चार महिनादेखि तलब नपाएको डाक्टरको गुनासो
जुम्ला । कर्णाली प्रदेशको दुर्गम क्षेत्रमा सेवा दिइरहेका एक चिकित्सकले चार महिनादेखि तलब पाउन सक्नुभएको छैन ।
तलब नपाएको भन्दै उहाँले गुनासो गर्न थाल्नुभएको छ ।
छात्रवृत्ति करारअन्तर्गत जुम्लाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर आशिष प्याकुरेलले दुर्गम क्षेत्रमा सेवा दिँदा पनि प्रदेश सरकारबाट तलब नपाउँदा मन खिन्न भएको बताउनुभएको छ ।
डाक्टर प्याकुरेल चार महिनाअघि छात्रवृत्ति करारमा कर्णालीको दुर्गम क्षेत्र जुम्लामा सेवा गर्न आउनुभएको थियो । तर, सेवा सुरु गरेदेखि अहिलेसम्म प्रदेश सरकारबाट तलब नपाएको उहाँले बताउनुभयो ।
मैले पटक–पटक जिल्ला जनस्वास्थ्य कार्यालयमा सोधेर थाकिसकेको छु, प्याकुरेलले भन्नुभयो,‘प्रदेशमा कुरा गर्दा केन्द्रबाट रकम आएको छैन भन्ने जवाफ पाइन्छ।’
उहाँले दुर्गम कर्णालीमा चिकित्सकको अभाव रहेको अवस्थामा यस्तो व्यवहारले भविष्यमा यहाँ काम गर्न आउने डाक्टरहरू निरुत्साहित हुने चिन्ता व्यक्त गरेको आरोप लगाउनुभयो ।
कर्णालीमा काम गर्नु आफैंमा चुनौतीपूर्ण छ। त्यसमाथि छात्रवृत्ति बन्धनमा आएका डाक्टरलाई यस्तो व्यवहार गरियो भने भविष्यमा यहाँ कोही डाक्टर आउन चाहँदैनन्, उहाँले गुनासो गर्नुभयो ।
जुम्लाको चिसो मौसम र दुर्गम अवस्थाबीच सेवा दिइरहँदा आफ्नो मेहनतको पारिश्रमिक नपाउँदा मन खिन्न भएको उहाँको भनाई छ ।
“दुर्गम क्षेत्रमा बसेर सेवा गरिरहेको छु तर तलब नै नआउँदा निकै निराश भएको छु,” उहाँले भन्नुभयो ।
सम्बन्धित निकायले आफ्नो आवाज सुन्ने र समस्या समाधान गरिदिने आशा गरेको उहाँको भनाई छ ।
हेल्थपाटी
तपाईँको अभिमत