अब १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने
सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफ्नो कार्यकाल १०० दिन पुरा भएको अवसरमा मन्त्रालयमा आयोजन गर्नुभएको पत्रकार सम्मेलनमा माघ २७ गतेदेखि लागू हुने गरि उक्त निर्णय भएको जानकारी दिनुभयो । उहाँले नजिकैको खोप केन्द्रमा गई बुस्टर डोज लगाउन सकिने बताउनुभयो ।
यसअघि ६५ वर्षमाथिका व्यक्ति र दीर्घ रोगका बिरामीहरुलाई मात्रै बुस्टर डोज दिइँदै आएको थियो । साथै उहाँले ५ देखि ११ वर्ष उमेरसम्मका व्यक्तिका लागि पनि खोपको सनिश्चितता भइसकेको जानकारी पनि दिनुभयो ।
उहाँले २०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको भन्दै माघ २७ गते सम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा र ६९ प्रतिशत जनसंख्यालाई पूर्ण खोप प्रदान गरिएको विवरण सुनाउनुभयो ।
हालसम्म नेपालमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज मात्रा भित्रिएकोमा ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप प्रयोग भइसकेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
२४ लाख डोज खोप हराएको भनेर चर्चा भइरहेको सन्दर्भमा उहाँले उक्त खोप नहराएको र खोप लगाएको र खेर गएको मात्राको तथ्यांक संस्थागत हुन नसकेको स्पष्ट पार्नुभयो । यद्यपि यसबारे अध्ययन गर्न समिति बनिसकेको र उक्त समितिले अध्ययन गरिरहेकाले अबको २४ दिनमा विस्तृत विवरण सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत