काठमाडौंमा १ लाख १० हजार २६३ किशोरीलाई एचपीभी खोप दिइने
काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर(एचपीभी ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ।
आइतबार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. वसन्त अधिकारीले आगामी माघ २२ देखि फागुन ५ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियान १ हजार १८६ वटा विद्यालयमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौं महानगरमा खोप लगाउनेको संख्या धेरै रहेको छ । महानगरमा मात्रै ४ सय ८८ वटा विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप लगाइने छ ।
१५ दिन सञ्चालन हुने अभियानमा देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९०० किशोरी लाभान्वित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको देखिएको छ ।
बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले सिकोलिन खोपले एचपीभी प्रजाती १६ र १८ बाट हुने संक्रमणलाई रोक्ने बताउनुभयो । नेपालमा पाठेघरको मुखको क्यान्सरका १६ देखि १८ प्रजातिका कारणबाट हुने संक्रमण धेरै देखिएको छ ।
एच.पिभी खोप गर्भवती किशोरी, विगतमा कुनै खोप लगाउँदा गम्भीर एलर्जी प्रतिक्रिया भएको व्यक्ति, विगतमा कुनै खोप लगाउँदा एनाफाईलेक्सिस प्रतिक्रिया भएको व्यक्तिले लगाउन मिल्दैन ।
खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिँगटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता प्रतिकुल असरहरु देखिन सक्छ ।
राष्ट्रिय खोपमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी भ्याक्सिन’ समावेश भइसकेको छ।
सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो।
हेल्थपाटी
तपाईँको अभिमत