४० लाख डोज चिनियाँ खाेप ‘भेरोसिल’ किन्ने सरकारकाे निर्णय
काठमाडौं । नेपाल सरकारले चीनको सिनोफर्म कम्पनीले विकास गरेको भेरोसिलको ४० लाख डोज खोप खरिद गर्ने भएको छ । सरकारले मन्त्रीपरिषद् बैठकमार्फत् कोरोना विरुद्धको खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ ।
४० लाख डोज खोपबारे सम्भवत सरकारका प्रवक्ताले आजै औपचारिक रुपमा जानकारी गराउने गर्ने एक मन्त्रीले जानकारी दिनुभयो । उक्त खोप साउन महिनाभित्रमा ल्याइसक्ने सरकारको योजना छ ।
नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन ।
अन्य कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्ताव अनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको हो ।
यद्यपि नेपालको कानूनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति दिँदैन ।
कोभिड–१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले हिजो कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै खाेप खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएकाे थियाे। त्यस लगतै बसेकाे मन्त्रीपरिषद् बैठकले ४० लाख डोज खोप खरिद गर्ने निर्णय गरेकाे हाे ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत