यसरी मुहार फेर्दैछ टेकु अस्पतालले (भिडियो)
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नेपालमा सबैभन्दा पहिलो कोरोना संक्रमित बिरामीको उपचार सुरु गरेको थियो। पहिलो र दोस्रो लहरको महामारीमा अग्रणी भूमिका खेलेको यो अस्पतालमा अब अन्य सेवा पनि सु्चारु गर्न लागिएको छ।
कोभिड डेडिकेटेट अस्पताल बनाइपछि यसमा कुकुरले टोकेकालाई दिइने सेवा, एचआइभी संक्रमितका लागि सञ्चालन भएका सेवा र विदेश जानेका लागि प्रमाणिकरण गर्ने सेवा मात्रै सञ्चालनमा थियो।
पहिलो लहर केही मथ्थर भएपछि केही समय अन्य रोगका उपचार पनि सुरु गरिएको थियो । फेरि संक्रमण बढ्न थालेपछि गत बैशाखबाट पुनः अन्य रोगका उपचार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताउनुभयो।
अब अस्पतालमा नन कोभिडका बिरामीलाई पनि भर्ना गरी उपचार गर्ने तयारी थालिएको छ । केही ओपीडी सेवाहरु सञ्चालनमा आइसकेका छन् ।
महामारीपछि नन कोभिडको सेवा सञ्चालन गर्दै गर्दा अस्पतालले नयाँ रुप धारण गरिरहेको । अव्यवस्थित र फोहोरी अस्पतालको रुपमा यस अस्पताललाई लिने गरिएको थियो । अब टेकु अस्पतालले त्यो परिचय बदल्न लागेको हो ।
केही थप सेवासहित अस्पतालमा नयाँ ओपीडी खुल्दैछ । त्यसका लागि यसअघि गोदामका रुपमा प्रयोग गरिएको गेटबाट छिर्नेबित्तिकैको भवनमा नयाँ र राम्रा ओपीडी कक्षहरु तयारी भइरहेको छ ।
कुनामा रहेको फार्मेसीलाई गेटनजिकै अगाडि सारिएको छ ।
अस्पतालको रङरोगन र सरसफाइ गर्ने काम तीब्र रुपमा अघि बढिरहेको छ । अस्पताल परिसरमा थुपारिएका बिग्रिएका सरसामान र फोहोरहरु हटाइएको छ ।
डा. अनुप बास्तोला अस्पतालको निर्देशकमा नियुक्त भएपछि अस्पताल सुधारका लागि लागिपर्नुभएको छ । कोभिड माहाकारीको पहिलो र दोस्रो लहरमा अग्रपंत्तिमा खटिने अब्बल डाक्टरको रुपमा बास्तोलाले चर्चा कमाउनु भएको थियो।
डा.बास्तोला अस्पतालको निर्देशक नियुक्त हुनुभएको तीन महिना पुगेको छ । आफ्नो कार्यकालमा अस्पतालको मुहार फेर्ने योजनाका साथ डा.बास्तोला जुटिरहुनुभएको छ।
टेकु अस्पताल पुग्दा उहाँलाई निर्देशकको कार्यकक्षमा हतपत्त भेटिँदैन । अस्पतालमा भइरहेका निर्माणका काम, सरसफाइ भइरहेका स्थानमा उहाँलाई भेटिन्छ ।
बिहीबार दिउँसो ओपीडी वार्डमा भेटिनुभएका डा. बास्तोला भन्नुहुन्छ–‘काम गरिरहनु पर्ने मान्छे, कुर्सीमा बसिरहनै मन लाग्दैन ।' स्रोत साधन र आफ्नो क्षमताले भ्याएसम्म अस्पताल राम्रो बनाउन लागिपरेको डा. बास्तोला बताउनुहुन्छ।
‘कसैले नगरेको वा गर्न नसक्ने काम मैले गर्ने होइन आफूले पाएको जिम्मेवारी अनुसार सक्नेजति काम गरौँ भनेर लागेको हो’ डा.बास्तोलाले प्रस्ट्याउनुभयो ।
अहिले काम भइरहेकाले अस्पतालमा सुधारको महसुस हुनेगरी काम देखिन अझै समय लाग्ने उहाँ बताउनुहुन्छ ।
केदार गौतम
तपाईँको अभिमत