क्षयरोग नियन्त्रणमा चुनौती : राष्ट्रिय क्षयरोग कार्यक्रमको समीक्षामा नियन्त्रणको नयाँ रणनीति खोजिदै

क्षयरोग नियन्त्रणमा चुनौती रहेको राष्ट्रिय क्षयरोग कार्यक्रमको समीक्षामा रहेका सहभागीले बताएका छन् । मंगलबार राजधानीमा राष्ट्रिय क्षयरोग केन्द्रले सात प्रदेशका सरोकारवालालाई समेटेर थालेको समीक्षा कार्यक्रममा सहभागीहरूले नियन्त्रणमा चुनौती रहेको बताएका हुन् ।
विश्वव्यापी प्रतिवेदनअनुसार नेपालमा हरेक वर्ष ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने अनुमान गरिएको छ । तर, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गत वर्ष ४० हजार ७७६ मात्र नयाँ सङ्क्रमित पत्ता लगाएको छ। यसले लक्ष्य प्राप्तिमा चुनौती रहेको देखिएको हो ।
काठमाडौँमा सुरु भएको दुई दिने समीक्षा गोष्ठीमा यस समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ। केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले क्षयरोग नियन्त्रणका लागि राष्ट्रिय रणनीतिक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले २०३५ सम्म महामारी अन्त्य र २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य राखिएको तर अहिलेकै अवस्थामा सो लक्ष्य प्राप्त गर्न मुस्किल हुनसक्ने बताउनुभएको हो ।
लक्ष्य प्राप्तीमा चुनौती आर्थिक अभाव भएको उहाँको भनाइ छ । सरकार र साझेदारी तथा दातृ संस्थाहरूले यस क्षेत्रमा छुट्याउँदै आएको रकम घटाउन थालेकाले लक्ष्य प्राप्तीमा चुनौती थपिएको उहाँले बताउनुभयो ।
गत वर्ष पत्ता लागेका बिरामीमा ६१ प्रतिशत पुरुष, ३९प्रतिशत महिला र ८.६ प्रतिशत बालबालिका थिए। धूम्रपान, कुपोषण, मधुमेह, एचआईभी जस्ता जोखिम कारकहरू प्रमुख छन्।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले योजना अनुसार काम गर्न जोड दिनुभयो । कार्यक्रमको उद्घाटन गर्न पुग्नुभएका देवकोटाले क्षयरोगमा १ अर्ब बढी बजेट रहेको भन्दै आर्थिक अभाव नहुने बताउन्ुभयो । ग्लोबल फण्डले रकम कटौती गर्दै गए पनि नेपाल सरकारले बजेट बढाउँदै गएको भन्दै योजना बनाएर नयाँ नयाँ काम गर्नु पर्ने उहाँको भनाइ थियो ।
उहाँले काममा अलि बढी तदारुकता र रणनीतिक हुन समेत निर्देशन दिनुभयो ।
सात प्रदेशका प्रतिनिधिहरूको सहभागिता रहेको यो कार्यक्रमले क्षयरोग नियन्त्रणमा नयाँ रणनीति बनाउने अपेक्षा गरिएको छ। कार्यक्रम बुधबारसम्म चल्नेछ ।

तपाईँको अभिमत