जाडो महिना चायापोतो बढ्ने मौसम, कसरी बच्ने ?
जाडोमा घाम सबैका लागि प्यारो हुन्छ। तर, निरन्तर घाममा बस्दा छालामा भने अल्पकालीन तथा दीर्घकालीन रूपमा विभिन्न असर देखापर्न सक्छ।
गोरो छाला हुनेले धेरैबेर घाममा बस्दा सन बर्न हुने समस्या भोग्नुपर्छ। घामकै कारण चायापोतोको समस्या पनि बढ्ने गर्छ। चायापोतोलाई मेडिकल भाषामा मेलाज्मा वा कोलाज्मा भनिन्छ। विशेष गरी महिला गर्भवती भएका बेला यस्तो दाग देखापर्ने भएकाले मेडिकल भाषामा यसलाई कोलाज्मा नाम दिइएको हो। जुन हर्मोनको गडबडीका कारणले हुन्छ भनिन्छ । तर पनि चायापोतो आउनुमा गर्भवती मात्र कारण नहुने अध्ययनबाट पत्ता लागेको छ।
छाला रोगसम्बन्धी भएका पछिल्ला अनुसन्धानले चायापोतो घामको किरणका कारण देखापर्ने पत्ता लागेको छ।
छालाको तल्लो सतहमा हुने मेलानोसाइट्स भन्ने सेलले मेलानिन भन्ने तत्व उत्पादन गर्छ।
मेलानिन घाम तथा अन्य कृत्रिम लाइटमा पनि उत्तिकै सक्रिय हुन्छ। घामको किरण अनुहारमा परेपछि मेलानिन भन्ने तत्व छालाको सतह फैलिन थाल्छ। घामले मेलानिनलाई निकै छिटो सक्रिय बनाउँछ।
धेरै कम मानिसमा मात्र घामको किरणले यो मेलानिन भन्ने तत्व सक्रिय हुँदैन र चायापोतो देखिँदैन। मेलानिन सक्रिय भएर छालाको सतह देखिएको अवस्था नै चायापोतो आएको अवस्था हो।
चायापोतोबाट जोगिन अनुहारको छालालाई घामबाट जोगाउनुपर्छ। मेलानिन आर्टिफिसियल लाइटबाट पनि उत्तिकै सक्रिय रहने भएकाले बत्ती तथा कम्प्युटरमा काम गर्दा ध्यान दिनुपर्छ। लाइटबाट छालालाई जोगाउने उपाय अपनाउनुपर्छ।
चायापोतोलाई आउन नदिन धेरैबेर घाममा नबस्ने, अनुहारको छालालाई घामबाट जोगाउने सनस्क्रिन लोसन लगाउने। एक पटक लगाएको लोसनले तीन–चार घण्टा मात्र काम गर्छ। त्यसैले दिनमा दुई–तीन पटक लोसन लगाउने।
चिकित्सकको सल्लाहमा ‘केमिकल पिर्लस’ प्रयोग गर्नुपर्छ। कहिलेकाहीँ थाइरोइड हर्मनको गडबडीले पनि चायापोतो देखिने भएकाले रोगको उपचार गर्नुपर्छ।
चिकित्सकको सल्लाहअनुसार औषधि तथा क्रिम लगाएर केही कम गर्न सकिए पनि चायापोतो पूरै हट्दैन।
डा. आनन्द नेपालसँग उमा आलेमगरले गरेको कुराकानीका आधारमा
डा. आनन्द नेपाल
तपाईँको अभिमत