स्वास्थ्य प्रणाली सुदृढ गर्न नेपाललाई विश्व बैंकको १३ अर्ब सहयोग
विश्व बैंकले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १० करोड डलर अर्थात् १२ अर्ब ९१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका निमित्त विश्व बैंकले ‘नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम’ मार्फत १० करोड डलर सहयोग गर्न लागेको हो। १० करोड डलरमा ३८ लाख डलर अनुदान हुनेछ भने बाँकी ऋण रहेको छ।
यो कार्यक्रम अन्तर्गत मूलतः कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने, स्वास्थ्य बीमा सम्बन्धी जनचेतना फैलाउने र आपत्कालीन अवस्थामा आवश्यक पर्ने स्वास्थ्य संयन्त्रको विकास गरिने छ।
विश्व बैंकले सञ्चालन गर्ने सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयनमा केन्द्रीय, प्रादेशीक तथा स्थानीय सरकारमा सञ्चालन हुँदै आएका स्वास्थ्य बीमा बोर्ड र नेपाल स्वास्थ्य क्षेत्र विकास रणनीतिक योजना २०२२–२०३०मा आधारित रहने जनाइएको छ।
यस कार्यक्रमले स्वास्थ्य सेवाको समान पहुँच वृद्धि गरी स्वास्थ्य प्रणालीको दक्षता अभिवृद्धि गर्ने, आपत्कालीन स्वास्थ्यसेवाको व्यवस्था गर्ने तथा स्वास्थ्य सेवामा दिगो लगानी बढाउने उद्देश्य लिएको छ।
यस कार्यक्रमले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा विस्तारका लागि ३८ लाख ४० हजार डलर अर्थात् ४९ करोड ५९ लाख रुपैयाँ बराबरको “हेल्थ इमर्जेन्सी प्रिपेयरनेस एन्ड रेस्पोन्स ट्रस्ट फन्ड” स्थापना गर्नेछ। जसअन्तर्गत आपत्कालीन अवस्थाको लागि आवश्यक स्वास्थ्य प्रणाली निर्माण गर्न, प्रभावित क्षेत्रमा द्रुत गतिमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सो कोषको रकम प्रयोग गर्न सकिने जनाइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत