मकै पोल्नेलाईजस्तो अर्बपतिको अतिक्रमण हटाउन कहाँ सजिलो हुन्छ मेयर साब !
कौडीको भाउमा सरकारी जग्गा हडपेर उपयोग गर्दै आएको नर्भिक अस्पतालले तत्कालका लागि छुट पाएको छ । नर्भिकले मावनताको कबजमा काठमाडौं महानगरपालिकाको २४ घण्टे अल्टिमेटमबाट छुट पाएको हो।
सरकारी जग्गामा अवैधानकि रुपमा बनाएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले सोमबार नर्भिकलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । संरचना हटाउन निर्देशन दिइएको पत्र टाँस्न महानगर प्रमुख बालेन्द्र शाह आफैँ सोमबार नर्भिक पुग्नुभएको थियो। सोमबार शाहले अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहको आग्रहलाई समेत कुनै वास्ता नगरी २४ घण्टाभित्र खाली गर्नैपर्ने अडान लिएर फर्कनुभएको थियो ।
मंगलबार दिउँसो शाह नर्भिकले निर्देशन पालना गरे-नगरेको हेर्न आफैँ जानुभएको थियो। नर्भिकले २४ घण्टामै संरचना हटाउँन सक्दैन र सकेपनि हटाउँदैन भन्ने कुरा सबैलाई थाहा नै थियो।
बालेन्द्र जतिसुकै आक्रामक भएपनि अस्पतालमा तत्काल डोजर लगाउन सक्ने कुरै भएन । अस्पताल व्यवस्थापनले सरकारसँग भएको सम्झौता देखाउँदै संरचना नहटाउने अडान लिइरह्यो । अझै त्यही अडान राखि नै रहेको छ । अन्ततः महानगर र अस्पतालका प्राविधिक टोली बनाएर अध्ययन गर्ने र त्यसले भनेअनुसारको समयमा खाली गर्नुपर्ने निष्कर्ष निकाल्दै बालेन्द्र फर्किनुभयो।
आक्रामक बालेनका अगाडि जे सहमति गरेपनि सरकारी जग्गामा अवैधरुपमा बनेका संरचना भत्काउनु पर्दैन भन्नेमा नर्भिकका व्यवस्थापकले ढुक्क देखिन्छन्। बालेन फर्कनेवित्तिकै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले बालेन तातेर मात्रै नहुने कुनै हालतमा नभत्काइने आशयको प्रतिक्रिया दिनुभएको थियो।
अस्पतालका व्यवस्थापकहरु संरचना पनि नभत्काउने र जग्गा पनि नछाड्ने भन्दै हिजैदेखि मिडियामा अन्तर्वार्ता दिँदै हिँडेका छन्।
केही समय गुजार्न पाए त्यतिबेलासम्म शक्तिकेन्द्रसँग सेटिङ मिलाइसक्ने र बालेन्द्रलाई निरीह बनाउने तयारीमा अस्पताल व्यवस्थापन लाग्ने नै छ। नर्भिकका सञ्चालकको सेटिङ मलिाउने क्षमता कति छ भन्ने कुरा २४ अना सरकारी जग्गा यति थोरै भाडामा पाउनुबाटै प्रष्ट हुन्छ। थापाथली जस्तो ठाउँमा डेढ रोपनी जग्गा मासिक ३ हजार भाडामा जो कोहीले कसरी पाउँछ र ?
ओपीडी टिकटकै ८०० रुपैयाँ लिने नेपालमै महंगोमध्येको एक अस्पतालले सहुलियतबापत यति सस्तोमा जग्गा पाएको पक्कै होइन होला।
नर्भिक अस्पतालले कर्मचारीसँगको मिलेमतोमा डेढ रोपनी भन्दा बढी सरकारी जग्गा जम्मा वार्षिक ३७ हजार भाडा तिर्नेगरी हडपेर संरचना बनाएको खुलेको छ। अस्पतालले हडपेको जग्गामा अक्सिन प्लान्ट, प्रयोगशाला लगायत बनाएको छ । यो कुरा मिडियामा आउन थालेपछि धेरैको ध्यानाकर्षण भएको थियो।
नर्भिकले अनधिकृत रुपमा हडपेको जग्गा फिर्ता गराउन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ लागि रहनुभएको थियो।
२४ घण्टे अल्टिमेटमको अडानबाट पछि हटेपछि महानगर प्रमुख बालेन्द्रले मानवीय संवेदनाका आधारमा थप समय दिइएको भनाइ राख्नुभएको छ । फेसबुकमा आफ्ना भनाइ राख्नै शाहले कानुन पालनाका लागि नर्भिकलाई समय दिइएको बताउनुभएको छ । कानुन सबैलाई बराबरी हुने अनाधिकृतरुपमा बनाइएका संरचना भत्काउनै पर्ने उहाँको भनाइ छ।
नर्भिकको विषयसँग जोड्दै सामानिक सञ्जालमा केहीले बालेनलाई भनेका छन्, शक्तिशालीहरुले गरेको अतिक्रमण सडक व्यापारीको अतिक्रमण हटाउन जस्तो कहाँ सजिलो हुन्छ र ? कृष्ण श्री नामका फेसबुक प्रयोगकर्ता ले लेखेका छन्–‘गरीबले मकै पोलेर बेच्ने ठेलागाडा उठाउन पो सजिलो छ त ! अर्बपतिहरुले गरेको अतिक्रमण हटाउन कहाँ सजिलो छ र मेयरुसाब ? ।
नर्भिकलाई समय दिइएको भन्ने बालेनको स्टाटसमा कमेन्ट गर्दै डोलु आलेमगर नाममा व्यक्तिले भनेका छन्–तत्काल भत्काउन र उठाउन मिल्ने त सुकुम्बासीहरुको टहरो र निमुखाहरूको ठेला व्यापार मात्र हो।
बालेन्द्रले महानगरका फुटपाथ व्यापारीलाई सडकबाट हटाइरहनुभएको छ। बालेन्द्रको यो कदमलाई राम्रो भन्दै धन्यवाद दिनेहरु धेरै छन् । अस्पतालको संरचना भत्काउन डोजर प्रयोग गर्नुपर्दैन हामी आउँछौँ भन्नेहरु पनि छन् । अस्पतालजस्तो ठाउँको संरचना भत्काउन २४ घण्टे अल्टिमेटम दिने र पछि हट्ने बालेनको कदम आलोकाचो देखियो भन्ने प्रतिक्रिया पनि आएका छन्।
फुटपाथमा व्यापारी गरी रोजीरोटीकाे व्यवस्था गरिरहेकाको अतिक्रमण हटाएजस्तै अर्बपतिको अतिक्रमण हटाउने काममा बालेन्द्र सफल हुन्छन् कि हुँदैनन् भन्ने हेर्नलाई केही महिना पर्खनुपर्ने देखिन्छ।
हेल्थपाटी
तपाईँको अभिमत