स्वास्थ्य मन्त्रालयमा महिला स्वास्थ्य स्वयंसेविकाका गुनासै गुनासो
आफूहरुमाथि सरकारले विभेद र श्रमशोषण गरेको आरोप महिला स्वास्थ्य स्वयंसेविकाहरुले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गुनासो सुनाउन आएका स्वास्थ्य स्वयंसेविकाहरुले अभावै अभावका बीच पनि आफूहरुले निरन्तर सेवा दिइरहे पनि राज्यले बेवास्ता गरेको गुनासो गरेका हुन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई भेटी स्वयंसेविकाहरुले दुखेसो पोखेका छन् ।
नेपाल स्वास्थ्य स्वयं सेवि संघको अगुवाइमा मन्त्रालयमा पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरूले मन्त्री समक्ष विभिन्न माग राखे।
६० वर्ष उमेर पुगेपछि सेवाबाट विदाइ गर्दा दिइने २० हजार रुपैयाँ अति न्यून भएको स्वास्थ्य स्वयंसेविकाहरुको भनाइ छ ।

६० वर्षमाथिका महिला स्वास्थ्य स्वयंसेविकाहरुले सेवा छाड्दा पनि कुनै सेवा नपाइने गरी कार्यविधि बनाएकोमा उनीहरुको आपत्ति छ ।
१० वर्ष सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाले सेवाबाट विदा हुन चाहेमा जतिसुकै उमेरको भएपनि आर्थिक सहयोगसहित विदा गर्नुपर्ने माग स्वयंसेविकाहरूको छ ।

समय अनुसार सेवा, सुविधा बढाउनु पर्ने माग मन्त्री समक्ष राखेका छन् । २०, ३० वर्ष स्वयं सेवा गरेका हिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले व्यवास्ता गरेको गुनासो उनीहरुको छ ।
मन्त्री खापुङ ग्रामिण क्षेत्रको स्वास्थ्य सेवा सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै धन्यवाद दिनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाका लागि नीतिले मिल्नेसम्म व्यवस्था गर्न मन्त्रालय तयार रहेको आश्वासन खापुङले दिनुभयो ।
अहिलेको बजेटमा महिला स्वास्थ्य स्वयंसेविका शब्द नै कतै नसुनिएकोमा निकै दु:ख लागेको स्वास्थ्य स्वयंसेविकाहरूको गुनासो छ।

२०४५ सालदेखि नेपालमा महिला स्वयसेवीको अवधारणा सुरु भएको थियो । हाल देशभर ५२ हजार ६ सय महिला स्वयसेवी रहेको सरकारी तथ्यांक छ । बालमृत्युदर घटाउन महिला स्वयसेवीको उल्लेख्य देन रहेको छ । साथै, बालबालिकालाई भिटामिन ए, जुकाको औषधि खुवाउने देखि स्वास्थ्य जनचेतना फैलाउन उनीहरुको ठुलो भुमिका छ ।
हेल्थपाटी
तपाईँको अभिमत