मेरुदण्डको क्षयरोगले जान सक्छ ज्यान, कसरी थाहा पाउने ?(भिडियो)
टीबी अर्थात क्षयरोग भन्नेवित्तिकै धेरैले फोक्सोमा मात्रै हुन्छ भन्ने बुझेका हुन्छन्। तर नेपालमा मेरुदण्डमा टीबी देखिने समस्या पनि धेरै रहेको वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.समाज गौतमले बताउनुभयो।
हेल्थपाटीसँगको कुराकानीका क्रममा गौतमले फोक्सोपछि टीबीको किटाणुले सबैभन्दा बढी असर गर्ने अंग मेरुदण्ड नै रहेको जानकारी दिनुभयो।
फोेक्सोमा देखिने टीबी नै अन्त गएर संक्रमण हुने उहाँको भनाइ छ।
हाम्रो जस्तो देशमा रहेको व्यक्तिमा टीबीको किटाणु शरीरमा रहिरहेको हुनसक्ने डा.गौतमले बताउनुहुन्छ। ‘हाम्रो शरीरमा पनि टीबीको कीरा हुन्छन् र कुनैबेला शरीरमा पोषण पुगेन, तनाव भयो, कुनै हर्माेनमा सन्तुलन बिग्रियो, रोगसँग लड्ने क्षमता कम भयो भने टीबी फैलिन्छ’ गौतमले सुनाउनुभयो, ‘कतिपय रुपमा फोक्सोबाट कीटाणुको प्रभाव देखिन्छ। कतिपय अवस्थामा मेरुदण्डबाट देखिन्छ।’
मेरुदण्डमा टीबी देखिँदा बिस्तारै समस्या देखिने भएकाले अस्तपाल आउँदा बिरामीहरू ढिलो गरी आउने समस्या देखिएको उहाँ बताउनुहुन्छ।
उहाँका अनुुसार हड्डीमा टीबी भएमा खाना खान मन नलाग्ने, ज्वरो आउने, पसिना आउने, थकाइ लाग्ने र सँगसँगै ढाड पनि दुख्ने हुन्छ। ज्वरो आउने र ढाड दुख्ने समस्या दिउँसोमा भन्दा राति बढी हुन्छ।
यस्तो समस्या भयो भने मेरुदण्डको टीबी होकि भन्ने शंका गरेर परीक्षण गराउन उहाँको सुझाव छ।
मेरुदण्डको टीबीको परीक्षण गर्दा फोक्सोको टीबीको पनि परीक्षण गर्नुपर्ने डा.गौतम बताउनुहुन्छ। डा.गौतमका अनुसार फोक्सोबाटै मेरुदण्डमा सर्ने भएकाले फोक्सोमा पनि देखाएको हुन्छ। कुनै बेला फोक्सोमा असर नदेखाएर मेरुदण्डमा मात्रै असर देखाउन पनि सक्छ।
खकारसँगै सुरुमा छातीको एक्सरेबाट परीक्षण गरिन्छ। त्यसबाट शंका लाग्यो भने एमआरआइ गरिन्छ। त्यहाँबाट सानो मासु निकालेर परीक्षण गरेपछि टीबी होकि होइन थाहा हुन्छ।
नसामा असर गरेको छैन भने फोक्सोको जस्तै निश्चित समय औषधि खाएपछि ठिक हुन्छ। नसामा असर गरेको अवस्था देखियो भने अप्रेसन गरेर उपचार गर्नुपर्छ।
मेरुदण्डको टीबीलाई वेवास्ता गरियो भने भित्रको स्पाइनलकर्डमा समस्या हुने, पक्षघात हुने र ज्यानै जाने अवस्था आउने डा.गौतमले बताउनुभयो।
टीबी भयो भनेर डराउनु आवश्यक नभएको तर यसलाई बेलैमा निमूल पार्न आवश्यक रहेको उहाँको भनाइ छ। ‘टीबी भयो भन्दैमा डराइहाल्नु पर्दैन। स्वास्थ्य संस्थामा निशुल्क औषधि उपलब्ध छ’ डा.गौतम भन्नुहुन्छ, ‘औषधि खाएर निको पार्न सकिन्छ। बेलैमा पत्ता लगाएर उपचार गर्नुपर् यो।’
ढाड दुख्नु वा ज्वरो आउनु सामान्य समस्या मान्ने गरेकाले मेरुदण्डको टीबी भएका बिरामीहरू धेरै समस्या भएपछि मात्रै अस्पताल आउने गरेको डा.गौतमले जानकारी दिनुभयो।
फोक्सोको टीबीलाई अलग गरेर हेर्दा अन्य सबै अंगमा देखिने टीबी ५० प्रतिशत र मेरुदण्डमा देखिने ५० प्रतिशत जस्तो हुने जानकारी पनि डा.गौतमले दिनुभयो।
ढाड दुख्ने ९० प्रतिशतलाई 'पोस्टर इम्ब्यालेन्स'को समस्या
ढाड दुखेर वा ढाडको समस्या भएर अस्पताल आउने ९० प्रतिशतमा कुनै ठूलो समस्या नुहने डा.गौतमले बताउनुभयो। उहाँका अनुसार हामीले दैनिक गर्ने गतिविधिमा सन्तुलन नमिल्दा ढाड तथा हड्डी/जोर्नीहरूको समस्या देखिन्छ। लवाइ, खवाइ, हिँडाइ, सुताइ नमिल्दा ढाड दुख्ने समस्या उत्पन्न हुन्छ।
‘१०० जना मान्छे ढाड दुखेर अस्पताल गए भने ९० जना यही पोस्टर इम्ब्यालेन्सका कारण हुने गर्छ’ गौतमले भन्नुभयो, ‘उनीहरूलाई कुनै स्वास्थ्य समस्या हुँदैन।’
शरीरका कुनै पनि भागलाई लामो समयसम्म असन्तुलनमा राखेर वा कुनै भागलाई बढी बोझ पर्ने गरी काम गर्दा पोस्टर इम्ब्यालेन्सको समस्या हुने गौतमले बताउनुभयो।
जस्तो सुताइकै क्रममा पनि कुनै हड्डीलाई एकापट्टी बोझ पर्ने गरी सुत्दा दुख्ने समस्या हुन्छ। लामो समय निहुरिएर केही गरिरहँदा घाँटीमा समस्या हुन्छ। पछिल्लो समय निहुरिएर धेरै समय मोबाइल, ल्यापटप हेर्दा घाँटीको समस्या भएर आउने बिरामी पनि धेरै हुने गरेको उहाँले जानकारी दिनुभयो।
यस कारण सुत्दा, बस्दा वा कुनै काम गर्दा लामो समय एउटै आसनमा नरहन डा.गौतमको सुझाव छ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा.समाज गौतमसँग हेल्थपाटीका लागि तुलसा घिमिरेले गर्नुभएको कुराकानी भिडियोमा हेर्न सक्नुहुन्छ।

हेल्थपाटी
तपाईँको अभिमत