मिर्गौला प्रत्यारोपणमा फड्को मार्दै नेपाल, यसरी मनाइयो विश्व मिर्गाैला दिवस
आज विश्व मिर्गाैला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मिर्गाैला रोगको क्षेत्रमा काम गर्दै आएका विभिन्न व्यक्तित्व, संघ संस्थाका प्रतिनिधि, सरोकारवालासहितको सहभागितामा विश्व मिर्गाैला दिवस मनाइएको हो।

आज बिहान समेतनामुलक र्यालीको आयोजना गरिएको थियो। रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको र्याली रत्नपार्कबाट भृकुटीमण्डप, शहीदगेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगलाशामा पुगेर समापन गरियो।


दशरथ रंगशालामा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव उपस्थित हुनुहुन्थ्यो ।
र्यालीको समापन गर्दै मन्त्री यादवले मृत्युपछि अंगदान गर्न सबैलाई सुझाव दिनुभयो । मरेर जाने शरीरका अङ्ग अरूलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने मन्त्री यादवले बताउनुभयो । आफूले पनि यसअघि नै अंगदान गरिसकेको जानकारी दिँदै मन्त्री यादवले यसले जीवनलाई सार्थक बनाउने भन्दै यस्तो पुण्य काममा लाग्न सबैलाई आग्रह आग्रह गर्नुभयो ।

‘मरेर जाँदा अरूलाई आवश्यक पर्ने अंग दान गर्दा बिग्रने केही छैन’ मन्त्री यादवले भन्नुभयो, ‘ब्रेन डेथ भएको अवस्थामा निकालिएको अंग ले धेरैको जीवन बचाउन सक्छ।’
मिर्गाैला रोगको उपचारमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी, मिर्गाैला रोगको क्षेत्र काम गरिहेका संघ, संस्था, अस्पतालका प्रतिनिधि, मिर्गाैला प्रत्यारोपित व्यक्तिहरु, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

अंग प्रत्यारोपितको समूह र चिकित्सक, स्वास्थ्यकर्मीको समूहबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो । अंग प्रत्यारोपितको समूहले ४–१ गोलले मैत्रीपूर्ण फुटबल प्रतियोगिता जित्न सफल भयो ।


पछिल्लो एक वर्षमा मिर्गाैला प्रत्यारोपणको क्षेत्रले ठूलो फड्को मारेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय प्रत्यारोपण केन्द्रका साथै अन्य अस्पतालहरुमा पनि प्रत्यारोपणले गति लिएको डा.श्रेष्ठले बताउनुभयो ।

यस पटक विभिन्न ९ भन्दा बढी संघ–संस्थाले एकसाथ विश्व मिर्गौला दिवसको कार्यक्रम आयोजना गरेका थिए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टरले एकसाथ यो दिवस मनाएका हुन् ।

मस्तिष्क मृत्युपछिको अंगदानका लागि सहयोग पुर्याउने अस्पतालका प्रतिनिधिको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको संयोजक राष्ट्रिय प्रत्यारोपण केन्द्रकी बरिष्ठ मिर्र्गाैला रोग विशेषज्ञ डा.कल्पना कुमारी श्रेष्ठ रहनुभएको थियो ।

कार्यक्रमको संरक्षक राष्ट्रिय राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा।पुकार चन्द्र श्रेष्ठ, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन डा.दिव्या सिंह शाह र बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले रहनुभएको थियो ।







हेल्थपाटी
तपाईँको अभिमत