चैत मसान्तभित्र सम्पूर्ण नेपालीले कोरोना खोप पाउनेछन् : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले चैत मसान्तसम्ममा सम्पूर्ण नेपाली कोरोना विरुद्धको खोपको पहुँचमा आउने अनुमान गरेको छ । छिमेकी देशहरुबाट प्राप्त अनुदान, कोभ्याक्ससुविधाबाट आउने खोप र नेपाल सरकारले किनेर ल्याउने खोप परिणामका आधारमा मन्त्रालयले चैत मसान्तभित्र सबै नेपालीले खोप पाउने प्रक्षेपण गरेको छ ।
खोप तथा संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि भइरहेका प्रयासबारे भइरहेका गतिविधिबारे मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ती निकालेर जानकारी दिनुभएको हो । नेपालमा अनुदानबाट र खरिद गरि हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको जानकारी विज्ञप्ति माफर्त पौडेलले दिनुभएको छ । हाल कोभिशिल्ड, भेरोसेल र जोनसनको खोप प्रयोग भइरहेकोे छ ।
भारत सरकारको अनुदानबाट नेपाली सेनालाई सहित १ लाख, सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख, तथा गाभी कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज गरि कुल २४ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भएको छ ।
यसैगरि चीनबाट २ पटक अनुदानमा १८ लाख डोज तथा नेपाल सरकारबाट साईनोफार्म कम्पनिसँग गरिएको खोप खरिदको सम्झौता अनुसार २०७८ आषाढ २४, श्रावण ७, ८, १० र १५ गते प्राप्त ४० लाख डोज गरि कुल ५८ लाख डोज भेरोसेल खोप आपूर्ति भएको छ ।
यस्तै अमेरिकाबाट अनुदानमा प्राप्त जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल भित्रिसकेको छ । स्वास्थ्य मन्त्रालयले असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने आँकलन गरेको छ ।
मन्त्रालयका अनुसार असोज मसान्तसम्म साईनोफार्म कम्पनिसँग कुल ६० लाख डोज खोप खरिदको सम्झौता अगाडी बढिसकेको र कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज र भारतबाट खरिदको बाँकी १० लाख डोज प्राप्त हुनेछ । यसैगरी कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरि १ करोड ५० लाख डोज र १२ वर्ष माथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रुपमा कार्य अगाडी बढिरहेको मन्त्रालयले जानकारी दिएको छ ।
गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसख्याको लागि १ करोड १३ लाख डोज प्राप्त हुदै जाँदा चैत्र मसान्तसम्म सम्पूर्ण नेपालीहरुको पहुँचमा खोप पुग्ने विश्वास मन्त्रालयको छ ।
तेस्रो लहरको तयारी
तेस्रो लहरको चर्चा चलिरहेका बेला मन्त्रालयले उपचारात्मक सेवा विस्तारका लागि हाइ डिपेन्डेन्सी युनिट बेड देशभरका सरकारी अस्पतालहरूमा २०७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा रहेको र १४०० थप गर्ने प्रक्रिया अगाडी बढेको जनाएको छ ।
भेन्टिलेटरहरुको संख्या ९०४ पुर्याइएको छ भने १८० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयको भनाइ छ । बालबालिकाहरूका लागि १८० भेन्टिलेटर सहितको २५० आई.सी.यु. बेड थप्ने कार्य अगाडी बडाउनुका साथै अक्सिजन आपुर्ति सुदृढका लागि ५५ सय वटा अक्सिजन कन्सट्रेटर ल्याइसकेको र थप ३५ सय वटा आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी ६ हजार ३ सय ७७ अक्सिजन सिलिण्डर थप गरिएको र यसका अतिरिक्त १९ वटा अक्सिजन प्लाण्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत २ वटाको कार्य सम्पन्न भइसकेको, ४ वटाको प्रकृया सुरू भएको र १० वटाको सूचना प्रकाशित गरिएको जानकारी मन्त्रालयले दिएको छ ।
तपाईँको अभिमत