वीरमा सेवाग्राहीले अनलाइनबाट टिकट लिदैनन्, घण्टाै लाइनमा
वीर अस्पतालमा विगत एक वर्षदेखि अनलाइन मार्फत ओपीडी टिकट लिन पाउने व्यवस्था भएपनि अधिकांश सेवाग्राहीले सो सुविधा उपयोग गरिरहेका छैनन् ।
सेवाग्राहीले अनलाइन मार्फत टिकट लिए उनीहरु लाइनमा बसिररहन पर्दैन । अनलाइनबाट टिकट लिएपछि बिरामी सिधै डाक्टर भेट्न मात्रै अस्पताल पुगे हुन्छ तर टिकटकै लागि सेवाग्राहीहरु विहान ६ बजेदेखिनै लाइनमा हुन्छन् ।
अस्पतालले २०७९ मंसिर २ गतेदेखि बिरामीको टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको थियाे । यो सेवाको लागि मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गरी एपबाटै टिकट काट्ने र आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् । मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेपनि अपेक्षाकृत रुपमा सेवाग्राहीले यसकाे उपयाेग गर्न सकेका छैनन् ।
घण्टौंसम्म लाइनमा बसेर टिकट लिनुपर्ने झण्झटबाट बिरामीलाई मुक्ति दिलाउन अस्पतालले यो प्रविधिको लागू गरेकाे थियाे ।
सेवाग्राहीको सहजताका लागि अस्पताल परिसरमा बुथ स्थापना गरी एपबारे जानकारी दिन २ जना कर्मचारी खटाइएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति प्राडा.भुपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेवाग्राहीहरुले अनलाइनमार्फत टिकट नगन्य मात्रामा लिने गरेका छन् । एक प्रतिशत सेवाग्राहीले मात्रै अनलाइन मार्फत टिकट लिने गरेको पाइएको उहाँले बताउनुभयो । अनलाइन मार्फत टिकट लिए भोलीपल्ट ओपीडी बुक डाक्टरकै कोठामा हुने उहाँले बताउनुभयो । अनलाइन मार्फत टिकटकाे सुविधा रहेकाेबारे धेरैलाई थाहा नभएकाे र थाहा पाईहालेपनि प्रविधि प्रयाेगबारे जानकार नहुँदा अतिकमले मात्रै अनलाइन टिकटकाे सुविधा लिने गरेकाे टिप्पणी निमित्त उपकुलपति बस्नेतले गर्नुभयाे ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले हाल वीरमा विरामीको चाप बढेको बताउनुभयो । उहाँका अनुसार वीरमा दैनिक करीब २२ सयदेखि २५ सय जनाले ओपीडीबाट सेवा लिने गरेका छन् ।झण्डै ५ सय जनाले आकस्मिक सेवा लिने गरेका छन् ।
साथै, दैनिक ५० देखि ६० वटा अपरेशन भइरहेको छ भने , ४० -५०जनाकाे इन्डोस्कोपी, ६०-७० जनाकाे इको हुने गरेको छ । निर्देशक डा. पौडेलले अहिले वीरमा सरसफाइ, बगैंचा निर्माण, प्रतिक्षालयको व्यवस्थापन लगायतका आधारभुत काम भइरहेको बताउनुभयो । उहाँले अस्पतालमा अपरेशन, आइसियू र आकस्मिक सेवालाई थप सहज र व्यवस्थित बनाउने काममा केन्द्रित रही काम भइरहेको बताउनुभयो ।
वीर अस्पतालको नयाँ सर्जिकल भवनमा ५५ वटा आइसियूको व्यवस्था रहेको छ । जसमा ९ वटा आइसियू कोभिडका बिरामीका लागि छुट्याइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत