स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको ११औँ शिखर सम्मेलन सुरु
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको ११औँ शिखर सम्मेलन बिहीबार (आज)बाट सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को आयोजनामा राजधानीको सोल्टी होटलमा सम्मेलन सुरु भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सम्मेलनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री भट्टराईले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका अनुसन्धानले नीति निर्माणमा सहयोग पुर्याउँदै आए पनि पर्याप्त नभएको जनाउनुभयो । ‘हाम्रोमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका अनुसन्धानले नीति निर्माणमा सहयोग त पुर्याउँदै आएको छ । तर पर्याप्त छैन’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले यसैको जग बसाल्ने प्रयत्न गरेको छ भन्ने मलाई लागेको छ ।’ यसले प्रमाणमा आधारित नीतिको व्यवस्थालाई स्पष्ट समावेश गरे पनि पर्याप्त नभएको उहाँको भनाइ छ ।
उहाँले अध्ययन अनुसन्धान नीति निर्माणको मार्गदर्शन भएको उल्लेख गर्नुहुँदै आजको विश्वमा वैज्ञानिक प्रमाण र तथ्यमा आधारित निर्णयले मात्र दिगो विकासलाई सम्भव बनाउने बताउनुभयो । ‘आजको दिनसम्ममा पनि हाम्रोमा नीति निर्माणमा भोट अथवा राजनीतिले नै निर्धारण गरिरहेको छ । राजनीतिक परिवर्तनले हाम्रा नीतिमा प्रभाव पारिरहेका छन्’, उहाँले भन्नुभयो ।
मन्त्री भट्टराईले नीति निर्माणका लागि शिक्षाविद्हरू, अनुसन्धानकर्ताहरू, स्वास्थ्य विज्ञहरू सबैको सहकार्य जरुरी भएको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले एनएचआरसीले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गरेर नयाँ पुस्ताका वैज्ञानिकहरूलाई स्थान दिएकाप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले विभिन्न पुस्तामा अनुसन्धानका ढाँचाहरू सोचेभन्दा छिटो तरिकाले परिवर्तन हुँदै आइरहेको बताउनुभयो । त्यसलाई एनएचआरसीले सही तरिकाले व्यवस्थित गर्न प्रयत्न गरेको उहाँको भनाइ छ । ‘हामीले सोचे भन्दा विभिन्न पुस्तामा अनुसन्धानका डायमेन्सनहरू परिवर्तन भइरहेका छन्’, उहाँले भन्नुभयो, ‘ती विषयवस्तुलाई एनएचआरसीले सही तरिकाले औँल्याइरहेको छ । त्यसमा स्वास्थ्य, जलवायु परिवर्तन र जनसङ्ख्याको गतिशीलता छन् ।’
राष्ट्रिय योजना आयोग र एनएचआरसीले स्वास्थ्य क्षेत्रको योजना निर्माणका लागि सहयकार्य काम गर्नुपर्ने आयोगका सदस्य प्रा. डा. आरपी बिच्छाले बताउनुभयो । मुलुकले लिएको दीर्घकालिन समृद्धिको लक्ष्य प्राप्त गर्न योजना निर्माणको दायित्व आयोगले लिएको भन्नुहुँदै उहाँले सहकार्यको आवश्यकता औँल्याउनुभएको हो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. अन्जनीकुमार झाले आफू परिषद्को अध्यक्ष हुँदादेखि नै विभिन्न विषयको अनुसन्धान सुरु गरेर अनुसन्धान गर्ने परम्परा बसालेको बताउनुभयो । नेपालमा गरिएका अनुसन्धानहरू अन्तरराष्ट्रिय स्तरमा चिनाउनुपर्ने दायित्व परिषद्को रहेको बताउनुहुँदै उहाँले शिखर सम्मेलनमा प्रस्तुत गरिने राम्रा अनुसन्धानपत्रहरूलाई कोषको व्यवस्था परिषद्ले नै गरिदिनुपर्ने जनाउनुभयो ।
परिषद् ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित ११औँ शिखर सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनमा भारत, चीन, बेलायत, स्विजरल्यान्ड, जर्मनी, अमेरिकालगायत अन्य देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागिता रहनेछ ।
यसैगरी सम्मेलनमा विभिन्न १४ विधामा अवार्ड पनि वितरण गरिने बताइएको छ ।
सम्मेलन तालका :
हेल्थपाटी
तपाईँको अभिमत