नेपाललाई कोभ्याक्सले फाइजर र मोर्डना खोप दिने,बालबालिकाले पनि पाउने
बालबालिकाहरुका लागि ६० लाख डोज फाइजर खोप उपलब्ध हुने
कोभ्याससुविधाले नेपाललाई फाइजर र मोर्डना खोप पनि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले असोजदेखि चैतसम्म ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जानकारी दिनुभयो ।
सोमबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड - १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको कामको ब्रिफिङ गर्दै उहाँले आगामी चैतसम्म कोरोनाविरुद्धको ४ करोड बढी डोज खोप प्राप्त हुने प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।
उहाँले खोप लगाउन मिल्ने सबै उमेरका व्यक्तिहरुलाई पुग्ने गरि चैतसम्म ४ करोड २८ लाख ४८ हजार डोज खोप आइपुग्ने अनुमान गरिएको बताउनुभयाे ।
उहाँले असोजसम्म कोभ्याक्ससुविधा, वैदेशिक अनुदान र खरिदबाट गरी १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त हुने बताउनुभयो ।
कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट १६ लाख डोज एषे्ट्रेजेनेका खोप भदौ पहिलो सातासम्म आइपुग्ने लोहनीले जानकारी दिनुभयो ।
वैदेशिक सहायताअन्तर्गत चीन सरकारबाट १६ लाख डोज खोप साउन अन्तिम सातासम्म नेपाल आइपुग्ने लोहनीले जानकारी दिनुभयो ।
कोभ्याक्सबाट १ करोड १३ लाख डोज निःशुल्क प्राप्त हुने बताउदै उहाँले कोभ्याक्सबाटै लागत सहभागीतामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जोनसन, सिनोभ्याक्स आदि गरी १ करोड ५० लाख डोज खोप प्राप्त हुने जानकारी दिनुभयो । यसैगरी असोजदेखि चैत सम्ममा बालबालिकाहरुका लागि ६० लाख डोज फाइजर खोप पनि उपलब्ध हुने उहाँले बताउनुभयो ।
सरकारले चैतसम्म २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ। अहिलेसम्म नेपालमा १४ लाख ३० हजार ४ सय नागरिकले पूर्ण र ३४ लाख ५ हजार १५४ जनाले पहिलो डोज खोप लगाएका छन् । हाल नेपालमा कोभिशिल्ड, भेरोसिल र जोनसनको खोप प्रयोगमा आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत