अति लत बसाल्ने दुई औषधिमाथि भारतले लगायो प्रतिबन्ध
भारतले दुई थरी औषधिमाथि प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार अति नै लत बसाल्ने किसिमका ओपिओइड भएका औषधि रहेको पत्ता लागेपछि प्रतिबन्ध लगाइएको हो ।
बीबीसीले गरेको एक अनुसन्धानले पश्चिम अफ्रिकाका केही भागमा सार्वजनिक स्वास्थ्य सङ्कटका जिम्मेवार दुई थरी अति नै लत बसाल्ने किसिमका ओपिओइड भएका औषधि रहेको पत्ता लगाएपछि भारतीय अधिकारीहरूले तिनलाई प्रतिबन्ध लगाएका हुन्।
भारतका औषधि महानियन्त्रक डा. राजीव सिंह रघुवंशीले ती औषधिको उत्पादन तथा निर्यातको इजाजतपत्र फिर्ता गरिएको बताइएको छ ।
बीबीसी आईले एक औषधि कम्पनी एभिओले टापेन्टाडोल र कारिसोप्रोडोलका हानिकारक मिश्रण अवैध रूपमा घाना, नाइजिरिया र कोट डिभोरजस्ता देशमा निर्यात गरिरहेको फेला पारेको थियो।
भारतको खाद्य एवं औषधि व्यवस्थापन निकायले मुम्बईस्थित उसको कारखानामा छापा मारेको र त्यहाँ रहेका बाँकी औषधि जफत गरिएको जनाएको छ।
टापेन्टाडोल एक शक्तिशाली ओपिओइड हो भने कारिसोप्रोडोल चाहिँ अति नै लत बसाल्ने किसिमको ‘मसल रिल्याक्स्यान्ट’ हो, जो युरोपमा प्रतिबन्धित छ।
के छन् दुष्प्रभाव ?
कारिसोप्रोडोलको प्रयोग अमेरिकामा गरिन्छ तर एकदमै छोटो समय करिब तीन साताका निम्ति मात्र। उक्त औषधि सेवन गर्न छाड्दा डर लाग्ने, निद्रा नलाग्ने अनि भ्रम पैदा हुने जस्ता दुष्प्रभाव हुने गर्छन्।
ती दुई औषधिको मिश्रणको प्रयोग गर्न भने संसारमा कतै पनि इजाजत छैन किनकि तिनले श्वासप्रश्वासमा कठिनाइ उत्पन्न गर्ने, ‘सिजर’ हुने र बढी मात्रामा लिँदा ज्यान नै जाने हुन सक्छ।
जोखिमका बाबजुद पश्चिम अफ्रिकी देशहरूमा यी ओपिओइड निकै चल्तीमा छन् किनकि ती सस्ता र सजिलै उपलब्ध छन्।
हेल्थपाटी
तपाईँको अभिमत