वुमेन इन मेडिसिनबाट १० जना चिकित्सक सम्मानित
नेपालको स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका १० जना चिकित्सक वुमेन इन मेडिसिनबाट सम्मानित हुनुभएको छ । नेपाल चिकित्सक संघको आयोजनमा राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले ५ जना वरिष्ठ चिकित्सक सहित १० जनालाई सम्मान गर्नुभएको हो ।
२० वर्ष अनवरत सेवामा लागेको, स्वास्थ्यमा नेतृत्वदायी भूमिका खेलेका, दुर्गममा काम गरेको, प्रतिष्ठित छबि बनाएको, स्वास्थ्य शिक्षा सचेतना अभियानमा सहभागी भएको, स्वास्थ्य क्षेत्र एवं उपचारमा सम्बन्धित विषयमा खोज तथा अनुसन्धान कार्यमा सहभागी भएको, राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनमा सहभागी भएका महिला चिकित्सकलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा वरिष्ठ तर्र्फ स्त्रीरोग विशेषज्ञ डा. अर्चना अमात्य, प्याथोलोजी क्षेत्रमा नेतृत्व लिनुभएकी डा. गीता शाक्य, क्यान्सर स्क्रिनिङबारे जनचेतना फैलाउनुभएकी डा.मिता सिंह, महिला स्वास्थ्यमा जनचेतना अभियानमा लाग्नु भएकी जनस्वास्थ्यविद् डा. कोकिला वैद्य र विभिन्न तालिम एवं सेमिनारमा सहभागी भई खोज एवं अनुसन्धानमा लाग्नुभएकी स्त्रीरोग विशेषज्ञ डा. प्रमिला प्रधान रहनु भएको छ ।
यस्तै वुमेन इन मेडिसिन अन्तर्गत लाइफटाइम अचिभमेन्टतर्फ स्त्रीरोग विशेषज्ञ डा. दिव्श्वरी श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा.लता बज्राचार्य, एनेस्थेसियोलोजिष्ट डा. शोभा अरज््याल, स्त्रीरोग विशेषज्ञ कस्तुरी मल्ल र गीता कार्की राना रहनु भएको छ ।
कार्यक्रममा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अध्ययन, आफ्नो पेसामा क्रान्ति नै क्रान्ति गरेर स्वास्थ्य क्षेत्रमा उल्लेखीय भूमिका खेलेको भन्दै महिला डाक्टरहरुको प्रशंसा गर्दै बधाइ दिनुभयो । उहाँले यस्ता सम्मानले भावी दिनहरुमा डाक्टरहरुलाई स्वास्थ्य सेवा प्रवाहमा थप उर्जा मिल्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा संघका अध्यक्ष डा.अनिलबिक्रम कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्यमा सेवा उल्लेखनीय योगदान पुर्याउनुभएका महिला डाक्टरहरुलाई सम्मानित गर्न पाउनु संघको लागिनै गर्वको विषय रहेको बताउनुभयो । २००७ फागुन २० गते स्थापित संघले ३ वर्षदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका महिला डाक्टरहरुलाई सम्मान गर्दै आएको छ ।
सम्मानित गर्ने डाक्टर छनौटका लागि संघकी पूर्व कोषाध्यक्ष एवं स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा. किरण रेग्मीको संयोजकत्वमा ९ सदस्यिय छनौट समिति गठन गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत