स्वास्थ्यमा जिम्मेवारी हेरफेर : जुनियरलाई हाकिम बनाउँदा कार्य सम्पादनमा असर (भिडियो)
स्वास्थ्य सेवामा कर्मचारीको जिम्मेवारी दिने प्रचलन विवादास्पद रहेको गुनासो धेरैको रहने गरेको छ । आफू भन्दा धेरै जुनियर कर्मचारीलाई आफू भन्दा माथि ल्याएर नियुक्ति दिँदा काम गर्न असहज हुने गरेको गुनासो यस क्षेत्रका व्यक्तिहरुको छ ।
निजामति कर्मचारीतर्फ कार्यालय तथा शाखा प्रमुखको जिम्मेवारी त्यहाँ भएमध्ये सबैभन्दा सिनियरलाई नै दिने प्रचलन छ । तर स्वास्थ्य सेवामा यो लागू हुँदैन ।
धेरै अस्पताल, कार्यालय, विभाग, महाशाखा, शाखामा अहिले पनि धेरै सिनियर कर्मचारीहरु जुनियरको अण्डरमा बसेर काम गरिरहेको देखिन्छ ।
यसो हुँदा कर्मचारीको मनोबल कमजोर हुने र काम लगाउन र गर्न समेत कठिन हुने गुनासो छ ।
स्वास्थ्य सेवाको १२औँ तहसम्म पुगेर सेवा निवृत्त हुनुभएका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा.जागेश्वर गौतमले पनि यो समस्याको राम्रो अनुभव गर्नुभएको छ ।
जागेश्वर गौतम २०५२ सालमा स्वास्थ्य सेवामार्फत सरकारी सेवामा प्रवेश गर्नुभयो । सरकारी जागिरेको धेरै समय आफुले ग्रामीण क्षेत्रमा बिताएको उहाँ दाबी गर्नुहुन्छ । स्त्री तथा प्रसुती रोगमा विशेषज्ञता रहेको उहाँ २०७१ सालमा प्रसुती गृहको निर्देशक बन्नुभयो । २०७५ सालमा उहाँ फेरि प्रसुती गृहको निर्देशक बन्नुभयो । २०७७ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाउनुभयो । २०७८ सालमा जतिबेला कोभिड उत्कर्समा पुगेको थियो,वीर अस्पताललाई युनिफाइड केन्द्रिय अस्पतालमा रुपान्तरण गरिएपछि त्यहाँको निर्देशकको जिम्मेवारी सम्हाल्नुभयो ।
त्यसपछि २०७९ सालमा उहाँलाई वीरबाट फेरि प्रसुती गृहमै लगियो तर जुनियरको मुनि । २ २ पटक प्रमुख भएर सम्हालेको स्थानमै जुनियरको तल जिम्मेवारी दिएपछि उहाँलाई काम गर्न असहज भयो । जसका कारण केही समय बिदामा बसी २०७९ जेठमा राजीनामा दिनुभयो । जबकी उहाँको अवकास पाउने समय ३ महिनामात्रै बाँकी थियो ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशक रहनुभएका उहाँ स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुँदै, कोभिड युनिफाइड अस्पताल(वीर)को निर्देशक बन्नुभयो । वीरको निर्देशकबाट हटाएपछि उहाँलाई पुनः प्रसूति अस्पताल नै पठाइयो । तर आफू भन्दा जुनियर व्यक्तिको अण्डरमा काम गर्ने गरी । त्यसपछि उहाँले अवकास पाउने केही समय बाँकी हुँदै सरकारी सेवाबाट अलग हुने निर्णय गर्नुभयो ।
जति नै ठूलो पोष्टमा पुगेपनि सिनियरको व्यवहार सिनियर नै र जुनियरको जुनियर नै हुने डा. गौतम बताउनुहुन्छ ।
‘जुनियरले सिनियरलाई काम लगाउन पनि असहज हुने र सिनियरलाई पनि जुनियर हाकिमले अह्राएको काम गर्न अप्ठेरो हुन्छ’ डा.गौतम भन्नुहुन्छ, ‘आठौं, नवौं तहको कर्मचारीलाई ११औं तह भएको स्थानमा हाकिम बनाउने चलन छ । यसले नैराश्यता उत्पन्न गराउँछ र गुणस्तरीय सेवा प्रवाह गर्न सक्दैन।’
स्वास्थ्य मन्त्रालय छिरेपछि मन्त्री र सचिवहरुले आफू अनुकुलका मान्छेलाई नेतृत्व दिन जुनियरलाई हाकिम बनाउने अभ्यास रहेको उहाँ बताउनुहुन्छ।
जहिले मन लाग्यो तहिले, जहाँ मन लाग्यो त्यही जिम्मेवारी दिने व्यवस्थाले स्वास्थ्य सेवाको स्तर कहिल्यै राम्रो नहुने ठहर डा.गौतमको छ।
‘यस्तो प्रवृत्तिले सेवाग्राहीहरु उनीहरुको गुणस्तरीय सेवाको अधिकारबाट वञ्चित हुन्छन् । राम्रो काम गर्ने डाक्टरहरु कोपभाजनमा परिरहेका छन्’, उहाँ भन्नुहुन्छ ।
जिम्मेवारी दिँदा क्यालेण्डर बनाएर र निश्चित योगदान गरेपछि निश्चित पोस्टसम्म पुगिने निश्चित हुने डा. गौतम बताउनुहुन्छ । त्यसका लागि मापदण्ड बनाउँदा प्रभावकारी हुने उहाँको भनाइ छ ।
‘भोलि म यो ठाउँमा पुग्छु भनेर खुसी भएर काम गर्न सक्छ, सन्तोषजनक रुपमा काम पुरा गर्छ’ गौतम भन्नुहुन्छ, जिम्मेवारी बोध हुन्छ, सेवा राम्रोसँग प्रवाह गर्न सक्दछ।’
जिम्मेवारी फेर्नु आवश्वक भएको तर फेर्दा स्तरअनुसारको जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ छ । ‘कामै गर्न नसक्ने गरी कुर्सि टेबल नै नदिई सिध्याउनु हुँदैन’ गौतम भन्नुहुन्छ, ‘जहिले पायो तहिले जहाँ मन लाग्यो त्यहाँ पठाउनु हुँदैन।’
आफू हाकिम भएर काम गरेको ठाउँमा फेरि सोही केन्द्रमा जुनियर भएर काम गर्दा दोहोरो केन्द्रजस्तो हुने डा. गौतमको अनुभव छ।
‘पहिला हाकिम भएको व्यक्तिलाई नयाँ हाकिमले सोही स्थानमा काम लगाउन पनि अप्ठेरो हुन्छ’ गौतम सुनाउनुहुन्छ, ‘पहिलाको हाकिम अलि बढी स्वतन्त्र हुन्छ र उसले दिनसक्ने काम पनि दिन सक्दैन।’
कसले कसलाई भोट हाल्यो भन्ने विषय हेर्ने भन्दा पनि कुन कर्मचारीको क्षमता के छ भन्ने आधारमा जिम्मेवारी दिनुपर्ने डा.गौतम बताउनुहुन्छ ।
‘देशको आवश्यकताअनुसार कर्मचारीहरु सरकारी सेवामा काम गरिरहेका हुन्छन् । यो कुरा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले बुझ्नपर्ने विषय हो ।’ उहाँ भन्नुहुन्छ ।
०००
प्लाथोलोजिस्ट डा.रुना साढे ४ वर्ष राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक रहनुभयो । स्वास्थ्य सेवाको ११औँ तहमा उहाँ भन्दा सिनियर २–३ जना मात्रै छन् । गत कार्तिकमा डा.झालाई प्रयोगशालाको निर्देशकबाट हटाएर त्यही कार्यरत डा. राजनराज भट्टलाई नियुक्त गरियो । डा. झालाई त्यही दोस्रो व्यक्तिको जिम्मेवारीमा राखियो । भट्ट पनि ११औँ तहकै कर्मचारी हुनुहुन्छ । तर डा. झा भन्दा निकै जुनियर हुनुहुन्छ ।
जुनियरको अण्डरमा बसेर काम गर्न खासै समस्या नभएको डा. झाले बताउनुभयो । जिम्मेवारीबाट हटाएपछि त्यसै ठाउँमा दोस्रो व्यक्ति बनाएर राख्नुको सट्टा अर्कै ठाउँमा पठाएको भए हुने भन्ने अपेक्षा भने डा. झाको छ ।
आफ्नो मुख्य योग्यता भनेको एमडी डिग्री भएकाले जुनसुकै जिम्मेवारीमा पठाएपनि त्यसबाट तल झार्न कसैले सक्दैन भन्ने बुझाइ डा.झाको छ ।
अहिलेका निर्देशक आफ्नै विद्यार्थी भएकाले काम गर्न खासै असहज नभएको डा. झा सुनाउनुभयो ।
'व्यक्तिगत रुपमा कुनै कठिनाइ भएको छैन । निर्देशकज्यू मेरै विद्यार्थी हुनुहुन्छ’, डा.झा सुनाउनुहुन्छ, ‘निर्देशक हुँदा पनि त्यस्तो ठूलो मान्छे भए जस्तो लागेको थिएन । तर सिस्टमको हिसाबले केही नमिलेको जस्तो अनुभव चाहिँ भइरहेको छ।’
एउटै तहको कर्मचारी हुँदा एउटालाई जिम्मेवारी दिनुपर्ने भएकाले यो खालको समस्या भइरहने उहाँ बताउनुहुन्छ । एउटै तहको दरबन्दी एउटा कार्यालयमा राख्दा त्यसको मापदण्ड पनि बनाउनु पर्ने उहाँको धारणा छ ।
अझ आफू भन्दा एक–दुई तहको कर्मचारीको अण्डरमा बसेर काम गर्नुपर्ने अवस्था समेत स्वास्थ्य सेवामा रहेको डा. झा बताउनुहुन्छ ।
स्वास्थ्य सेवामा यो नजीरको रुपमा स्थापित हुँदै आएको र कर्मचारीले सहजै स्वीकार गरिरहेकाले यो प्रवृत्तिले निरन्तरता पाएको डा. झाको बुझाइ छ ।
‘त्यो बेथिति स्वीकार गर्दै जाने र गर्नेलाई सजिलो हुँदै जाने अवस्था भएको छ । एउटा मापदण्ड बनाउनु पर्ने नै देखिन्छ’ डा.झा भन्नुहुन्छ।
जुनियरको अण्डरमा काम गर्न आफूलाई अप्ठेरो नलागे पनि सबैमा यो लागू नहुने उहाँ बताउनुहुन्छ । यो प्रवृत्तिले कार्यमा फरक पर्छ। असर नगर्ने भन्ने होइन’ डा.झा भन्नुहुन्छ ‘मलाई अप्ठेरो लाग्दैन भन्दैमा अरुलाई पनि लाग्दैन होला भन्ने हुँदैन ।’
सकेसम्म एउटै तहका कर्मचारी एउटै शाखामा नराख्ने र राखेपनि मापदण्ड बनाएर जिम्मेवारी दिन उहाँको सुझाव छ ।
तपाईँको अभिमत