अक्सिजन अभावले संक्रमितको मृत्यु, ७ स्वास्थ्यकर्मी निलम्बित

तस्विर: इपीए अक्सिजन नपाई मृत्यु भएका संक्रमितको शवलाई अब्बोत्ताबाद अस्पताल लैजादै
एजेन्सी । पाकिस्तानको एक अस्पतालमा समयमा नै अक्सिजन आपूर्ति नहुँदा ७ कोरोना संक्रमितको मृत्यु भएपछि अस्पतालका निर्देशकसहित ७ स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको छ ।
खाइबर शिक्षण अस्पतालका प्रवक्ता फरहाद खानले बिक्रेताले अस्पतालमा अक्सिजन ल्याउन ढिला हुँदा शनिबार ७ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । यो घटना उत्तरपश्चिम शहर पेशेवरको हो ।
प्रवक्ता खानले एएफपीलाई दिनुभएको जानकारी अनुसार समयमा नै अक्सिजन ल्याउन नसक्दा सय जना कोरोनाका बिरामीसहित २०० बिरामी प्रभावित भएका छन् ।
अस्पतालले अक्सिजन व्यवस्थापनका लागि दीर्घकालिन योजना नबनाएको र अक्सिजनको भण्डारणमा ध्यान नदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रान्तिय स्वास्थ्यमन्त्री तैमुर सलिन झाग्राले अबको ५ दिनभित्र यस सम्बन्धमा छानबिन गरि विस्तृत जानकारी दिइने बताउनुभएको छ ।
अस्पतालमा राती करिव ८ बजेतिर अक्सिजन कम भएको थाहा भएको र १२ बजेसम्म पनि अक्सिजनको व्यवस्थापनका लागि प्रक्रृया अघि नबढाइएको पाइएको स्वास्थ्यमन्त्री झाग्राले जानकारी दिनुभयो ।
‘केही कर्मचारी बिदामा थिए, केही अनुपस्थित थिए झाग्राले भन्नुभयो, ‘अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि वैकल्पिक कार्य गरिएन यतिसम्मकी आपत्कालित टोली समेत थिएन ।’
पाकिस्तानमा ४ लाखभन्दा बढी मानिसलाई कोरोना संक्रमण भइसकेको छ भने ८ हजार भन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत