स्वास्थ्यकर्मीको जोखिम भत्ता, बिमा र घरपरिवारको निशुल्क उपचारको आग्रह
काठमाडौं । हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्यकर्मीको मनोबल उच्च, छिटो कोभिड खोपको व्यवस्थापन, संक्रमितको पहिचान, एकीकृत स्वास्थ्य प्रणाली, उचित जनशक्तिको पूर्ति गर्नुपर्ने लगायतको माग गरेको छ ।
कोरोना संक्रमितले बेलैमा अक्सिजन, भेन्टिलेटर र स्वास्थ्य सेवा पाउन नसक्दा ज्यान गुमाउनु परेको उल्लेख गर्दै अग्रंपक्तिमा खटिएर सेवा गर्नुपर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेको हो ।
स्वास्थ्यकर्मीको योग्यता अनुसारको सुविधा, जोखिम भत्ता, कोभिड बिमा र घरपरिवारको निशुल्क उपचारको लागि पनि आग्रह गरेको छ । नेपालमा कोरोना संक्रमण दर र मृत्यु दर विश्वमा नै उच्च भएकाले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गरेको संघले जनाएको छ ।
संघले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन पनि अपिल गरेको छ । संघका अध्यक्ष दाताराम अधिकारीले अक्सिजन, आइसियु, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीको व्यवस्थापनको लागि विज्ञप्ति मार्फत् आफूहरुले सरकारलाई सुझाव दिएको बताउनुभयो ।
छिटो कोभिड खोपको व्यवस्थापन, संक्रमितको पहिचान, एकीकृत स्वास्थ्य प्रणाली, उचित जनशक्तिको पूर्ति गर्न सरकारलाई आग्रह गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
कोरोनाका अन्य लहरहरु आउन नदिन अहिलेदेखि नै तयारी गर्नुपर्ने हेल्थ असिस्टेन्ट संघले सरकारलाई सुझाव दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत