आजबाट लामो दूरीका बस सञ्चालनमा, पालना गर्नुपर्ने नियमहरु

लकडाउनअघि गाउँ फर्कने बसको खोजीमा नयाँ बसपार्क पुगेका सर्वसाधारण ।
काठमाडौं । कोरोना भाइरस रोग नियन्त्रणका लागि बन्द गरिएको देशभरका सार्वजनिक सवारी साधनहरु ६ महिनापछि आजबाट सूचारु हुँदैछन् । चैत्र ११ गतेदेखि बन्द रहेका सार्वजनिक साधनहरु आजदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउन लागेको यातायात व्यवसायीहरुले बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनहरुः नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ रहेको कार्यदलले सवारी साधन सञ्चालन गर्न दिएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै सवारी साधन चलाउन तयार भएको नेपाल यातायात स्वतन्त्र मजदर संगठनका अध्यक्ष भिमज्वाला राईले जानकारी दिनुभयो ।
उहाँले आज विश्वकर्मा दिवस पनि रहेको र यस दिन सवारीधनी र मजदुरको लागि विशेष दिन भएकाले पुजा गरी सेवा सुरु गरिने बताउनुभयो ।
उहाँले स्वास्थ्य मापदण्डलाई पालना गर्दै लामोदूरी, मध्यमदूरी, छोटोदूरी र स्थानीय रुट सुचारु गर्न यातायात व्यवसायी र श्रमिकहरुलाई अपिल गर्नुभयो । उहाँका अनुसार व्यवसायीहरुले यातायात मजदुर र यात्रुका लागि मापदण्ड यस्तो तोकिएको छ । श्रमिकहरु चालक, सहचालक, परिचालक, बुकिङ कर्मचारीले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजर चालक वाहेक) लगायतका स्वास्थ्य उपकरणहरु अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ ।
सवारीको सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रुहरु राखी सरकारले तोके अनुसार साविक भाडा दरमा ५० प्रतिशत थप भाडा लिएर यात्रा गराउनु पर्नेछ । यात्रुहरुले यात्रा अवधिभर माक्स लगाएर यात्रा गर्नुपर्नेछ ।
सवारी साधनमा चढ्दा ओर्लदा र लामो तथा मध्यम दूरीको को हकमा खाना खाजा खाने समयमा भिडभाड नगरि भौतिक दूरी कायम गर्न पर्नेछ । सवारीमा चढनु अघि यात्रुलाई स्यानिटाईजरको व्यवस्था गर्नु पर्नेछ ।

तपाईँको अभिमत