श्रीमानकाे कुटाइको उपचार गर्दा क्यान्सर भएकाे थाहा भाे !
श्रीमान अस्मिन भट्टराईको कुटाईको पिडा निको नभएपछि अस्पताल पुगेकी मेरी दिदी राधालाई अस्पतालले एक महिनाको मात्र समय दियो । जन्मेदेखी एउटा सिटामोलसम्म नखाएकी दिदीलाई मृत्युको मितिनै तोकिँदा कति पीडा भयो होला,त्यो शब्दमा ब्याख्या गर्न कठिन छ ।
काठमाडौको न्यूरोडमा रहेको हनुमान ढोका सहकारीका ब्यवस्थापक अस्मिन भट्टराईसँग लगनगाँठो कसिएपछि दिदीका सबै सुख चयनहरु च्याँपिदै र साँघुरिँदै गए । हजुरबुबा, हजुरआमा, बुवाआमा, दिदीभिनाजु सबैले केटालाई स्विकारेका थिए, केटा हेर्दा खाइलाग्दो, काठमाडौँको हनुमान ढोका बहुउदेश्यीय सहकारी संस्था न्यूरोड पशुपति प्लाजामा व्यवस्थापकको काम गर्ने ।
यत्तिको सक्षम केटासँग राधाको जीन्दगी सहज हुन्छ भन्ने सबैको अपेक्षा थियो । आफन्तसँग केटी हेर्न आएका अस्मिनले पनि केटी मन पराए। केटा–केटीको चित्त बुझेपछि विवाह संस्कार सुरु हुनु पूर्व गरीने जनैसुपारी अगाडि फेरि हाम्रो हजुरबुबाले पटक पटक सोध्नुभयो ‘केटी मन नपरेको भए, बिहे गर्न मन नभए समयमै भन्नु है बाबु, पछि अप्ठ्यारो परे नराम्रो हुन्छ ।’ तर अस्मिनले पटक /पटक मन परेर आफूखुसी बिहे गर्न लागेको बताइरहे ।
फागुन २९ गते जनै सुपारी गरेर ३० गते स्थानीय मन्दिरबाट बिहेवारि सकियो । बिहे लगत्तै राधालाई पनि लिएर उनी काठमाडौँ हानिए । बिहे गरेकै केही दिनपछि अस्मिनको असली रूप राधाले थाहा पाइन्, राधालाई बुवाआमाको करमा बिहे गरेको भन्दै मानसिक र शारीरिक रूपमा चरम यातना दिन थालेछ अस्मिनले । श्रीमानको कुटाईबाट थला परेकी मेरी दिदी राधा विसन्चो भएपछि अस्पताल पुगीन्, उनलाई छाती (स्तन)मा दुख्थ्यो । अस्मिनले राधाको छातिमा लात्ति प्रहार गरेछन् ।
सुरुमा त कुटाइकै दुखाईको भन्ने महसुस भएको थियो तर दुखाई सन्चो नभएपछि कान्तिपुर जनरल अस्पताल बसुन्धरामा एक पटक जचाँउने कुरा भयो । रेनुका दिदी त्यही काम गर्ने भएकाले पनि सहज हुन्छ भनेर हामीले त्यही जचाउने निधो गरेका थियौ ।
राधाका श्रीमानलाई मैले धेरै सम्झाउने कोसीस नगरेको पनि होइन । बुवा आमा र घरपरिवारलाई थाहै नदिई किन सम्बन्धमा दरार आयो ? यदी मेरी दिदीको गल्ती भए के हो भन्नुस् भन्दा उनी सधै मौन बस्ने गर्थे ।
दिदीलाई रातदिन पिटेर यातना दिने गरेको अस्मिनले राधाको उपचार गर्लान् भनेर हामीले सोचेका थिएनौ । उनको बाटो कुर्नू भन्दा राधाको पिडा कम गर्नु हाम्रो मुख्य जिम्मेवारी थियो । अहिले दिदीको बारेमा लेख्दै गर्दा, मेरो हात लग्लग् कापीरहेछ । आज उनी यो संसारमा छैनन् तर उनका याद र उनले सुनाएका र देखाएका घाँउहरु मेरो मानसपटलमा ताजै छ । पिडा असह्य भएपछि राधाले अस्मिनको परीवारमा सल्लाह गरीन् अनि हामीले उनलाई कान्तिपुर अस्पताल लिएर गयौ । पहिला सामान्य भनीएपनि स्तनमा देखिएका गिर्खा अपरेसन गर्नुपर्ने भयो ।
डाक्टरले अप्रेसन गरेपछि बायोप्सीका लागी पठाउनुपर्ने भन्नुभयो । बायोप्सी रिपोर्टमा राधालाई क्यान्सरको पुष्टि भयो । हामी छाँगाबाट खसेजस्तै भयौ । रिपोर्ट आइसक्दा पनि हामीलाई पत्यार लागिरहेको थिएन । एकातिर हिंसा अर्को तर्फ क्यान्सर यो सुन्दा हामी माथी आकासनै खसेजस्तो सकस भयो ।
क्यान्सर भएको विश्वास नगरेका हामीले पुन निक्र्यौल गर्न दिदीलाई हामीले उपचारका लागि भारतको दिल्ली लग्यौ तर नतिजा बद्लिएन, स्टेज चौथो । राधालाई दिल्ली लिएर जानुभएका बुवा मुर्छीत हुनुभयो । बुवा समालीदै हुनुहुन्थ्यो, केही थाहा नपाएकी मेरी दिदी किमो सुरु गर्ने भन्नासाथ चिच्चाएर बुवालाई अंगालो हालेर रुदै मरे पनि म आमाकै काखमा मर्छु भनेर रोइकराई गरिछन् ।
बुवाले दिदीलाई सम्झाउदै किमो लगाएपछि निको हुने आस्वासन दिनुभयो । दिदी भनि किमो लगाउन राजी भई । त्यपछि विगत दुई बर्ष सम्म भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा तिन /तिन महिनामा फलोअप गर्ने क्रम चलीरहेको थियो । मेरी दिदी मृत्युको शैयामा छट्पटाइरहँदा यता सम्बन्ध विक्षेदको मुद्धा पनि चलिरहेको थियो । उपचार पश्चात पनि मेरी दिदी सम्बन्ध विच्छेदका लागि धाइरहीन् ।
अदालतले अस्मिनकै नाममा स्टे अर्डर जारी पनि गर्यो तर कार्यान्वयन भएन । निरन्तर धम्क्याइ रह्यो । राधाले बिहेपछि नियमित गर्दै आएको पत्रकारितालाई बिट मारेकी थिइन तर निरन्तर डाक्टरको सल्लाह र औषधि उपचारले राधा तंग्रदै पनि थिइन । त्यबिचमा रोकीएको रेडियो पत्रकारीता फेरी सुरु गरीन् । यतिमात्र कहाँ हो र ? क्यान्सरको उपचारसँगसगै दिदीले नयाँ यात्रा पनि तय गरिन्, त्यो यात्रा थियो हिंसा विरुद्ध र क्यान्सरबारे सचेतनाको ।
गाउँ - गाउँ महिला हिंसा विरुद्धको आवाज बुलन्द पार्दै क्यान्सरबारे राधा सचेतना जगाउदै हिड्न थालिन् । कहिले जनचेतनामुलक कार्यक्रम, कहिले अदालत, कहिले अस्पताल र श्रीमानले दिएको यातनाका कारण राधा शारीरिक रुपमा कमजोर हुनु स्वभाविकै थियो तर उनको मानसिक अवस्था भने निकै बलियो थियो ।
अदालतको स्टे अर्डर नमान्ने अनि अस्मिनले प्रदेश सांसदकी श्रीमति र आफुलाई अभियान्ता भन्न रुचाउने इन्दीरा पन्तको समर्थनमा निकै दबाब दिन थाल्यो । इन्दीराले कावासोतीमै पुगेर अस्मिनलाई छोडिदेउ भन्दै दवाब दिन थालिन्, महिला हिंसा विरुद्ध बोल्नुपर्ने ठाउँमा इन्दिराले अपराधको साथ दिएकी थिइन् । आफु नेकपाको ठुलै नेता र बागमती प्रदेश सांसदको श्रीमति भन्ने परीचय दिएर जसरी पनि अस्मिनलाई छ्टकारा दिनुपर्ने बताएकी थिइन ।
अन्ततः राधाले अस्मिनलाई डिभोर्स दिइन्, त्यसपछि हामीले धेरै सपना बनाएका थियौ । राधाले संचालन गरेकी राधा क्यान्सर सचेतना फाउन्डेसनलाई अगाडी बढाउने योजना बनाएका थियौ तर विश्वभर फैलीएको कोभिड महामारीका कारण नेपालमा पनि लकडाउन भयो ।
लकडाउनको समयमा सबै अस्पतालहरु बन्द भए । त्यही बेला राधालाई पेट दुख्ने र बान्ता हुने लक्षण देखियो, यो क्रम रोकीएन । काठमाडौका विभिन्न अस्पतालमा लगियो तर अन्तिम स्टेज भएकाले राधाको स्वास्थ्यमा सुधार हुन सकेन । अन्ततः गत कात्र्तिक १४ गते मेरी प्यारी दिदीले हामी सबैलाई छाडेर गइन् ।
राधा,तिमी भौतिक रुपमा हामी माझ छैनौ तर तिमीले हरेक संघर्षलाई जीवितै छाडेर गएकी छौ । मृत्युको मिति तोकिदासमेत तिमी जुरुक्क उठ्दा हाम्रा लागि प्रेरणाको स्रोत बन्यौ । तिमीले पत्रकारीतालाई निरन्तरता दियौ, हाम्रै लागि सामाजिक संस्था चलायौ, गाउँ गाउँमा पुग्यौ र हाम्रै लागि केही अक्षर नासो छाडेकी छ्यौ ।
तिम्रो नासो हामीले सुरक्षित गर्नुछ,राधा । तिम्रो जगमा हामीले इट्टा बसाउने कोसीस गरेका छौ । मेरी दिदी जस्तै नेपालमा हरेक दिन क्यान्सरका कारण ४५ जनाको मृत्यु हुने गरेको छ भने वर्षमा २६ हजार क्यान्सरका बिरामी थपिन्छन् । नेपालमा हुने कुल मृत्युको ९ प्रतिशत कारक क्यान्सर रहेको पाइएको छ । क्यान्सरबाट हुने मृत्युलाई कम गराउने प्रयासमा राधाले सञ्चालन गरेको फाउण्डेशनलाई हामी अझै उचाँइमा पुर्याउनेछौ ।
प्रकाश बस्याल
तपाईँको अभिमत