नर्सहरुप्रति सरकारले हेर्ने दृष्टिकोण र व्यवहार परिवर्तन भएन

२४ सै घण्टा बिरामीको सेवामा खटिने नर्सहरुप्रति सरकारले हेर्ने दृष्टिकोण र व्यवहार हालसम्म पनि परिवर्तन हुन नसकेकोमा नेपाल नर्सिङ संघले चिन्ता व्यक्त गरेको छ । नेपाल नर्सिङ दिवसको अवसरमा संघले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले स्वास्थ्य मन्त्रालयबाट निर्देशन हुँदाहँदै नर्सहरुको तलब सुविधा अझैसम्म पारदर्शी नगराउनुका साथै कतिपय स्वास्थ्य संस्थामा सेवा सुविधानै उपलब्ध नगराइएको बताएका हुन् ।
कार्यक्रममा उनीहरुले वर्षाैसम्म एउटै तहमा कार्यरत रहँदा पनि बढुवा नहुने परिपाटी र दुर्गममा पर्याप्त दरबन्दी नहुने अनि दुर्गममै जान पर्ने बाध्यकारी नियमले ठुलो नर्सिङ जनशक्तिको स्तरवृद्दि हुन नसकेको बताएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष,पदाधिकारीहरु, नर्सिङ काउन्सिलका प्रतिनिधी,अग्रज नर्सहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघले हालसम्म गरिएका कामका बारेमा महासचिव नर्वदा थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कोषाध्यक्ष कल्पना श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
संघको भवन जिर्ण भएकाले नयाँ भवन निर्माण कार्य, औद्योगिक क्षेत्रमा नर्सको आवश्कता भएकाले औद्योगिक नर्सको पहल गर्ने,संघको सदस्यतामा वृद्दि गर्ने, साइबर सेक्यूरिटी सम्बन्धि अभिमूखिकरण तालिम गर्ने, नर्सहरुको समस्या समाधान अन्य सेवा सुविधा सम्बन्धमा पेश गरिएका मागहरु सम्बन्धित मन्त्रालयमा कार्यान्वयनका लागि पहल गर्ने लगायतका काम गर्ने संघले जनाएको छ ।
विक्रम सम्वत २०१८ सालमा नेपाल नर्सिङ सङ्घको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष माघ १५ गते नर्सिङ दिवस मनाउने गरिन्छ ।
तपाईँको अभिमत