सार्क राष्ट्रका मनोचिकित्सकहरुको सम्मेलन काठमाडौंमा सुरु, मानसिक स्वास्थ्य प्रवर्द्धनको बहस
काठमाडौंमा सार्क राष्ट्रका मनोचिकित्सकहरुको सम्मेलन सुरु भएको छ । मानसिक स्वास्थ्य प्रवद्र्धन र विकासका लागि सार्क राष्ट्रहरुबीच सहकार्य र समन्वय भन्ने नाराका साथ २ दिनसम्म चल्ने सम्मेलनमा सार्क राष्ट्रका ३ सय जना मनोचिकित्सकहरुको सहभागिता रहेको छ । नेपालमा १८० जना मनोचिकित्सकहरु सहभागी छन् । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक स्वास्थ्यमा भएका विभिन्न अनुसन्धनात्मक कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।
सम्मेलनका साइन्टिफिक कमिटीका अध्यक्ष तथा त्रिभूवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस, मानसिक स्वास्थ्य विभागका प्रमुख प्रा.डा.सरोज वझाले सार्क राष्ट्रका मनोचिकित्सकहरुको सम्मेलनमा मानसिक स्वास्थ्य प्रवद्र्धन र मानसिक स्वास्थ्यबारे जनताको सकारात्मक धारणा विकास गर्ने सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो ।
यी देशहरुमा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि भए गरेका काम र उपलब्धीबारे छलफल गरिनेछ र एक अर्का देशबीचको ज्ञान,सीप र अनुभव साझेदारी गरिनेछ । उहाँका अनुसार नेपालमा मानसिक स्वास्थ्य सम्बन्धमा नकरात्मक बुझाइका रहेका कारण उपचारको पहुँचमा कम बिरामीहरु रहेका छन् ।
नेपालजस्ता विकासोन्मुख देशका ९० प्रतिशत मानसिक रोगीहरु उपचारको पहुँचमा नरहने गरेको उहाँले बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य उपचार सेवाला प्राथमिक स्वास्थ्यकेन्द्रदेखि विशिष्ठकृत अस्पतालसम्म पुर्याउनपर्नेमा जोड दिनुभयो ।
उहाँले कडा खालको मानसिक रोगका बिरामीको मौलिक हक सुनिश्चित गर्न मानसिक स्वास्थ्यलाई कानुनमै व्यवस्था गरिनुपर्ने बताउनुभयो । मनोचिकित्सकहरुको सम्मेलन नेपालमा भएको यो तेस्रो पटक हो । यसअघि १० वर्ष पहिला नेपालमा सम्मेलन भएको थियो ।
सम्मेलन सुरु हुनु अगाडि प्रोफेसर डा.नर्मन सार्टोरियसले नेपालका युवा मनोचिकित्सकलाई मानसिक स्वास्थ्य प्रवद्र्धन र प्राथमिकतामा राख्न नेतृत्वदायी भूमिका वहन गराउन ३ दिने तालिम दिनुभएको छ । सोटोरियसले विश्वमा माानसिक स्वास्थ्यको महत्व बुझाउन महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
साथै सार्क साइक्याट्रिक फेडरेशनको आगामी कार्यकाल (२०२३ -२०२५) अध्यक्षमा प्रोफेसर डा.सेचा वीलियम्सले सम्हाल्नुहुने भएको छ । हाल (२०२१ - २०२३) को अध्यक्ष डा.गौतम शाहा रहनुभएको छ ।
विश्वका ८४ प्रतिशत मानसिक बिरामी उपचारको पहुँच बाहिर छन् ।
हेल्थपाटी
तपाईँको अभिमत