नर्सिङ शिक्षा : किन घटिरहेका छन् बीएन र एमएन पढ्ने नर्सहरू ?(भिडियो)
पछिल्ला दिनहरुमा बिएन (स्नातक) र एमएन(स्नातकोत्तर) तहको अध्ययनमा नर्सहरुको आकर्षण घटिरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । २०७९/८० मा चिकित्सा शिक्षा आयोगले स्नातक तहमा छुट्याएका मध्ये झण्डै ५० प्रतिशत सिट खाली रह्यो। १३१० मध्ये ६९३ जनामात्रै भर्ना भए ।
पिसिएल (स्टाफ नर्स) को र बीएन तथा एमएन नर्सिङ जनशक्तिको सेवा सुविधा एउटै रहेकाले स्नातक र स्नातकोत्तर तहप्रति आकर्षण घटिरहेको मोडेल हस्पिटल स्कुल अफ नर्सिङकी प्रिन्सिपल सुमिता पाठकको विश्लेषण छ ।
‘पहिला बीएन र एमएन पढ्न हानथाप हुन्थ्यो तर अहिले ती तहका सिट खाली छन् । पाठकले भन्नुभयो, बीएन गरेपनि स्टाफ नर्स पाचौँ तहकै काम गर्नुपर्छ अनि सो सरहकै तलब पाइन्छ । साथै, लोकसेवा आयोगको विज्ञापनमा माथिल्लो तहको नर्सिङ जनशक्तिका लागि माग गरिदैन । अनि किन पढ्न खोज्छन् ? उच्च शिक्षा ।’
नेपालमा माथिल्लो तहमा अध्ययन गर्न खोजे जागिरबाटै हात धुनपर्ने अवस्था छ, भन्नुको अर्थ पढ्दै काम गर्न सकिने अवस्था छैन । त्यसैले पनि उच्च तह अध्ययनका लागि नेपालभन्दा विदेशनै रोज्ने प्रवृति बढेको छ, पाठकले सुनाउनुभयो ।
साथै उहाँले निजी अस्पतालमा नर्सहरु माथि श्रम शोषण भइरहेको बताउनुभयो । केही नर्सिङ जनशक्तिले आकर्षक सेवा सुविधा पाइरहेको भएपनि समग्रमा नर्सिङ जनशक्तिलाई दिइने पारिश्रमिक अत्यन्तै कम रहेको उहाँले बताउनुभयो । कम्तिमा पाचौ तहका नर्सलाई सरकारले उपलव्ध गराइरहेको तलव उपलव्ध गराउन निजी संस्थालाई बारम्बार भनिएपनि त्यसो हुन नसकिरहेको उहाँले बताउनुभयो ।
नेपालमा खाजा खानसमेत नपुग्ने तलवमा काम गर्न बाध्य हुन परेपछि पछिल्लो समय नर्सहरु विदेश जाने क्रम बढेको उहाँको भनाइ छ । स्वास्थ्य संस्थाहरुले आकर्षक तलव नदिने अनि अनुभवकै लागि भएपनि केही समय थोरै पैसामै काम गरौं भन्ने बाध्यताले गर्दा अहिले निजी अस्तालहरुमा नर्सिङ जनशक्ति टर्न ओभर भइरहेको उहाँले बताउनुभयो । टर्नओभर हुँदा अस्पतालको सेवाको गुणस्तरमा असर पुग्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार अध्ययन गरिसकेपछि विदेश जान कामको अनुभव चाहिने भएकाले पनि कतिपय नर्स दिदिबहिनी, दाजूभाईहरु बाध्यतावस कम तलवमा काम गरिरहनु भएको छ । कसैले कम तलवमै काम गर्दै जाने र नयाँ अवसरको खोजी गर्ने गरेको पाइएको छ । स्वदेशमा योग्यता अनुसार काम नपाएपछि विदेश जाने क्रम पनि बढ्दो छ ।
नेपालमै बसेर सेवा गर्छु भन्ने प्रण बोकेर पढेका नर्सहरु देशको हालत देखेर उनीहरुसमेत विदेश जाने क्रम बढिरहेको छ । लोकसेवाको विज्ञापन खुलाउँदा बिएन र मास्टर्स पढेकाहरुलाई हुने गरि खोलाइदैन । योग्यता र सीपअनुसार काम नपाएपछि उनीहरु बेरोजगार बस्नुपरेको छ, जसले उनीहरुलाई फ्रस्टेनमा पुर्याएको छ । चिकित्सा शिक्षा आयोग, सिटिईभिटीको नर्सिङ काउन्सिल, विश्वविद्यालयबीच देखिरहेको कार्यक्षेत्राधिकारमा अन्यौलको असर नर्सिङ पढछु भन्नेहरुमा परिहेको छ ।
कोभिडपछि नर्सलाई फ्रन्टलाइनर भनी चिनाएको र यसपछि ग्लोबल मार्केट डिमाण्डका कारण बाहिर नर्सको माग अत्याधिक बढीरहेको उहाँको बुझाइ छ ।
नेपालमा वर्षेनी ७ हजारको हाराहारीमा नर्सको उत्पादन हुने गरेको छ । हाल नेपालमा १ लाख १५ हजारबढी नर्स नर्सिङ काउन्सिलमा दर्ता छन् । यसमध्ये ३३ हजारबढीले विदेश जान भेरिफिकेसन लेटर लिइसकेका छन् । यसै सन्दर्भमा हेल्थपाटी विशेष नेपालमा नर्सिङङ शिक्षा र यसको अवसरबारे वहस गरेका छौ ।
हेल्थपाटीका लागि जगन्नाथ ढकालले मोडेल हस्पिटल स्कूल अफ नर्सिङका प्रिन्सिपल सुमिता पाठकसँग कुरा गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत