२ हजारमा काेराेना परीक्षण असम्भव : निजी प्रयोगशाला
काठमाडौं । निजी प्रयोगशाला सञ्चालकहरुले २ हजार रुपैयामा आफूहरुले पीसीआर परीक्षण गर्न नसक्ने बताएका छन् । उनीहरुले विज्ञप्ति निकालेर पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सामग्रीको लागतमूल्य २ हजारभन्दा बढी हुन जाने भएकाले आफूहरुले २ हजारमा पीसीआर परीक्षण गर्न नसक्ने स्पष्ट पारेको हो ।
शुल्कका सम्बन्धमा छलफल गर्न काठमाडौं मेडिकल कलेजबाहेकका अन्य निजी अस्पतालका सञ्चालकहरुले कोभिड–१९ निजी प्रयोगशाला कमिटी गठन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूहरुसँग कुनै सल्लाहनै नगरि परीक्षण शुल्क २ हजार तोकेकोमा गम्भीर ध्यानाकर्षण भएको प्रयोगशाला सञ्चालकहरुको भनाइ छ । सरकारले तोकेको २ हजार शुल्कमा कोरोना परीक्षणको ल्याब खर्च नउठ्ने देखिएकाले पुरानो शुल्क ४ हजार ४०० मा कोरोना परीक्षणको व्यवस्था मिलाउन निजी प्रयोगशाला सञ्चालकहरुले आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “विश्वव्यापी रुपमा गोल्ड स्टेण्डर्ड परीक्षण विधिको रुपमा प्रयोग गरिँदै आएको रियल टाइम पीसीआरको परीक्षण विधि, किट, मेसिन, प्राविधिक व्यक्तिहरुको तलब, पीपीई लगायतका अन्य आवश्यक सामग्रीहरुको लागत मूल्य रु. २ हजारभन्दा बढी पर्न आउने भएकाले २ हजारमा गर्नु असम्भव कुरा हो ।”
तपाईँको अभिमत