अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेत्रज्योती संघ
पछिल्लो समय देशभर आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस)फैलिएको छ । अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ ।
अहिले आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको नेपाल नेत्रज्योति संघले जानकारी दिएको छ ।
संघ अन्तरगतका आँखा अस्पतालहरुमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले जानकारी दिनुभयो । ।
‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ’ डा.मिश्रले भन्नुभयो ।
कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसैमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन दिएको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो ।
संघका अनुसार दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्य दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, किर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगंजमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल,लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।
अकस्मात आँखा रातो हुनु,आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु , आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु जस्ता लक्षणहरु देखिन्छन् ।
हरेक वर्ष वष्र्तत्को समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएपनि यो पटक प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउँछन् । नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा।डा ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधीको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ ।
‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी आषधीको प्रयोग गर्नु हुँदैन यसले थप जटिलता निम्त्याउन पनि सक्छ’ प्राडा. लामिछानेले भन्नुभयो ।
उहाँले आँखा पाक्े समस्या बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्न र बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्न सुझाव दिनुभयो ।
कारागारका कैदी बन्दीमा पनि आँखा पाक्ने समस्या
जिल्ला कारागार घोराहिमा रहेका कैदीबन्दीहरुका पनि आँखा पाक्ने समस्या तिब्र रुपमा फैलिएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदी बन्दि रहेको घोराही कारागारमा गरिएको निशुल्क आँखा जाँचमा ६३ जनामा आँखामा आँखा पाक्ने समस्या देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत