क्षमता हुँदा पनि ठूला अस्पतालले व्यवस्था गर्न सकेनन्, भुँइमै संक्रमितको उपचार
काठमाडौं । देशभर कोरोना संक्रमितका लागि बेड र अक्सिजनको चरम अभाव भइरहेको छ । काठमाडौं उपत्यकाका धेरैजसो निजी अस्पतालले अक्सिजन अभावको कारण देखाउँदै संक्रमित भर्ना लिन नसक्ने बताइसकेका छन् ।
संक्रमित बिरामीको अस्पतालका बरण्डामा, भुँइमा, कतै कुर्सीमा उपचार भइरहेको छ । तर काठमाडौं उपत्यकाका ठूला अस्पतालहरूमा प्रशासनले कोभिड उपचारका लागि व्यवस्थापन नगर्ने अनि बेड छैन भन्ने गरेको आरोप सुनिन थालेको छ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रसूती अस्पताल, निजामती कर्मचारी अस्पताल तथा मेडिकल कलेजहरूमा व्यवस्थापन गर्न नजान्दा अहिले बेड अभावको समस्या देखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन्।
ती अस्पतालहरूमा कोभिड उपचारका लागि व्यवस्थापकले बेडको व्यवस्थापन गर्न नसक्दा बाहिर कुर्सीमा, भुँइमै संक्रमित राखेर उपचार गर्नु परिरहेको ती अधिकारीको भनाइ छ । 'भुँइमा, कुर्सीमा राखेर अक्सिजन दिइ उपचार चलिरहेको छ । त्यही अक्सिजन अस्पतालभित्र बेडमा राखेर दिँदा बिरामीलाई सहज हुन्थ्यो तर अस्पतालले बेडको व्यवस्थापन गर्न सकिरहेका छैनन्' उहाँले भन्नुभयो।
वीर अस्पतालमा ६ सय संक्रमितको उपचार गर्ने क्षमता भएकोमा हाल ४०० जनाको उपचार भइरहेको छ । यस्तै शिक्षण अस्पतालमा ६६० जनासम्म उपचार गर्ने क्षमता छ । यसैगरी प्रसुती अस्पतालमा २०० जनाको उपचार गर्ने क्षमता छ तर अहिले ती अस्पतालमा ४०–४५ जना संक्रमितको मात्रै उपचार भइरहेको छ । देशका मेडिकल कलेजहरूमा ५००-५०० बेड कोभिडका लागि छुट्याउन सक्छन् तर त्यहाँ पनि त्यसो हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।
हेल्थपाटी
तपाईँको अभिमत