उपचार नभएको बाथ सबैभन्दा खतरनाक(भिडियो)
विज्ञहरूका अनुसार अहिलेसम्म २०० भन्दा बढी थरीका बाथरोग पत्ता लागेका छन् । शरीरको रौँदेखि खुट्टासम्म सबै अंगमा बाथरोग देखा पर्ने बाथरोग तथा प्रतिरक्षा विशेषज्ञ डा.राममृष्ण गिरी बताउनुहुन्छ ।
बिरामीलाई सबैभन्दा बढी असर गर्ने बाथरोग कुन हो त ?
उपचार नभएको बाथ व्यक्तिका लागि सबैभन्दा खतरनाक हुने डा.गिरी बताउनुहुन्छ । सामान्य अंगमा देखिएको बाथ पनि बेलैमा उपचार नभए त्यसले व्यक्तिलाई धेरै समस्या बनाउने हेल्थपाटीसँगको कुराकानीमा डा.गिरीले जानकारी दिनुभयो।
जटिल अंगमा देखिएको बाथ भए पनि बेलैमा उपचार हुँदा त्यो ठूलो समस्या नबन्ने उहाँको भनाइ छ ।
हाम्रो प्रतिरक्षा प्रणालीले बाटो बिराउँदा बाथरोग देखिन्छ । कसलाई कुन कारणले बाथरोग देखियो भनेर ठ्याक्कै भन्न गाह्रो हुन्छ।
तर पनि बाथ देखिन सक्ने विभिन्न कारण रहेको डा.गिरीले सुनाउनुभयो । उहाँका अनुसार कसैको परिवारमा बाथ छ भने त्यो परिवारका अन्य व्यक्तिलाई बाथ देखिने समस्या बढी हुन्छ।
कोही व्यक्ति ठूलो दुर्घटना पर्यो, अंगभंग भयो भने पनि प्रतिरक्षा प्रणालीमा गडबडी भएर बाथ हुन्छ ।
अर्काे वातावरणी प्रभावले पनि बाथ गराउन भूमिका खेल्छ । प्रदूषण, कुनै रसायनहरुको प्रभाव जस्ता कारणले प्रतिरक्षा प्रणालीमा समस्या भएर बाथ रोग देखापर्छ ।
कतिपय अवस्थामा कुनै रोगको उपचारका लागि औषधिहरू खाँदा प्रतिरक्षा प्रणालीमा गडबडी भएर पनि बाथ हुन्छ । विगतमा कुनै ठूलो सक्रमण भयो र त्यो सँग लड्न हाम्रो प्रतिरक्षा प्रणालीले अध्याधिक बल लगाउनु पर्ने भएको खण्डमा पनि बाथरोग देखा पर्नसक्ने डा.गिरीको भनाइ छ ।
प्रतिरक्षा प्रणालीलाई सही बाटोमा ल्याएर उपचार गरिन्छ । यो रोगलाई नियन्त्रणमा राखे सामान्य व्यक्ति जस्तै जीवन यापन गर्न सकिने उहाँ बताउनुुहुन्छ ।
बाथरोगले जोर्नीहरुमा समस्या भएर त्यसले काम नगर्ने, अपांग बनाउने हुन्छ।
यो हृदयघात, मस्तिष्कघात जस्तो तत्काल मृत्यु गराउने घातक रोग नभए पनि धेरै दुख: दिएर जीवन तहस-नहस बनाउने रोग रहेको डा.गिरी सुनाउनुहुन्छ । यो रोग लागेको थाहा हुँदाहुँदै पनि उपचार नगर्नू मूखर्ता रहेको उहाँको भनाइ छ।
बाथरोथका कारण प्रजनन् क्षमतामा पनि असर गर्ने डा.गिरीले जानकारी दिनुभयो । बाथरोग लागेर यसको उपचारमा प्रयोग हुने औषधिको कारणले पनि गर्भ नरहने समस्या हुने उहाँ बताउनुहुन्छ ।
डा.गिरीका अनुसार यो मात्रै नभएर प्रतिरक्षा प्रणालीमा अन्य कारणले गडबडी हुँदा पनि प्रजनन् क्षमतामा असर गर्छ ।
लक्षण नहुने तर समान्य अवस्थामा गर्भ नरहँदा, गर्भ रहे पनि खेर गइरहनु बाथरोगको कारण पनि हुनसक्ने उहाँले जानकारी दिनुभयो ।
बाथरोग भएका व्यक्तिले रोग नियन्त्रणमा नआइकन गर्भ धारण गर्न नहुने डा.गिरीको सुझाव छ।
बाथरोगको नियमित औषधि खाएका व्यक्तिले नियन्त्रण भएको अवस्थामा मात्रै गर्भधारण गर्दा राम्रो हुन्छ ।
बाथरोग नियन्त्रण गर्नका लागि कडा खालको औषधि प्रयोग गर्नुपर्ने हुनसक्छ । बाथरोगका लागि प्रयोग भइरहेका औषधि पनि गर्भधारणका लागि अनुकूल नहुन सक्ने उहाँले जानकारी दिनुभयो । यस कारणले बाथरोगको उपचार गराइरहेका महिलाले गर्भधारण गर्नुपर्यो भने आफूले उपचार गराइरहेका चिकित्सकसँग सल्लाह लिन डा.गिरीको सुझाव छ ।
डा.गिरीका अनुसार नेपालमा युवा महिलामा ढाडको बाथ धेरै छ । अधबैँसे महिलामा गठे बाथ र प्रजनन् उमेरका महिलामा लुपस बाथ धेरै देखिन्छ।
जुनसुकै खालको बाथरोग भएपनि जतिसक्यो छिटो उपचार सुरु गर्न डा.गिरीको सुझाव छ । उपचार गर्न जति ढिलो भयो, त्यति त्यसले शरीरलाई हानी गर्छ । उपचार ढिलो गर्दा लामो समय औषधि खानुपर्ने हुन्छ । सामान्य औषधिले हुनेमा कडा औषधि प्रयोग गर्नुपर्ने पनि हुन्छ । लामो समय उपचार गुर्नपर्दा आर्थिक भार समेत धेरै पर्ने डा.गिरी बताउनुहुन्छ ।

हेल्थपाटी
तपाईँको अभिमत