साउन महिनायता १२ हजार बढीलाई डेंगु, ११ जनाको मृत्यु
पछिल्लो एक महिनामा नेपालमा १२ हजार बढीलाई डेंगु रोग लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गएको साउन महिनादेखि हालसम्म १२ हजार २१७ जनालाई डेंगु रोग लागेको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार ३०४,लुम्बिनीमा १४ सय ७९, प्रदेश १ मा ४०२, सुदुरपशिच्मा ३८०, गण्डकीमा २४५, मधेश प्रदेशमा २२३ र कर्णालीमा १८४ जनालाई डेंगु भएको स्वास्थ्य मन्त्रालयको जनाएकाे छ ।
डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुने विज्ञहरुको बताएका छन् । लामखुट्टेले डेंगु संक्रमितलाई टोकेर आफू संक्रमित हुने र यिनले अन्य मान्छेलाई टोकेर भाइरस सार्ने गर्छन्।
डेंगु संक्रमितलाई टोकेर एक पटक संक्रमित बनेपछि यसको जीवनकाल भरी लामखुट्टेको शरीरमा डेंगु भाइरस रहन्छ । यसले पार्ने अण्डा, त्यसबाट जन्मिने अर्को लामखुट्टेमा पनि डेंगु संक्रमण कायम हुन्छ ।

३० दिनको आयु हुने लामखुट्टेले आफ्नो जीवन कालमा ८०० वटा अण्डा पार्ने गर्छ । यसो भएकाले लामखुट्टेको टोकाइबाट बच्न नसके यो व्यापक फैलने खतरा हुन्छ ।
डेंगुको प्रकोप नियन्त्रणका लागि लामखुट्टेको अण्डा तथा लार्भा नष्ट गर्नुपर्ने हुन्छ ।
लामखुट्टेले जमाएर राखिएका सफा पानीमा मात्रै अण्डा पार्ने गर्छ । त्यसरी जमेर बसेका र जमाएर राखिएका पानी पोखिदिने हो भने पनि लामखुट्टेको लार्भा अण्डा तथा लार्भा नष्ट हुने विज्ञहरुकाे सुझाव छ ।
ड्रम तथा भाडाँमा भरेर राख्ने पानी, गमला तथा फूलदानीहरुमा रहने पानी, जथाभावी फालिएका प्लास्टिकमा बोलत तथा भाडाँहरुमा जमेका पानी लामुखुट्टेले फुल पार्ने मुख्य स्थान हुन् ।
साथै ग्यारेज तथा खाली ठाउँहरुमा जथभावी राखिएका टायरमा पानी जम्मा भइरहेको हुन्छ । त्यो लामखुट्टेलाई फुल पार्न धेरै उपयुक्त ठाउँ हो।
पुराना टायर लामखुट्टेको वृद्धि र डेंगु फैलाउनमा निकै ठूलो चुनौती भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारी बताउनुहुन्छ । धेरै ग्यारेजहरु भएका क्षेत्रमा डेंगुको प्रकोप समेत धेरै देखिएको उहाँको दावी छ ।
अन्य भाँडामा जमेका पानी पोख्ने, घरमा पानी राख्ने भाँडाहरु छोपेर राख्ने गरेर लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । तर पुराना टायरको व्यवस्थापन सजिलो नभएको अधिकारीको भनाइ छ।
विषादी छरेर लामखुट्टे मार्ने काम प्रभावकारी नहुने भएकाले लार्भा र फुल नै नष्ट गर्नुपर्ने उहाँको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत