'जीवनको हिसाब गर्न कसैले सहयोग गर्दैनन्, मनको तराजुमा तौलिनुपर्छ'
मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ बजारमा आएको छ। शुक्रबार काठमाडौंमा एक समारोहकाबीच डा.अनिलको पुस्तक लोकार्पण भएको छ।
हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा लेखक डा.अनिलकी आमा राज कुमारी देवीले पुस्तकको लोकार्पण गर्नुभएको हो।
कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन प्रा.डा.जगदीश अग्रवाल विशिष्ठ अतिथिका रुपमा रहनुभएको थियो।
बुबा, आमालाई वृद्धाआश्रममा राख्ने चलनविरुद्ध सही बाटोमा लैजान डा.अनिलको पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास डा.अग्रवालले व्यक्त गर्नुभयो।

पुस्तकमा निकै रोचक प्रसंगहरु रहेको र एउटा भागकै विवेचना गर्न घन्टौँ लाग्ने उहाँले बताउनुभयो।
आफ्ना विद्यार्थी समेत रहनुभएका डा.अनिललाई पुस्तक प्रकाशनका लागि अभार प्रकट गर्नुभयो। उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।
डा.राजेन्द्र समीरले पुस्तक पढ्दा आफूले कल्पना गरेभन्दा निकै फरक पाएको सुनाउनुभयो।
‘मलाई लागेको थियो डाक्टरले लेखेको किताबमा चिकित्सा शिक्षाको कुरा होला, स्वास्थ्यको कुरा होला पढ्दै जाँदा त्यस्तो भेटिँन’ डा.समीरले भन्नुभयो।
पुस्तक पढ्दै जाँदा, ती त मैरै कथा हुन् मैले पो लेख्नुपर्ने थियो भन्ने अनुभूति हुने यहाँले सुनाउनुभयो।
पुस्तक पढिसकेपछि पढ्ने व्यक्तिले आफूलाई परिवर्तन गर्न सक्ने क्षमता पुस्तकमा रहेको दावी डा.समीरले गर्नुभयो।
बुबा- आमालाई सानो–सानो खुसी दिन पनि भोलि, पर्सि भनेर थाती राख्न नहुने कुरा पुस्तकले सम्झाएको पनि डा.समीरले बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पुस्तकले पारिवारिक प्रेमको महत्व दर्शाएको बताउनुभयो।
पुस्तकको नाम जीवन्त सम्बन्धले आफ्नो र हरिवंशको सम्वन्ध सम्झना गराएको श्रेष्ठले सुनाउनुभयो।
यो पढेर आफूलाई पनि बुबाको बारेमा लेखौँलेखौँ लागेको श्रेष्ठले बताउनुभयो। डा.अनिललाई लेखकमा दर्ज भएकोमा बधाई दिनुभयो।
अर्का प्रमुख अतिथि हरिवंश आचार्यले डा.अनिलको यो पुस्तक विद्यार्थीको पाठ्यक्रममा राख्न लायक रहेको बताउनुभयो । नैतिकता सिक्नका लागि नयाँ पुस्ताले पढ्नै पर्ने भएकाले कोर्स किताबमा राखेमात्रै पढ्न बाध्य हुने तर्क उहाँको छ।
आफूपनि डा.अनिलको बिरामी रहेको सुनाउँदै उहाँले अब उहाँलाई मनोचिकित्सक लेखक भन्नुपर्ने बताउनुभयो । पुस्तकमा संयुक्त परिवारको महत्व दर्शाएकाले संयुक्त परिवारको संस्कार सिक्न निकै महत्वपूर्ण हुने सुनाउनुभयो।
पुस्तकका लेखक डा.अनिलले बुबाको मृत्युपछि दुःखको समयमा आफ्नो जीवनबारे सोच्ने फुर्सद पाएकाले पुस्तक लेख्ने प्रेरणा मिलेको जानकारी दिनुभयो।
धेरैले जीवनको महत्व बूढो भइसकेपछि अनुभूति गर्ने भएपनि आफूले त्यो भन्दा केही समयपहिला नै बोध गरेको डा.अनिलले सुनाउनुभयो।
‘हामीले जीवनमा केही पाउन केही गुमाएका हुन्छौँ, सफलता प्राप्त गर्न हामीले आफन्त, परिवार, समय, स्वास्थ्य गुमाएका हुन्छौँ। कोही कोहीले देश पनि गुमाएका हुन्छौँ’ डा.अनिलले भन्नुभयो, ‘यो सँगै जीवन पनि गुमाइरहेको हुन्छौँ। यो थहा पाउँदा धेरै ढिला भइसकेको हुन्छ।’
हाम्रो व्यवसायको हिसाब गर्न एकाउन्टेन राख्न सक्ने, नाफा घाटको हिसाब क्याल्कुलेटरले गर्न सकिने भएपनि जिन्दगीको हिसाब गर्न कसैले सहयोग नगर्ने डा.अनिलले बताउनुभयो।
‘जिन्दगीको हिसाब गर्न कसैले मद्दत गर्दैन’ डा.अलिन भन्नुहुन्छ, ‘जिन्दगीको हिसाब गर्न अन्तरमनको तराजुमा तौलिनुपर्छ। भावनात्क रुपमा गह्रुगो अनुभव हुन्छ, ग्लानी हुन्छ।’
पुस्तक आजबाट पुस्तक पसलमा उपलब्ध हुने र अनलाइनबाट समेत बुकिङ गर्न सकिने ओम फाउण्डेसनले जानकारी दिएको छ।
समीक्षा पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य ६०० रुपैयाँ राखिएको छ। लेखकको हस्ताक्षरसहित हार्डकभर र गिफ्ट ब्यागसहितको पुस्तकलाई भने १००० तिर्नुपर्ने जानकारी वितरकले दिएका छन्।
पुस्तक बिक्रीबाट आएको नाफा डा.ओम फाउण्डेसनमा र यो रकम असहाय तथा वृद्धवृद्धाका लागि खर्च गरिने डा.ओममूर्तिले जानकारी दिनुभएको छ।
हेल्थपाटी
तपाईँको अभिमत