चिकित्सा शिक्षा प्रवेश परीक्षा : विद्यार्थीको सानो गल्ती, सजाय ठूलो
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षा भर्खरै लिएको छ । चैत १८ गतेदेखि २१ गतेसम्म लिएको परीक्षा मध्ये १८ गते परीक्षा भएका कार्यक्रमको नतिजा पनि आइसकेको छ । आयोगले एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ, बीएएसएलपी र बी. पर्फ्यूजन टेक्नोलोजीको नतिजा बुधबार बिहान प्रकाशन गरेको हो।
यस प्रवेश परीक्षा दिँदा प्रश्न पत्रमा सानो त्रुटि गरेकै निहुँमा थुप्रै विद्यार्थीहरूको नतिजा आयोगले रद्द गरेको छ। डाक्टर, नर्स बन्ने सपना बुनेर कडा मेहनत गरी प्रवेश परीक्षा दिएका विद्यार्थीहरू सानो त्रुटिका कारण अहिले रुन न हास्नुको अवस्थामा पुगेका छन् ।
प्रवेश परीक्षामा राम्रो अंकसहित अघिल्लो श्रेणीमा नाम आउँछ भन्ने आशामा रहेका विद्यार्थीहरू बुधबार बिहान पछिल्ला क्रममा समेत आफ्नो नाम नभेटेपछि अन्योलमा परे । उनीहरू अहिले रोक कराइ गर्दै विभिन्न निकाय धाइरहेका छन् ।
परीक्षामा दिइने उत्तर पुस्तिकाको माथि रोल नम्बर र प्रश्न सेट लेख्ने कोठा छुट्याइएको हुन्छ । रोल नम्बरको मुनि १ देखि ९ सम्मका अंक दिएर रोल नम्बर अनुसारका अंकमा गोलो लगाउनु पर्नेहुन्छ । प्रश्न सेट लेखिसकेपछि मुनि चार वटा प्रश्न सेटलाई जनाउने अंग्रेजी अक्षर ए, बी, सी, डी लेखिएको हुन्छ । माथि सेट लेखेपछि त्यही अनुसार तल गोलो पनि लगाउनु पर्नेहुन्छ ।
चिकित्सा शिक्षा आयोगले दिएको जानकारी अनुसार कतिपय विद्यार्थीले माथि रोल नम्बर लेखेर तल गोलो लगाउन बिर्सेका छन् । कतिपयले माथि प्रश्न सेट लेखेर पनि तल गोलो लगाउन बिर्सिएका छन् । ती विद्यार्थीको नतिजा रद्द गरिएको छ ।
माथि रोल नम्बर र प्रश्न सेट लेखेको अवस्थामा तल गोलो नलगाएकै कारण परीक्षाफल रद्द गर्दा आफूहरू धेरै अन्यायमा परेको विद्यार्थीहरूको गुनासो छ । भविष्य ववार्द भएको र ठूलो मानसिक तनावमा रहेको विद्यार्थीहरू बताउँछन् ।
मानसिक तनाव, केही हुन्छ कि भन्ने आस
महोत्तरीका राजाराम साहलाई मेडिकल क्षेत्रमा लागेर नयाँ-नयाँ रिसर्च गर्ने ठूलो धोको छ । उहाँले यसपालीको प्रवेश परीक्षामा छात्रवृत्तिमै एमबीबीएस पढ्न पाउने गरी नाम निस्किन्छ भन्ने सोच्नुभएको थियो। २०० पूर्णाकंको परीक्षामा १५० माथि नम्बर आउने आशा राजारामलाई थियो ।
परीक्षामा कुनै गल्ती गरेजस्तो लाग्दैन । नतिजामा ५१.७५ नम्बर ल्याउनेसम्म लाई पास गरिएको छ । त्यति लामो सूचीमा राजारामको नाम कतै भेटिएन। उहाँले दोस्रो पटक प्रवेश परीक्षा दिनुभएको हो । अघिल्लो परीक्षामा पैसा तिरेर पढ्नेमा नाम निस्किएको थियो।
‘मेरो होप त राम्रै थियो, हुनसक्छ अलि कम नम्बर पनि आयो होला, नाम नै ननिस्कने गरी परीक्षा बिग्रेको थिएन’ राजाराम भन्नुहुन्छ ।
छोराछोरीलाई पढाउनकै लागि भनेर बुबा साउदी अरबमा मेहनत गरिरहनुभएको छ । दाजु बंगलादेशमा एमबीबीएस पढ्नुहुन्छ । सकेसम्म छात्रवृत्तिमै नाम निकालेर पढ्ने चाहना थियो राजारामको ।
नतिजाको सूचीमा नाम नदेखिएपछि ठूलो मानसिक तनाव झेल्नु परेको राजाराम सुनाउनुहुन्छ ।
विराटनगरका आयुष गौतम प्रवेश परीक्षाको नतिजा आएको दिनदेखि न राम्रोसँग सुत्न सक्नुभएको छ, न खाना खान । एमबीबीएसमै छात्रवृत्तिमा नाम निस्किएला भन्ने लागेको थियो तर सूचीमा कतै नाम छैन । आयुषको परीक्षामा एउटा सामान्य गल्ती भएको थियो । माथि रोल्नम्बर लेखेर तल बबल्समा गोलो लगाउँदा एउटा अंकमा थोरै केरमेट भएजस्तो भएको थियो ।
उहाँले यसबारे परीक्षा केन्द्रको निरीक्षकलाई पनि सोध्नुभयो । यतिले केही फरक पर्दैन भनेपछि ढुक्क हुनुभएको थियो । परीक्षा राम्रो भएको थियो । अहिले जतिजा आएन। ‘छात्रवृत्तिमै नाम निकिस्नथ्यो भन्ने थियो’ आयुष भन्नुहुन्छ, ‘धेरै बिग्रेको भएपनि पेइङमा एमबीबीएस र बीडीएस(दन्त चिकित्सा)मा त पक्कै नाम निस्किन्थ्यो।’
नतिजामा नाम नदेखिनेवित्तिकै कुनै उपाय लागिहाल्छ कि भनेर आयुष विराटनगरबाट काठमाडौं आउनुभयो । हारगुहार गर्दै भौतारिरहनुभएको छ ।
कञ्चनपुरकी ललिता पन्त १८ गतेको परीक्षा दिन १७ गते प्लेनबाट काठमाडौं आउनुभयो । परीक्षा दिइसक्नेवित्तिकै १८ गते नै घर फर्किनुभएको थियो । प्रतीक्षा थियो नतिजाको । परीक्षा राम्रै भएको थियो । आशा त छात्तवृत्तिमै एमबीबीएस पढ्न पाइन्छ कि भन्ने थियो । त्यति नभए पनि बीडीएस वा बीएसी नर्सिङमा छात्रवृत्तिमा नाम निस्कनेमा उहाँ ढुक्क हुनुहुन्थ्यो ।
अघिपछि रिजल्ट आउन समय लाग्थ्यो । चैत्र २३ गते बिहानै रिजल्ट आइसक्यो भन्दै साथीहरूको फोन आयो । हतार–हतार चिकित्सा शिक्षा आयोगको वेबसाइट खोलेर नाम, रोल्नम्बरबाट सर्च गर्नुभयो । नाम छैन । ‘कम्तिमा पनि १३० नम्बर आउने होप थियो, तर ५१ नम्बर आउनेमा पनि नाम छैन’ ललिता भन्नुहुन्छ ।
ललितालाई नसोचेको तनाव भयो । त्यसपछि तुरुन्तै काठमाडौं आउनुभयो । यहाँ आउँदा यस्तो समस्या भएका अरु पनि साथीहरू भेटेपछि कुनै प्रयास लाग्छ कि भनेर दौडधूप गरिरहनुभएको छ ।
ललितालाई परीक्षामा कुनै गल्ती गरेको त याद छैन । तर अरुको पनि यस्तै सस्मस्या भएकाले रोल्नम्बर मुनिको अंकमा गोलो लगाउन बिर्सेँ कि जस्तो लागेको छ ।
ललिताका बुबा साउदी अबरमा हुनुहुन्छ । विदेशमा दुखः गरेर छोरीलाई डाक्टर, नर्स पढाउन कस्सिनु भएका बुबाको भरोसा टुटेकोमा ललितलाई झन बढी तनाव छ । ‘निकै मेहनत गरेकी थिएँ, परीक्षा राम्रो पनि भएको थियो । नामै आएन के– गर्ने के केही सोच्न सकेको छैन’ ललिता पीडा पोख्नुहुन्छ ।
सप्तरीका रमेश शर्माले यो सहित ४ वर्ष प्रवेश परीक्षा दिइसक्नुभयो। पैसा तिरेर पढ्नेमा यसअघि नै नाम निस्किएको थियो । २०१९ मा त बराबर नम्बर आएका अर्का परीक्षार्थीले छात्रवृत्तिमा पढने अवसर पाए । रमेशले पाउनु भएन ।
छात्रवृत्तिमै नाम निकालेर पढ्ने अठोटका साथ लाग्नुभएका उहाँको यसपाली परीक्षा राम्रो भएको थियो । अब त पक्कै नाम निस्किएला भन्ने थियो । नभए बीडीएस भए पनि पढ्ने । नत्र जग्गा बेचेर भएपनि एमबीबीएस नै पढ्ने भनेर बुबासँग सल्लाह भएको थियो । नामै निस्किएन । उहाँले बुबालाई नतिजा आएको कुरा भन्नै सक्नुभएको छैन ।
नतिजामा नाम नआएपछि उहाँ अरु नै काम छ भन्दै बुबालाई ढाँटेर काठमाडौं आउनुभएको छ । ‘बुबालाई भन्न सकेको छैन, भाइलाई मात्रै भनेको छु’ रमेश सुनाउनुहुन्छ, ‘कुनै उपाय लगाएर नाम निस्कन्छ कि भनेर आएको।’ प्रश्न पत्रको सेट लेखेर बबल्समा गोलो लगाउन बिर्सिएको होकि । रोलनम्बरको बबल्स गोलो लगाउँदा केही गल्ती भयो । यस्तै अनुमान छ रमेशको ।
गल्ती सानो, सजाय ठूलो
आफूहरूको सानो गल्तीमा भविष्यमै असर पर्नेगरी ठूलो सजाय दिएको विद्यार्थीहरूको गुनासो छ । परीक्षा दिनेबेला दवाव, तनावमा हुने भएकाले सानोतिनो गल्तीलाई सच्याउने मौका दिनुपर्ने उहाँहरूको भनाइ छ । ‘हामीले नम्बर नै थपिदिनु भनेको त हैन नी माथि त रोलनम्बर लेखेकै हुन्छ, क्वेश्चन सेट लेखेकै हुन्छ, त्यति सानो गल्तीमा रिजल्ट नै नआउँदा हामीमाथि अन्याय भयो’ विद्यार्थीको गुनासो छ ।
चिकित्सा शिक्षा आयोगमा गएर बुझ्न खोज्दा कसैले आफ्नो कुरै नसुनेको विद्यार्थीहरू बताउँछन् । नतिजा निकाल्न असाध्यै हतार गरेकाले आयोगकै त्रुटि भएर पनि आफूहरूको नतिजा नआएको हुनसक्ने आरोप विद्यार्थीहरू लगाउँछन् । ‘कसैकसैले त गल्ती गर्यो होला, कतिको त आयोगकै गल्तीले पनि नआएको हुनसक्छ नि’, विद्यार्थीहरू भन्छन् ।
आफ्नो उत्तर पुस्तिका हेर्न पाउनु पर्ने माग विद्यार्थीहरूको छ ।
केही गर्न सकिँदैन : आयोग
रोलनम्बर वा प्रश्न पत्रको सेट नलेखेका कारण कारण केही विद्यार्थीको नतिजा रद्द भएको चिकित्सा शिक्षा आयोगले स्वीकार गरेको छ । विद्यार्थीको गुनासोमाथि यसमा कुनै सुनुवाइ गर्न नसकिने चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव डा. भोजराज काफ्ले बताउनुहुन्छ । विद्यार्थीहरूको गुनासो आएपछि केही गर्न सकिन्छ कि भनेर प्रयास गरेको तर सकिने अवस्था नरहेको डा. काफ्लेले जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयका सचिव समेतले यसमा चासो दिएपछि, विभिन्न व्यक्ति, निकायसँग परामर्श गरेको उहाँले बताउनुभयो ।
२५–३० जना विद्यार्थीले निवेदन दिन आएको र पछि अरु विद्यार्थी पनि आएकाले केही हुन्छ कि भनेर लागि पर्दा नमिल्ने देखिएको डा. काफ्लेको भनाइ छ ।
‘यसमा हामी पनि केही पोजेटिभ भएको हो । अकस्मात कार्यकारीको बैठक पनि राखिएको थियो। कानुनी परामर्श लिँदा गर्नै नमिल्ने भन्ने आयो’ डा. काफ्ले भन्नुहुन्छ ।
कानुनअनुसार त्यो गर्नै मिल्दैन भन्ने आएपछि आयोग यसबाट पछि हटेको उहाँको भनाइ छ । ‘लोकसेवाले पनि गर्दैन तपाईहरू फस्नुहुन्छ भन्नुभयो’ उहाँ सुनाउनुहुन्छ, ‘आज रोलनम्बर सच्याएपछि भोलि उत्तर पनि किन नसच्याउने भन्ने आउला यतातिर लाग्दै नलाग्नू भन्ने आयो’
विद्यार्थीले गरेको गल्ती सानो भएपनि त्यो गल्ती नगर्न पटक–पटक सचेत गराइने गरेको डा.काफ्ले बताउनुहुन्छ।
प्रवेश पत्रको पछाडि र सूचना निकालेर पनि त्यसबारे सचेत गराउने भएपनि परीक्षा सुरु हुनुअघि निरीक्षकलाई पनि सचेत गराउन भनिएको उहाँको भनाइ छ।
यति हुँदैहुँदै पनि विद्यार्थी हो गल्ती हुन्छ, केही मिल्छ कि भनेर प्रयास गरेको तर कुनै उपाय ननिस्कएपछि यो विषय क्लोज गरिएको डा.काफ्लेले बताउनुभयो ।
रोलनम्बर लेख्न छुटाएको उत्तरपुस्तिका मेसिनले रिड नगर्ने र आयोगले अर्काे तरिका अपनाउन नमिल्ने भएकाले पनि यसमा केही गर्न नसकिने उहाँको जिकिर छ ।
यसबारे मन्त्रालयका सचिवसँग पनि लामो कुराकानी भएको डा.काफ्लेले जानकारी दिनुभयो । ‘दुई जना विद्यार्थी त मसँग आएर धरधरी रोए नियम भन्दाबाहिर हामीले गर्न मिल्दैन’ काफ्लेले सुनाउनुभयो, अब यसमा केही गर्न सकिँदैन, अर्काे पटक दिने मात्रै हो।’
मुद्दा हाल्छौँ : विद्यार्थी
आफूहरू न्यायका लागि अदालत जाने तयारी गरको विद्यार्थीहरू बताउँछन् । चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधिमा भनिए अनुसार रोलनम्बर ठिक भए नभएको हेर्ने जिम्मा परीक्षा निरीक्षकको पनि भएको विद्यार्थीहरू बताउँछन् ।
उक्त कार्यविधिको दफा १५, उपदफा ६ मा निरीक्षकको काम कर्तव्य अधिकारबारे व्यवस्था गरिएको छ । उपदफा ६ को (न) नम्बरमा
परीक्षार्थीको विवरण हाजिरी र उत्तरपुस्तिका दुवैमा गल्ती भएमा रजु गरी सच्याउन लगाउने काम निरीक्षकले गर्नुपर्ने भनिएको छ।

निरीक्षकले कुनै रुजु नगरेको आरोप विद्यार्थीहरूको छ । ‘मुख्य गल्ती त हाम्रो हो । तर परीक्षा निरीक्षकले सचेत गराउनुपर्छ भनेर कार्यविधिमै लेखिएको छ नि । केही हेर्नुभएन’ विद्यार्थीहरू भन्छन् ।
सानो गल्तीमा आफूहरूको भविष्य बिगार्ने काम भएकाले आयोगविरुद्ध मुद्दा हाल्न तयारी गरिरहेको विद्यार्थीहरू बताउँछन् ।
केदार गौतम
तपाईँको अभिमत