थप ४०/४० लाख डोज फाइजर, मोर्डना र भेरोसेल खोप ल्याउने तयारी
सरकारले कोरोना भाइरस विरुद्धको खोपको कमी हुन नदिन थप ४०/ ४० लाख डोज फाइजर, मोर्डना र भेरोसेल खोप ल्याउने तयारी गरेको छ । कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्रको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै थप ४०/ ४० लाख डोज खोप ल्याउने तयारी गरेको जानकारी गराएको हो । बैठकमा मन्त्रालयले हालसम्म खोप प्राप्ति तथा आउने पाइपलाइनमा रहेको खोपबारे जानकारी गराएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले त्यसबीचमा माल्दिभ्स, क्यानाडा लगायतका देशहरुबाट पनि खोप आउने जानकारी मन्त्रालयले गराएको उहाँले बताउनुभयो ।
कोभिड रोकथाम नियन्त्रणका लागि जारी अध्यादेश निष्क्रिय भइसकेपछि समन्वय केन्द्रको पहिलो बैठक बसेको हो । साथै केन्द्रका लागि जनशक्ति र संरचना व्यवस्थापन गर्ने निर्णय भएको छ ।
यसैगरी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले खोपको अभाव हुन नदिन निर्देशन दिनुभएको छ । यो वर्षको अन्त्यसम्म खोप लगाउन योग्य सबैलाई खोप दिने सरकारको लक्ष्य प्राप्तिका लागि कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभयो ।
नेपालमा असोज मसान्तसम्म कुल जनसंख्याको एक तिहाई लगाउने लक्ष्य रहेकोमा उक्त लक्ष्य हासिल भइसकेको छ । नेपालमा कुल जनसंख्याको ३४ प्रतिशतले पहिलो डोज र २२ प्रतिशतले दुवै डोज खोप पाएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत