने गर्छन् । त्यो अवस्था नेपालमा छैन । त्यस्तो नभएपछि भएको भल्भलाई नै अलिकति ठुलो पारेर राखेका छौँ । अहिले इको गरेर हेर्दा लगभग सामान्य नै देखिएको छ ।
यसले गर्दा भविष्यमा बालकको धेरै समस्या चाहिँ आउँदैन ।
मुटुरोग भएका बालबालिकाको २.५ प्रतिशतलाई यस्तो हुनसक्छ
जन्मिएका एक प्रतिशत बालबालिकामा मुटुरोग हुन्छ । तीमध्ये २.५ प्रतिशतमा ‘डबल रुट ट्रान्सलोकेसन’ समस्या भएको हुन्छ । नेपालमा बर्सेनि ५ लाख बच्चा जन्मिन्छन् । तीमध्ये पाँच हजार जनामा मुटुरोग देखिन्छ भने २५० जनामा यस्तो रोग जन्मजात लाग्ने गरेको देखिएको छ ।
अभावका बावजुद सफल
नेपालमा आवश्यक पूर्वाधार तथा स्रोत साधन सीमित छ । यसले गर्दा जटिल शल्यक्रिया गर्न अलि जोखिम हुन्छ । तर भएको स्रोत साधनको भरपुर प्रयोग गरेर काम गरे सफल भइन्छ भन्ने सन्देश यस सफलताले दिएको छ । गर्न खोजे अभावका बिच पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने लागेको छ ।
तपाईँको अभिमत